arrow

ढोरपाटन शिकार आरक्षमा ३ सय ८८ झारल

logo
नारायण रिजाल,
प्रकाशित २०७४ असोज ३ मंगलबार
Jharal.jpg

बागलुङ ।  ६ वर्ष अघिको तुलनामा ढोरपाटन सिकार आरक्षमा यस वर्ष झारलको संख्या बढेको छ । आरक्ष कार्यालयबाट वि.सं. २०६८ मा भएको गणनामा २ सय ८५ झारल आरक्षमा थिए । यस वर्ष गरेको गणनामा ३ सय ८८ वटा झारल भेटिएका छन् । पाँच वर्षको अन्तरमा गणना हुनुपर्नेमा यो वर्ष प्राविधिक कारणले ढिलो भएको कार्यालयले जनाइएको छ । गत जेठ–असारमा कार्यालयले आरक्षका ७ वटै सिकार ‘ब्लक’ मा झारल गणना गरेको थियो ।

आरक्षमा झारलको वृद्धिदर वार्षिक १ दशमलव ७८ प्रतिशत रहेको कार्यालयले जनाएको छ । जसमा भाले झारलको वृद्धिदर ६ दशमलव ९९ प्रतिशत छ । गणनामा झारल बढेको पाइएपनि आरक्षको घनत्वको हिसावले संख्या प्रयाप्त नभएको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।‘यहाँको हावापानीमा झारल अलि बढीनै भेटिनुपर्ने हो’ उनले भने ‘वर्षायाममा गरिएका कारण गणना केही प्रभावित पनि हुन सक्छ ।’ उनले तीन समूहले २५ दिन लगाएर झारलको गणना गरेको बताए ।

गणना वर्षलाई तुलनात्मक रुपमा हेर्दा झारलको संख्या बढेको ‘पछिल्लो गणनामा ४२ समूहमा झारल भेटिएका थिए’ अधिकृत बरालले बताए । सबै भन्दा ठूलो समूहमा ५१ वटा झारल देखिए ।’ जसमध्ये ३ सय २७ झारलको लिङ्ग पहिचान भएको र बाँकी ६१ को पहिचान गर्न नसकिएको बरालको भनाइ छ । पहिचान भएकामा १ सय ६२ भाले र बाँकी पोथी झारल थिए । जसमा परिपक्क भालेको संख्या १ सय १ र पोथीको संख्या १ सय १४ छ ।

बाख्रा प्रजातिमा पर्ने झारल ढोरपाटन पुग्ने विदेशी सिकारीको पनि पहिलो रोजाइँमा पर्ने गरेको छ । संख्याको आधारमा हेर्दा वर्षेनी ८ दशमलव ५ प्रतिशतले झारलको सिकार हुने गरेको पाइएको छ । ‘झारल सिकारमा आकर्षण बढ्दो छ, अघिल्लो सिकार याममा एउटा झारल सिकार गरे बापत सिकारीले १३ लाख ५ हजार तिरेका थिए’ प्रमुख संरक्षण अधिकृत बरालले भने । वर्षेनी झारल र नाउर दुवैको सिकार दर घटबढ हुने गरेको छ । विभागले केही दिनमै यो वर्षको पहिलो सिकार यामको लागि नाउर र झारलको सिकार कोटा निर्धारण गर्नेछ ।

३ हजारदेखि ४ हजार मिटरको उचाइमा पाइने झारल नाउरको तुलनामा कम भएपछि सिकारको कोटा पनि कम छुट्टाउने गरिएको छ । विभागले अधिकांश वर्षमा २६ नाउर र १२ वटा झारलको सिकार कोटा निर्धारण गर्ने गरेको छ । आरक्ष कार्यालयले अघिल्लो वर्ष गरेको नाउरको गणनामा २ हजार २ सय २ वटा नाउर भेटिएका थिए । नाउर र झारल दुवैको पाँच÷पाँच वर्षको फरकका गणना गर्ने गरिएको छ । बरालको संयोजकत्वमा एक-एक जना सहायक संरक्षण अधिकृत, रेञ्जर, भरिया र सिकार कार्यसँग अनुभवी स्थानीय समेत गणना टोलीमा थिए ।

 विकट भूगोल त्यसमा पनि वर्षायामको प्रतिकुलताबीच झारल गणना गरिएको आरक्षका सहायक संरक्षण अधिकृत पशुपती अधिकारीले बताए । गणनापछि भेटिएका झारलको संख्याको आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सिकारको लागि ‘कोटा’ निर्धारण गर्ने गरेको छ । आरक्ष कार्यालयले गणनाको विस्तृत प्रतिवेदन विभागमा पठाइसकेको जनाएको छ । ढोरपाटन साहसिक यात्रा र सिकार अनुभवको लागि आकर्षक गन्तव्य हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ