arrow

भूकम्पपछिको २८ महिना : अझै तङ्ग्रिएन वसन्तपुर (भिडियो)

बेलैमा पुनर्निर्माण नहुँदा आधा पर्यटक घटे

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
basantapur_durbar_squear.jpg

काठमाडौं । भूकम्पले क्षतिग्रस्त विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका संरचना पुनर्निर्माणको काम एकदमै सुस्त देखिएको छ।

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त दरबार क्षेत्रका कूल ३५ वटा ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुमध्ये अधिकांशको अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । स्वदेशी र विदेशी पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा रहेको दरबार क्षेत्रको पुननिर्माणले गति लिन नसक्दा एकातिर सहरको सुन्दरतालाई कुरुप बनाएको छ भने अर्कोतिर पर्यटक आगमनमा समेत कमी आएको छ । 

लामो समयसम्म सम्पदाका भग्नावेशको पुनर्निर्माण हुन नसकिरहेको यथार्थ रहे पनि सम्बन्धित निकायले भने काम तीव्र गतिमा भइरहेको बताउँदै आएको छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बसन्तपुर दरबार क्षेत्रको पुनर्निर्माणको कामले गति लिइरहेको बताए । उनका अनुसार बसन्तपुर क्षेत्रका ३५ वटा संरचनामध्ये सानातिनाको निर्माण सकिइसकेको र अधिकांश संरचना पुनर्निर्माणको क्रममा रहेको बताए । 

०७२ वैशाख १२ को भूकम्पले काठमाडौं उपत्यकाका हनुमानढोका दरबार क्षेत्र, पाटन, भक्तपुर, स्वयम्भ्, बौद्धलगायत अधिकांश सांस्कृतिक सम्पदामा क्षति पुर्‍याएको छ । पुरातत्व विभागका प्रवक्ता कुँवरका अनुसार देशभर रहेका करिब ८ सय सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदामा क्षति पुगेका छन् । 

विभागका प्रवक्ता कुँवरले अहिलेसम्म कूल ६० वटा सम्पदाको पुनर्निमाण कार्य सम्पन्न भईसकेको र ६० नै वटा संरचनाको बहुवर्षीय परियोजना समेत सुरु भईसकेको बताए । उनले नगरा घर, शिव मन्दिर तलेजु मन्दिर जस्ता संरचनाहरुको निर्माण सम्पन्न भईसकेको बताए । त्यस्तै, नौतले दरबार, राधाकृष्ण मन्दिर आदिको काम सुरु भईसकेको छ ।

बेलैमा पुनर्निर्माण नहुँदा आधा पर्यटक घटे
हनुमानढोका दरबार संग्रहालय विकास समितिले दिएको जानकारी अनुसार दरबार क्षेत्रमा बेलैमा पुनर्निर्माण नहुँदा आधा पर्यटक घटेका छन् । विकास समितिकी निर्देशक अरुणा नकर्मीले संरचना भत्किएको २८ महिनासम्म पनि बन्न नसक्दा पर्यटकीय क्षेत्रमा भ्रमण गर्नेको संख्यामा भने कमी आएको बताइन् । हनुमान ढोका दरबार हेरचाह अड्डाकी कार्यालयप्रमुख समेत रहेकी नकर्मीले आफूसँग यकीन तथ्यांक भने नभएको बताईन् । 

स्थानीय आजित 
हनुमान ढोका दरबार क्षेत्रमा पर्यटक आगमन कमीको समस्या एकातिर छ भने त्यहाँका स्थानीयहरु जीर्ण सम्पदाको अलपत्र अवस्था देखेर दिन दिनै वाक्क मान्न थालेका छन् । काठमाडौं ओमबहालकी वृद्धा गौरी श्रेष्ठ दरबार क्षेत्रको भग्नावशेषले कहिलेकाहीँ आँसु झर्ने गरेको बताउँछिन् । ७२ वर्षीय श्रेष्ठले आफूले बाल्यकालमा नै खेलेको बसन्तपुर क्षेत्रको आफू मर्नुअघि नै पुनर्निर्माण भएको देख्न चाहेको बताइन् ।

तर, पुनर्निर्माणमा देखिएको सुस्त शैलीले आफूलाई समेत वाक्क बनाएको उनको प्रतिक्रिया छ ।  त्यस्तै, वसन्तपुर दरबार क्षेत्रमा थान्का व्यापार गर्दै आएका अमृत कुमार खड्गीले समयमा नै पुनर्निर्माण नहुँदा आफूहरुको व्यापारमा गिरावट आएको गुनासो गरे । भूकम्प अघि र पछिको तुलनामा व्यापारमा ५० प्रतिशत कमी भएको उनले बताए । 

भूकम्पबाट साढे सात सय संरचना क्षतिग्रस्त 
भुईचालोले ७ सय ५३ सम्पदामा क्षति पुर्‍याएको छ । त्यसमध्ये गत वर्ष ४९ र यो वर्ष ५७ गरी १ सय ६ वटा सम्पदा पुनिनिर्माण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले अनुमति दिएको छ । यसका लागि १ अर्ब ८६ करोड रुपैयाँ खर्च गर्ने अनुमति दिएको प्रवक्ता कुँवरले जानकारी दिए । उनका अनुसार आउँदो वर्षसम्म ३ सय ६२ वटा सम्पदा पुननिर्माण गरिसक्ने योजना छ । 

विभागका अनुसार २० जिल्लाका सम्पदामा क्षति पुगेको छ । त्यसमध्ये एक सय ३५ सम्पदामा पूर्ण क्षति पुगेको छ भने ५ सय भन्दा बढी सम्पदामा आंशिक क्षति पुगेको छ । यसरी क्षति पुगेको सम्पदाको संख्या उपत्यकामा मात्रै ४ सय ६० छन् । काठमाडौंका २ सय ५०, ललितपुरमा १ सय ३०, र भक्तपुरमा ८० सम्पदा क्षतिग्रस्त छन् । 

६० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न 
विभागका प्रवक्ता कुँवरले अहिलेसम्म कूल ६० वटा सम्पदाको पुनर्निमाण कार्य सम्पन्न भईसकेको र ६० नै वटा संरचनाको बुहवर्षीय प्रोजेक्ट समेत सुरु भईसकेको बताए । उनले नगरा घर, शिव मन्दिर तलेजु मन्दिर जस्ता संरचनाहरुको निर्माण सम्पन्न भईसकेको बताए ।

त्यस्तै, नौतले दरबार, राधाकृष्ण मन्दिर आदिको काम सुरु भईसकेको छ । गद्दी बैठकको पुनर्निर्माणका लागि अहिले टेण्डर आह्वान गर्ने तयारी भईरहेको छ । अहिले बन्न सुरु भएका सम्पदाहरु दुई वर्षसम्ममा निर्माण सम्पन्न गरिसक्ने उनले बताए । 

Image may contain: people standing and outdoorभत्किएको वसन्तपुर दरवारको चित्र बनाउँदै ललितकला क्याम्पसका एक विद्यार्थी ।

झन्डै खतराको सूचीमा 
केही साताअघि आएको ‘रियाक्टिभ मनिटरिङ’ टोलीले काठमाडौं उपत्यकाका सम्पदाको अध्ययन गरेपछि युनिस्कोको खतराको सूचीमा राख्न सुझाव दिएको थियो । टोलीले यस्तो सुझाव दिएपनि युनेस्कोको ४१ औं अधिवेशनले खतराको सूचीमा नराख्ने निर्णय गरेको छ । पुननिर्माणको काम सन्तोषजनक नभएकाले यसलाई खतराको सूचीमा राख्नु पर्ने प्रतिवेदनको पक्षमा फिलिपिन्स र लेवनानले समर्थन गरेको पुरातत्व विभागले जनाएको छ ।  

Image may contain: one or more people and outdoorटेको दिर्इरहेको वसन्तपुर दरवार क्षेत्रमा रहेको नेपाल स‌ंस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय भवन मुनी वस्दै आएकी एक वृद्ध । 

(क्वालिटी कन्टेन्ट इन अनलार्इन जर्नालिजम - स्पेसल फोकस अन भिज्युअल नामक अनलार्इन पत्रकारिता तालिमको लागि सुदर्शन अर्याल, टीकाराम तामाङ र हेमलता जिसीले तयार पारेकाे रिपोर्ट)   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ