arrow

रेणु र पार्वतीलाई यस्तो छ भरतपुरबासीको सुझाव

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
renu_and_parbati_shaha.png

चितवन । लामो अन्यौलपछि जनप्रतिनिधि छानिएको चितवनको भरतपुर महानगरपालिकालाई समृद्ध पार्न स्थानीयले निर्वाचित जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

बीस वर्षपछि महत्वपूर्ण अवसर आएको भन्दै उनीहरुले यो अवसरलाई उपयोग गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई सुझाएका छन् । भरतपुर महानगरपालिका वडा नं १९ की तारा गुरुङ एक जना व्यक्तिको सकारात्मक भूमिकाले पनि समाज विकासमा उल्लेखनीय काम हुनसक्ने भन्दै अहिले समूह नै लाग्ने हो भने असम्भव केही नरहेको बताए ।

चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन भएको दुई महिना २० दिनपछि प्रमुख उपप्रमुखसहित जनप्रतिनिधि चयन भएका छन् । वैशाख ३१ मा भएको निर्वाचनको जेठ १४ गते मतगणनाका क्रममा मतपत्र च्यातिँदा लामो समय जनप्रतिनिधि निर्वाचित भएर पनि काम गर्न पाएनन् । प्रमुख उपप्रमुख चयनसमेत रोकिएको थियो ।

साउन २१ गते जनप्रतिनिधिले पूर्णता पाएसँगै स्थानीयले विकासको मूल फुट्ने स्थानीयको आशा छ । उद्योग वाणिज्य संघका जिल्लाअध्यक्ष राजन गौतम २० वर्षपछिको यो समयलाई अवसरका रुपमा लिएर समृद्ध महानगर बनाउन लाग्नुपर्ने बताउँछन् । चुनावी नारा र घोषणापत्रलाई सहीरुपमा कार्यान्वयन गर्नुपर्ने भन्दै वस्तुगत विष्लेषण गरेर विकासमा लाग्न उनको सुझाव छ ।

“दुई घण्टा पानी परे सडक र खोला छुट्याउन नसक्ने हाम्रो महानगर छ”– गौतमले थपे, “उद्योग, सडक, जमिनको संरक्षण तथा पर्यटन पूर्वाधार र विकासलाई प्राथमिकतामा पार्नुपर्छ ।”

चितवन नेपालकै मध्यबिन्दु हो । पूर्वदेखि पश्चिमका मानिसको बसोबास चितवनमा छ । बसाइँ सरेर विभिन्न जिल्लाका मानिस चितवन आउँछन् । यति राम्रो क्षेत्र हुँदाहुँदै यहाँ जमिनको सही उपयोग हुन सकेको छैन, जलस्रोत, उद्योगको विकास, सम्भावना बोकेको पर्यटन क्षेत्रमा पूर्वाधारको अभाव छ । प्लटिङले जमिन खण्डीकरण भइरहेको छ ।

यस्ता विषयमा महानगर र नगर प्रमुखले विशेष ध्यान दिनुपर्ने गौतम बताउनुहुन्छ । चितवनमा दुई वटा मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर जिल्ला अस्पताल छन् । दुई दर्जन बढी अन्य निजी अस्पताल छन् । नारायणी राप्ती र नारायणी नदी छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमै छ । नेपालकै संरक्षित क्षेत्रमा सबैभन्दा बढी पर्यटक आउने विश्व चर्चित चितवन राष्ट्रिय निकुञ्ज छ । स्रोतसाधनले खानी भएको क्षेत्र चितवन हो, सहीरुपमा सदुपयोग भयो भने, साँच्चै समृद्ध पार्न सकिन्छ तर योजनाविहीन विकास हुनु मुख्य समस्या भएको पर्यटन विज्ञ विश्व सुवेदी बताउँछन् ।

विज्ञबीच छलफल गरेर योजनाबद्धरुपमा विकासका खाका ल्याउनसके आर्थिक स्रोतको पनि चितवनमा कुनै अभाव नभएकाले भरतपुर महानगरले समग्र चितवनकै प्रतिनिधित्व गरेर काम गर्नुपर्ने उनले बताएका छन् ।

चितवनमा एउटा गुरुयोजना निर्माण भएको छ । त्यसलाई आधार मानेर मात्रै विकासका खाका ल्याउनसके पनि उपलब्धि हुने विज्ञ सुवेदी बताउँछन् ।

भरतपुर पूर्वाधार बिनानै महानगर भएको छ । एउटा रंगशालासमेत छैन, मुख्य सडक साँघुरा छन् । मुख्य व्यापारिक केन्द्र नारायणगढ बजारकै सडक अव्यवस्थित छ । घना बस्तीमा उद्योग छ । आचारसंहिताअनुसारका भवन छैनन् । राजमार्गको स्तरोन्नति हुन सकेको छैन ।

त्यसतर्फ महानगर प्रमुख उपप्रमुखको ध्यान जानुपर्ने व्यवसायीहरुको धारणा छ । रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुराल देश विकासको आधार नै आर्थिक विकास भएकाले लगानीमैत्री वातावरणको खाँचो रहेको औँल्याउछन् ।

अब स्थानीय तहलाई धेरै अधिकार दिएको र सरकारबाट पनि राम्रै बजेट आउने भएकाले आफ्नो ठाउँ आफैँ बनाऔँ भनेजस्तो गरी काम गर्न नगरप्रमुखलाई उहाँको सुझाव छ ।

“भरतपुर महानगर प्रमुख रेणु दाहाल विकासका दृष्टिले चितवन जिल्ला प्रचुर सम्भावना रहेको क्षेत्र हो”– भन्नुहुन्छ । देशकै एउटा वैकल्पिक राजधानी बनाउने हैसियत भरतपुर महानगरको रहेको उनले बताए ।

उनले चुनावी नारा पनि देशकै एउटा समृद्ध, सुन्दर, शान्त, हराभरा, आधुनिक र व्यवस्थित शहर बनाएर लैजाने भन्ने राखेका थिए । जीतपछि पनि उनले ती एजेण्डालाई दोहोर्‍याउँदै समृद्ध महानगर बनाउने प्रतिबद्धता जनाएकी छन् ।

चितवन जिल्लामा सात स्थानीय तह छ । एउटा महानगर तथा इच्छाकामना गाउँपालिका र रत्ननगर, खैरहनी, राप्ती, कालिका र माडी गरी पाँच नगरपालिका छ । महत्वपूर्ण विषयमा भने सबै स्थानीय तहले एकीकृतरुपमा कार्यक्रम गर्नसके प्रभावकारी हुने स्थानीय बताउँछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ