- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुअघि नै व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्तावमाथि छलफल हुँदैछ ।
संविधान संशोधनमाथिको वृहत छलफल आइतबार हुन लागेको हो । गत बुधबार संसदमा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि ५० वटा संशोधन परेका छन् । जसमा एक संशोधनकर्ताले मात्र बोलेका छन् ।
संशोधनकर्ता सांसदसँगै इच्छुक अन्य सांसदले समेत बोल्न समय पाउने भएकाले संशोधन प्रस्तावमाथि मतदान सोमबार हुने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जनाएका छन् ।
सत्ताधारी दलहरु संविधान संशोधन गर्न लागिरहँदा प्रमुख प्रतिपक्षी एमालेले संशोधनको पक्षमा मत नहाल्ने जनाइसकेको छ ।
एमाले अध्यक्ष केपी ओलीले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले डाकेको बैठकमा पनि उनले एमाले संविधान संशोधनको विपक्षमा उत्रने बताएका छन् ।
तर एमालेले संशोधन प्रस्तावलाई संसदबाट प्रक्रियागत रूपमा टुंगो लगाउन भने सकारात्मक भएको हो ।
यतिबेला संविधान संशोधन गर्नुपर्ने राष्ट्रिय जनता पार्टी राजपाका लागि हो । राजपाले यसअघि नै स्थानीय तहका दुई वटा निर्वाचन त्यागिसकेको छ । असोज २ गते तेस्रो चरणको निर्वाचन हुँदैछ ।
राजपाले संविधान संशोधन प्रस्ताव पास वा फेल जे भए पनि संसदीय प्रक्रियाबाट टुंगो लगाउन राजी भएको छ । पास नभए पनि राजपाले चुनावमा भाग लिने प्रतिवद्धता जनाएको छ ।
सत्ताधारीले दुई तिहाइ पुग्ने विश्वास गरेको छ तर त्यो सम्भव देखिँदैन । राजपाले एमालेका केही सांसद आफूहरुको पक्षमा भएकाले दुई तिहाइ पुग्ने दावी गरेको छ ।
संसदमा कायम भएका ५९२ सांसदमध्ये संविधान संशोधन पारित हुन दुईतिहाइ अर्थात् ३९५ मत आवश्यक पर्छ ।
तर, एमाले, राप्रपा र साना दलको सहयोग नहुँदा संशोधनमा दुईतिहाइ पुग्न गाह्रो छ ।
संशोधन प्रस्तावमा भाषा, नागरिकता, राष्ट्रिय सभा, सीमांकनका विषय समेटिएको छ ।