arrow

चुनावमा बालबालिका प्रयोग गर्नेमा काँग्रेस १ र माओवादी २ नम्बरमा

एमाले ३ नम्बरमा

logo
प्रकाशित २०७४ असोज १ आइतबार
cong_news1.jpg

काठमाडौं । संघीय संरचना अनुरुप बनेका स्थानीय तहको निर्वाचनमा कानुन विपरीत बालबालिकाको प्रयोग भएको पाइएको छ ।

केन्द्रीय बालकल्याण समितिले निर्वाचनको प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको जनाएको हो । केन्द्रीय बालकल्याण समितिका अनुसार सबै भन्दा बढी बालबालिका प्रयोग गर्नेमा सत्ताधारी काँग्रेस र माओवादी केन्द्र छन्  । निर्वाचन भइसकेका ६९ जिल्लामा ५ हजार बढी बालबालिका चुनावी प्रचारमा प्रयोग गरिएको पाईएको समितिले जनाएको छ ।

नेपाली काँग्रेसले ३३ प्रतिशत अर्थात १ हजार ७ यस ८ प्रतिशत र  माओवादी केन्द्रले पनि ३३ प्रतिशत अर्थात् १ हजार ६ सय ७१ बालबालिका प्रयोग गरेको पाइएको छ । यस्तै, प्रमुख विपक्षी एमालेले समेत २९ प्रतिशत अर्थात् १ हजार ५ सय ३ बालबालिका प्रयोग गरेको विवरण छ ।

राप्रपाले ४ प्रतिशत अर्थात् १ सय ८५, र अन्य (नयाँ शक्ति नेपाल, संघीय समाजबादी फोरम, नेमकिपा  र जनमोर्चाले १ प्रतिशत बालबालिकालाई प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, समितिले पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका स्थानमा विभिन्न राजनीतिक दलका गतिविधिका क्रममा २ सय ९१ वटा घटनामा बालबालिकाको प्रयोग भएको जनाएको छ ।

दुबै चरणको स्थानीय तह निर्वाचनमा निर्वाचन पहिले ३ हजार ६ सय ४ जना, निर्वाचनको दिन १ सय ३९ जना र निर्वाचन पछि १ हजार ३ सय ७६ जना बालबालिकाको प्रयोग भएको समितिको भनाई छ ।

चुनावी प्रचारप्रसारको क्रममा जिप, ट्याक्टर, ट्रिप्पर, ट्रक लगायतका सवारी साधनमा चढाई जुलुस, आमसभा लगायत घरदैलो अभियानमा पहिलो चरणमा १ हजार ४ सय ६१ बालबालिकाको प्रयोग गरेको समितिले जनाएको छ । यस्तै दोस्रो चरणको निर्वाचनमा १ हजार २ सय ३२ गरी २ हजार ६ सय ९३ जना बालबालिका प्रयोग भएका छन् ।

त्यसैगरी, राजनैतिक दलका विजय जुलुसहरुमा चुनाव चिन्ह अंकित टिसर्ट लगाई पहिलो चरणमा ६ सय १७ जना र दोस्रो चरणमा ५ सय ७२ गरी १ हजार १ सय ८९, बाजा बजाउने लगायत साँस्कृतिक अभियानमा पहिलो चरणमा ३ सय ९९ जना र दोस्रो चरणमा २ सय ६६ गरी ६ सय ६५ जना बालबालिकाहरु प्रयोग भएका छन् ।

उम्मेदवार मनोनयन दर्ताका क्रममा पहिलो चरणमा १ सय ८१ जना र दोस्रो चरणमा २ सय ५२ गरी ४ सय ३३ जना र निर्वाचनको दिन पहिलो चरणमा ९० जना र दोस्रो चरणमा ४९ गरी १३९ जना बालबालिकालाई स्वयम् सेवकको रुपमा प्रयोग भएको पाईएको छ ।

मानव अधिकार आयोगले समेत पहिलो र दोस्रो चरणको निर्वाचनमा  बालबालिकाको प्रयोग भएको जनाएको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले भनेका छन्, ‘यसमा राजनीतिक दलहरुको आ–आफ्नै धारणा छ । कतिपय दलको जुलुसमा बालबालिकहरु प्रयोग भएको देखिएको छ । ति बालबालिका स्वस्फूर्त रुपमा आए भन्ने राजनीतिक दलहरुको भनाई छ ।’

भट्टराईले भने, ‘हाम्रो आग्रह के भन्दा ? स्वस्फूर्त रुपमा आएका बालबालिकालाई राजनीतिक दलले उसको टाउकोमा ठिक्क हुने किसिमको टोपी, उसको शरिरमा ठिक्क हुने किसिमको भेष्ट कसरी दिन्छ ? यो गम्भीर विषय हो । बालबालिकाको प्रयोग भएकै मान्नु पर्दछ । त्यो पनि स्वस्फूर्त रुपमा आएका होइनन् । यदी आए भने पनि उनीहरुलाई तिमिहरुको यो काम होइन भनेर घर गएर पढ्न जाओ भन्न सक्नु पर्ने ।’

बालअधिकारको सुनिश्चितताको लागि सरकार मात्र नभई दलहरुले ध्यान दिनु पर्दछ, उनले अगाडि भने, ‘नेपाल बालअधिकार सम्बन्धि महासन्धिको पक्षधर राष्ट्र भएकाले पनि बालबालिको प्रयोग गम्भीर विषय भएर आउँछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ