arrow

गगन र शेखर पुगे निर्वाचन आयोग

बुढानीलकण्ठको मतदाता नामावलीमा आयोगले छानविन गर्ने

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
gagan_sekher.jpg

काठमाडौं । नेपाली काँग्रेस काठमाडौ क्षेत्र नम्बर ४ र ५ का नेता कार्यकर्ताहरुले बुढानीलकण्ठ नगरपालिकामा मतदाता नामावली संकलनका क्रममा अनियमितता भएको भन्दै तत्काल छानविन गर्न माग गरेका छन् ।

काँग्रेस नेता शेखर कोईराला, क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापा सहित काँग्रेस नेता कार्यकर्ताहरुको टोलीले वुधबार चार बुँदे माग सहित निर्वाचन आयोगमा निवेदन दर्ता गराउँदै छानविन गर्न माग गरेको हो ।

बुढानीलकण्ठ नगरपालिकामा अनधिकृत रुपमा कार्यालय बाहिर संकलन गरिएका सम्पूर्ण मतदाता नामावलीको छानविन गरी बदर गर्नु पर्ने र नगरपालिका कार्यालयमा संकलन गरिएका सबै मतदाता नामावलीको भने छानविन गरिनु पर्ने माग निवेदनमा गरिएको छ ।

त्यसैगरी, कर्मचारी तथा जनप्रतिनिधिको अनधिकृत क्रियाकलापका कारण बुढानीलकण्ठ नगरपालिकाका धेरै बासिन्दाले नाम दर्ता गर्न नपाएकाले नाम दर्ता गर्ने लगायतका कार्यका लागि पुनःव्यवस्था गर्न पनि माग गरिएको छ ।

निवेदनमा अनधिकृत रुपमा मतदाता नामावली सङ्कलन कार्यमा संलग्न कर्मचारी तथा जनप्रतिनिधिलाई प्रचलित नेपाल कानुन तथा सार्वजनिक सुरक्षा ऐन समेतका आधारमा हदैसम्मको कारबाही गर्न आयोगको ध्यानाकर्षण गराइएको छ ।

साथै, कर्मचारीहरुले नाम दर्ताको लागि आउने नागरिकलाई अनावश्यक झन्झट दिने र कार्यालय समयबाहिर एमालेका नेताको घरमा रातभर बसी तोकिए बमोजिम कुनै कागजपत्र नहेरी मतदाता नामवली संकलन गराउने कार्य भएको, निवेदन दर्तापछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भदौ ३ गते आयोगले तोकेको समय सकिएपछि एमाले नगर समित संयोजक दीपक निरौलाको घरमा वडा नम्बर ९ का अध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, एक जना वडा सदस्य, निर्वाचनमा खटिएका कर्मचारी आकृत खत्रीलगायतका व्यक्तिहरू मतदाता नामावली संकलन तथा दर्ता गरिरहेको समयमा निर्वाचनका सामाग्रीसहित पक्राउ परेको विज्ञप्तिमा जनाइएको छ ।

“जिम्मेवार राजनीतिक दलको जिम्मेवार पदाधिकारीको घरमा, जनप्रतिनिधिहरूको प्रत्यक्ष संलग्नतामा, निर्वाचन आयोगबाट खटाईएका कर्मचारी प्रतिनिधि समेत उपस्थित भएर रातभर फोटो खिच्ने कार्य हुनु अत्यन्तै लज्जाजनक विषय हो,” विज्ञप्तिमा लेखिएको छ ।

त्यस दिन बाहेक अन्य दिनहरूमा समेत कार्यालय समय बाहिर अनधिकृत रुपमा विभिन्न नेताका घरमा त्यसरी नै फोटो खिच्ने कार्य भएका प्रमाणहरू भेटिएको बताइएको छ ।

एकातर्फ कार्यालय समयमा नियोजित भीडभाड गर्ने, सर्वसाधारण नागरिकलाई फोटो खिच्नबाट वञ्चित गर्ने र अर्कोतर्फ कार्यालय समयपछि पार्टीका नेताका घरमा फोटो खिचाउने कार्य आफैमा अनैतिक र खेदजनक भएको काँग्रेस नेता कार्यकर्ताहरुको भनाई छ ।

यो घटनाले निर्वाचन आयोग जस्तो संवैधानिक निकायको विश्वसनीयता, स्वच्छ निर्वाचन र निर्वाचन प्रकृयाको पारदर्शीतामा प्रश्न चिन्ह खडा भएको र आम नागरिकले मताधिकारको लागि स्वतन्त्र रुपमा आफनो नाम दर्ता गराउन नपाएको तर्फ विज्ञप्ति मार्फत् निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ ।

घटना पश्चात नेपाली काँग्रेस लगायतका विभिन्न पार्टीहरूले सत्य तथ्य छानविन गर्न, कार्यालय समय वाहिर संकलित नामावली बदर गर्न र दोषी कर्मचारी तथा जनप्रतिनिधिलाई कारबाही गर्न माग राख्दै भाद्र ४ गतेदेखि बुढानीलकण्ठ नगरपालिका कार्यालयमा धर्ना लगायतका विभिन्न कार्यक्रमहरू संचालन गर्दै आईरहेका थिए ।

यद्यपि, धर्ना कार्यक्रम भईरहदा पनि आयोगले कुनै कदम नचालेको भन्दै ध्यानाकर्षण गराउन पुगेका सांसद तथा काँग्रेस नेता कार्यकर्ताहरुलाई आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले अविलम्ब छानविन कार्य अगाडी बढाउने आश्वासन दिएका छन् । उनले छानविनपछि दोषी पुष्टी भएकालाई कारबाही पनि गर्ने बचन दिएका छन् ।

काँग्रेस काठमाडौको क्षेत्र नम्बर ४ का सभापति राजु श्रेष्ठ र क्षेत्र नम्बर ५ का सभापति रमेश खड्काले जारी गरेको विज्ञप्तिमा आयोगको सकारात्मक प्रतिक्रिया आएकाले जनतालाई मर्का नपरोस भन्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका कार्यालयको धर्ना कार्यक्रम स्थगत गरिएको उल्लेख छ ।

मतदाता नामावली छानविन, अनधिकृत नामावलीको बदर र दोषीलाई कारबाही नगरुन्जेल शान्तिपूर्ण  आन्दोलनका  कार्यक्रमहरू भने निरन्तर जारी रहने विज्ञप्तिमा स्पष्ट पारिएको छ ।  

निर्वाचन आयोगले गत साउन १६ गतेदेखि भदौ ३ गते सम्म देशभरका सवै स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ