arrow

महासङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

logo
प्रकाशित २०७४ भदौ ९ शुक्रबार

काठमाडौं। नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पदभार ग्रहण गरेका छन्। महासङ्घद्वारा यहाँ आज आयोजित पदभार हस्तान्तरण समारोहमा नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यलाई निवर्तमानले पदभार हस्तान्तरण गरे।

यही भदौ ५ गते सम्पन्न महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य, उपाध्यक्षमा विपुल पोख्रेल र दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, लक्ष्मी पुन, उदय जिएम, शीतलप्रसाद महतो, रेमबहादुर विश्वकर्मा र प्रकाश थापा तथा कोषाध्यक्ष राजेश मिश्र निर्वाचित भएका थिए।

महासङ्घमा पदाधिकारीसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। यस्तै लेखा समितिको संयोजकमा रोशन पुरी विजयी भएका थिए। नवनिर्वाचितलाई प्रमाणपत्र हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घको बगैँचामा कपुरको बिरूवा रोपेर र नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले त्यही बिरूवामा पानी राखेर पद हस्तान्तरण गर्नुभएको थियो। महासङ्घले निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेको छ। त्यसैगरी महासङ्घका कर्मचारीलाई सम्मान गरेको छ।

सोही अवसरमा सभामुख ओनसरी घर्तीले पत्रकारको पेशागत हक हितका लागि महासङ्घले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। “संविधान कार्यान्वयनअन्तर्गत दलहरूले समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गरेका छन्, २ नं प्रदेशको चुनावमा मधेशी दल सहभागी हुनु आफैँमा सकारात्मक हो, अब हुने प्रदेश र सङ्घको निर्वाचन सफल बनाउन सबैको उत्तिकै भूमिका हुनेछ”, सभामुख घर्तीले भनिन्।

नवनिर्वाचित अध्यक्ष आचार्यले महासङ्घ सधैँभरि प्रेस स्वतन्त्रताको पक्ष रहने बताए। सबैको सल्लाह, सुझावका आधारमा सबै पक्षलाई साथमा लिएर अगाडि बढ्ने उनको प्रतिबद्धता थियो। अध्यक्ष आचार्यले अहिले रु एक करोड ४६ लाख ५३ हजार रहेको महासङ्घको कल्याणकारी कोषलाई बढाएर आफ्नो कार्यकालमा कम्तीमा रु पाँच करोड पु¥याउनेसमेत प्रतिबद्धता व्यक्त गरे।

निवर्तमान अध्यक्ष डा विष्टले आफ्नो कार्यकालमा आम सञ्चार नीति, पत्रकारको उपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ पत्रकार सम्मान र पत्रकारको न्यूनतम् पारिश्रमिकलगायतका महत्वपूर्ण काम भएको जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ