- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रोल्पा । बिहीबार रातीदेखि सम्पर्कविहीन बनेका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीको अवस्था अझै पत्ता लाग्न सकेको छैन । शनिबारको लागि तोकिएको गाउँसभा विथोेल्नको लागि विप्लव समूहले अपहरण गरिएको आशंका गरिएको घर्तीको खोजीकार्य जारी रहेको रोल्पा प्रहरीले जनाएको छ ।
तर, घर्ती नभएपनि प्रमुख अतिथिको रुपमा बोलाईएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता वर्षमान पुन लगायतका उच्च नेताहरुले गाउँसभाको उद्घाटन गरेका छन् । अध्यक्ष दाहाल शनिबार दिउँसो सिमारा विमानस्थलबाट हेलिकप्टरमा थवाङ गएका हुन् । उनले त्यहाँ पुगेर घर्ती खोजी कार्यलार्इ गम्भीर रुपमा लिएर तीब्ररुपमा खोजी गर्न प्रहरीसँग आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाले अध्यक्ष बेपत्ता भएपनि थवाङ गाउँपालिकाको गाउँसभा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालको प्रमुख आतिथ्यमा शान्तिपूर्वक सम्पन्न भएको जनाएको छ ।
प्रदेश नं २ मा चुनावी प्रचारमा रहेका अध्यक्ष दाहाल मौन अवधि सुरु भईसकेपछि रोल्पातिर लागेका हुन् । बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन भएका घर्ती थवाङ–२ कोइचावाङमा रहेको ससुराली पुगेका बेला त्यहीँबाट १०–१२ जनाको समूहले सम्पर्कविहीन बनाएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उनको तेस्रो दिनसम्म पनि कुनै पत्तो नलागेपछि अध्यक्ष दाहाल नै सो क्षेत्रतिर लागेका हुन् । अध्यक्ष घर्तीको खोजीका लागि थवाङ आसपासका प्रहरी युनिटबाट प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले जानकारी दिए । रोल्पाको टिलामा रहेको सशस्त्र प्रहरीको टोली पनि घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
थवाङ गाउँपालिकाको शनिबारको लागि तोकिएको प्रथम गाउँसभा दाहालले नै उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । सोही उद्घाटन कार्यक्रम कार्यक्रम बिथोल्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घर्तीको अपहरण गरेको हुनसक्ने बताइएको छ ।