arrow

बाढीको बबण्डर: कृषिमा मात्रै तीन अर्बको क्षति, कहाँ कति ?

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
flood-tarai1.JPG

काठमाडौं । तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बाढीका कारण २ अर्ब ८६ करोड ४० लाख रुपैयाँबराबरको कृषिबाली नष्ट भएको छ । 

सबैभन्दा बढी धान बाली डुबानमा परेका कारण उत्पादनमा ह्रास आई नोक्सानी भएको मन्त्रालयले जनाएको छ ।

पूर्वाञ्चल

पूर्वाञ्चलमा ६५ करोड ५० लाख रुपैयाँबराबरको कृषि उपज नष्ट भएको छ । झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहामा लगाइएको तरकारी, सञ्चित खाद्यान्न, माछा र थोरै मात्रामा धानबाली नष्ट भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

मध्यमाञ्चल

मध्यमाञ्चलमा बाढीका कारण १ अर्ब ९५ करोड ७९ लाख ५० हजार रुपैयाँबराबरको कृषिबाली नोक्सान भएको छ । त्यस क्षेत्रमा २ लाख ३ हजार ३ सय ९४ हेक्टर खेतीयोग्य जमिनमा लगाइएको धान, तरकारी, माछा, मकै, बेसार, तरुल, रहर, मास, केरा, मकैको बिउ नष्ट भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

बाढीले पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, चितवन, रसुवा, रामेछाप र ललितपुरको कृषिबालीमा ठूलो क्षति गरेको छ ।

पश्चिमाञ्चल

पश्चिमाञ्चलमा ५७ लाख रुपैयाँ मूल्यको कृषिबाली नष्ट भएको छ । म्याग्दी, रुपन्देही, कास्की, बाग्लुङ, गुल्मी र नवलपरासीमा लगाइएको धान, मकै, सुन्तलामा बाढीले नोक्सान गरेको छ ।

मध्यपश्चिमाञ्चल

मध्यपश्चिमाञ्चलमा १५ करोड ४० लाख रुपैयाँबराबरको कृषिबाली नष्ट भएको छ । दाङ, बाँके र बर्दियामा लगाइएको धान, मकै, तरकारी, माछा, तेलहन र केराखेतीमा नोक्सान पुगेको छ ।

सुदूरपश्चिमाञ्चल

सुदूरपश्चिमाञ्चलमा ९ करोड १३ लाख ९५ हजार रुपैयाँबराबरको कृषिबाली नोक्सान भएको छ । बझाङ, दार्चुला, बैतडी, कैलाली र डोटीमा लगाइएको सञ्चित खाद्यान्न, तरकारी, गहुँ, दाल, मकै, धान, केरा, बदाम, भटमास, मास, बोडीमा क्षति पुगेको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ