arrow

बाँकी छ भूकम्पको विध्वंश : ज्यान हत्केलामा, ध्यान सेवाग्राहीतिर

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ भदौ ३१ शनिबार
malpot_news.jpg

काठमाडौं । डिल्लीबजारमा रहेको मालपोत कार्यालय । जहाँ सेवाग्राहीको भीडको कुरा गरेर साध्य नै छैन । सधैँ उस्तै भीडभाड हुन्छ । काम पनि त्यतिकै चापाचाप ।

डिल्लीबजार मातपोतको व्यस्तता देखेर वा सुनेर देशभरका मातपोत कार्यालयका कर्मचारीहरु जिब्रो टोक्छन् । एक पटक डिल्लीबजार मातपोत सरुवा भइदिए हुन्थ्यो भन्ने धेरैको अपेक्षा हुन्छ ।

तर, त्यही मातपोतमा कार्यरत कर्मचारीहरुलाई कामको जति प्रेसर हुन्छ, त्यो भन्दा बढी प्रेसर आफ्नो ज्यानको सुरक्षालाई लिएर हुन्छ । भौतिक संरचनाबाट सुरक्षित छैनन् मालपोतका कर्मचारी । २०७२ को गोरखा भूकम्पले थिलथिलो भएको घरमा काम गर्दा ज्यान हत्केलामा राखेर बस्नु पर्दछ ।

अझ बेला बेलामा आउने पराकम्पनले बेला बेलामा सातो लिन्छ । डिल्लीबजारको मालपोत कार्यालयको भवन भूकम्पले क्षतिग्रस्त छ । चिराचिरा परेको घरमै जोखिम मोलेर काम गरिरहेका छन् कर्मचारी ।

सेवाग्राहीको चाप उस्तै हुन्छ । कर्मचारी मात्रै होइन सेवा लिन आउनेहरु पनि असुरिक्षत छन् । भूकम्प गएको २ वर्ष भन्दा बढी भइरहेको छ । तर, न कार्यालका सबै फाँट अन्यत्र सारिएका छन् , न नयाँ घर बनाउने सुरसार नै भएको छ ।

केही फाँटहरु सरिसकेका छन् । तर, १९६६ सालदेखिको लिखतहरु रहेको रजिष्ट्रेशन फाँट अझै सरेको छैन । चर्किएर लड्न लागेको घरमै काम भइरहेको छ ।

सरकारले नै बस्न योग्य छैन भनेको भवनमा दैनिक हजारबढी मानिस सेवा लिन आउँछन् । कर्मचारीको त दैनिकी नै यहीँ वितिरहेको छ । भूइतल्ला होइन, चार–चार लल्लामाथि रहेको तामेली फाँटमा मान्छेको त्यसै हुलहाल हुन्छ ।

सम्बन्धित निकायबाट गुनासो सुनुवाई भएको छैन । कर्मचारीले कयौँ पटक यस्तो जोखिममा काम गर्न सकिँदैन भने, तर अझै गुनासो सम्बोधन भएको छैन ।

मालपोतका कर्मचारी तिलक गुरुङ भन्छन्, ‘भूकम्प भन्ने वित्तिकैकै मुटु कामेर आउँछ । तर के गर्नु काम नगरि नहुने । यही भवनमा काम गर्नु पर्ने बाध्यता छ । पहिले देखिनै यहीँ नै काम गरियो ।’

पहिले त काम गर्दा गर्दै भूकम्प आउथ्यो, उनले अगाडि भने, ‘भागौँ भने पनि चार तल्लाबाट खसेर मरिएला भन्ने डर । नभागौँ भने भवन लडेर पुरिएला भन्ने डर । डरै डरले वितिरहेका छन् दिन ।’

भवन हेर्न थुप्रै निकाय आए । उनीहरु चेकजाँच गर्छन् । जान्छन्, उनले भने, ‘हामीलाई सार्ने अहिलेसम्म कोही आएनन् ।’
गुरुङले भावुक हुँदै भने, ‘ज्यानको माया कस्लाई हुँदैन र के गर्नु आज होला भोलि होला भन्दा भन्दै यस्तैमा काम गर्ने बानी नै बसिसक्यो । जे जसो भएपनि  सेवाग्राहीलाई रित्तोहात त फर्काउनु भएन नि !’

पहिले विभागले घर हेर्न पठाएको थियो, उनले अगाडि भने, ‘भवन निर्माणका मान्छेहरु पनि आएका थिए । कति पटक इन्जिनियरहरु पनि आए । २०७२ सालको दशैं भरी नै चेक जाँच मात्रै भयो । अब २०७४ को दशैँ आउन लागि सक्यो । हामी जहाँको त्यहीँ जस्ताको त्यस्तै चिरापरेको घरमा काम गरिरहेका छौँ ।’

उनले आफुहरुको फाँट नसर्नुको कारण पनि बताए । उनले अगाडि भने, ‘अरु फाँट सरेर र गएपनि यो फाँट नसर्नुको कारण के छ भने ? यहाँ दुई लाख १५ हजार ठेली छ । त्योे ठेली राख्ने भवन छैन । १९६६ साल देखिको लिखत यहाँ छ । मोठ, श्रेस्ताहरु स–साना हुन्छन् उनीहरु पहिले नै सरिसके ।’ हामीलाई सर्न ठूलो ठाउँ चाहिने भयो ।  

पश्चिमपट्टीको उत्तरी कुनामा जमिननै भासिएको छ । घर नै ढल्किएको छ, उनले भने, ‘भवन क्षतिग्रस्त नै छ । हेर्नलाई आएका जुन सुकै इन्जिनियरहरुले यो घर बस्न लायक छैन भन्छन् । माथि यो बारेमा के कुरा भइरहेको छ केही थाहा छैन ।’

२०७२ सालमा आएको गोरखा भूकम्पले काठमाडौंमा पनि कयौँ घर भत्किएका थिए, भने कयौँ घर अझै क्षतिग्रस्त छन् । केही घर टालटुल गरेर बस्ने बनाइएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ