arrow

अंग्रेज सेनालाई हराएको खुशियालीमा तानसेनमा निकालियो रथयात्रा   

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ साउन ३१ मंगलबार
tansen_rath.JPG

पाल्पा । युद्धमा विजय हासिल भएपछि त्यसैको सम्झना स्वरुप जिल्ला सदरमुकाम तानसेनमा सिन्दुर जात्रा गरी रणउजीश्वरी भगवती माईको रथयात्रा निकालिएको छ । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाईदै आएको पाईन्छ । 

यो जात्रालाई काठमाडौँ पछिको दोसा्रे ठूलो जात्राको रुपमा लिने गरिन्छ । गोरख दलले भगवतीको रथलाई दिउँसो एक बजे सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको थियो । रथलाई जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयले बली चढाएपछि तानसेनको परिक्रममा गराइएको थियो । रथलाई कुमाल समुदायका युवाहरुले काँधमा बोकी नगर परिक्रमा गराएका थिए । जात्राको अघिल्लो दिन अर्थात् कृष्णजन्माष्टमीका दिनदेखि नै एसियाको ठूलो ढोका मानिने मुल गेट खुला गरिएको थियो । 

पञ्चेबाजा, लाखेनाच, भजनकिर्तन सहितको सांस्कृतिक झाँकीले रथ यात्रालाई नगर परिक्रमा गराइएको थियो । जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पु¥याई बिसर्जन गरिएको थियो ।   रथलाई मध्यरातमा पञ्चवलीसहित सलामी अर्पण गरि विधिवत् रुपमा  पूजा आरधाना गरिएको थियो । रथ यात्रामा सैनिक जवान, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार,  निजामती कर्मचारी , विद्यार्थी लगायत सर्बसाधारणहरुको उपस्थित रहेको थियो । जात्रा अवलोकनका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही लगायतका जिल्लाहरुबाट श्रद्धालु जिल्ला आएका थिए । रथयात्रा अवलोकन गर्न  जिल्लाका उच्च ओहोदामा रहेर सेवा गरिरहेका विशिष्ट व्यक्तित्वहरु समेत गृह जिल्ला जात्रा अवलोकनका लागि आएका थिए । 

१ सय ९९ औँ सस्करणको रुपमा भगवती जात्रा मनाईएको छ । यस वर्षको जात्रामा करिब २५ हजार भक्तजनहरुले प्रत्यक्ष अवलोकन गरेका छन् ।  ऐतिहासिक महत्व बोकेको जात्रालाई राष्ट्रिय पर्वको रुपमा लिनु पर्ने भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले बताउनुभयो । सरकारले सहयोग गरे धार्मिक ,पर्यटन प्रर्वद्धन गर्न जात्राको महत्वपूर्ण भूमिका रहने अध्यक्ष उदयको भनाई रहेको छ । नेपालको राष्ट्रियता , स्वाभिमान र राष्ट्रिय गौरवलाई बचाउने पुर्खाको विषयमा खोजी गर्नुपर्ने र भगवती जात्रा विचको राष्ट्रियता खोज्नुपर्ने इतिहासकार निर्मल श्रेष्ठको भनाई रहेको छ । 

सरकारले पनि यसको हेक्का राखि भगवती जात्रालाई आञ्चालिक नभई राष्ट्रिय पर्वको रुपमा सम्बोधन गर्नु आवश्क रहेको इतिहासकार श्रेष्ठले बताए । अंग्रेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजयी गरेको इतिहास रहेको छ । आफ्नो साम्राज्यमा कही कतै सूर्य नअस्ताउने भूभाग कोमेको अनि आफुलाई अब्बल दर्जाको रुपमा ठान्ने अंग्रेज साम्राज्यलाई पटकपटक पाल्पा क्षेत्रको बुटवल जितगढीबाट खेदेर परास्त गरेको सम्झनामा भगवती जात्रा मनाईने गरेको पाईन्छ । 

कृष्णजन्माष्टमीको अघिल्लो रात स्थानीय सेना प्रमुखले कर्णेल उजीरसिंह थापाको तरबार हातमा लिई रथ परिक्रममा राखिने भगवतीको मूर्तिलाई खटमा राखि भोलिपल्ट शुभसाइतमा सेनाको गारदले बढाँइका साथ सलामी अर्पण गर्दै श्री ७ रणउजीरेश्वरी भगवती माईको रथयात्रा सुरु गर्ने गरिन्छ । यसै क्रममा काजी वीर भञ्जन पाण्डेको सुझबुझ, कर्णेल उजीरसिंह थापाको दलमुखी आँट एवं रणकौशल र भगीरथ जैसीको सहकार्य हरेक नेपालीको मनको अन्तरकुन्तरमा उर्लेर आएको राष्ट्रिय भावना जयजयकारको स्वरले गुञ्जायमान हुने गर्दछ । 

कर्णेल उजीरसिंह थापाको नेतृत्वमा नेपालले १८७१ पुष देखि १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा विजय हासिल गरेको थियो । यहि सम्झनामा १८७६  देखि निरन्तर रुपमा प्रत्येक वर्ष जिल्लामा विजयोत्सव मनाउने प्रचलन रहदै आएको छ । कर्णेल उजीरसिंह थापाले युद्धमा विजयी भएमा प्रस्तरको सोह्र बाहु भएको महिषाशुर मर्दिनी भगवती सामु सिन्दुर जात्रा गर्ने भाकल गरेका थिए । दुई पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजीरसिंह थापाले मन्दिर निर्माण गरि भगवती जात्रा मनाउन थालिएको इतिहास रहेको छ  ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ