- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिका २ का २० वर्षीया गीता रोकाया थ्रोम्मो साईटो पेनिया रोगले थलिएर बुधबार जिल्ला अस्पतालमा आईपुगिन् । अस्पताल आइपुगेकी गीतालाई डाक्टर टिकाराम राईले चेकजाँच गरे, उनको शरीरमा रगतको मात्रा एकदम कम देखियो । रगत आवश्यक परेको कुरा आफन्तलाई खबर गरियो र खोज्न आग्रह गरियो ।
तर, रगत दिने मान्छे नपाएपछि डा. राईले आफैंले रगत दिएर बिरामीलाई बचाए । विरामीको दिसा, पिसाव बगिरहेको छ भने नाक र मुखबाट रगत बगिरहेको छ । बिरामीको शरीरमा आवश्यकभन्दा एकदमै कम रगत छ । एक प्वाइन्ट रगत डाक्टर राईले दिए । तर गीतालाई अझै रगतको आवश्यकता छ ।
बाजुरामा रगत दिन कोहिपनि मान्दैनन् । रगत नभएर होइन, ज्ञानको कमीले गर्दा कसैले पनि रगत दिन नमान्ने गरेका डाक्टर राई बताउँछन् । डाक्टरका अनुसार गीताको शरीरमा ३५ हजार पेलेटिलेट मात्र छ । मानव शरीरलाई कम्तिमा एक लाखदेखि चार लाखसम्म आवश्यक हुन्छ । रोकायाको शरीरभरी फोकैफोका निस्केको छ ।
बाजुरामा यो रोगको उपचारको लागि उपकरण छैन । डाक्टरले रगत दिएर बिरामी बचाएको यो पहिलो घटना होइन । बिगतमा पनि बाजुरामा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी र डाक्टरहरुले रगत दिएर बिरामीलाई बचाँएका उदाहरण छन् । रक्तदान गर्नुपर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्तले समेत रगत दिन नमान्ने गरेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रुपचन्द्र विकले बताए । “कतै खोज्दा रगत पाइदैन,अनि स्वास्थ्यकर्मीले दिएर बचाउने गरेका छौ” विकले भने । एकवर्ष यतामात्रै २० भन्दा बढी स्वास्थ्यकर्मीले बिरामीलाई रगत दिएका जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।