arrow

मासिक ८ अर्बको खसीबोकाको मासु खपत, दसैंका बेला आठ दोब्बर खपत

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
goat.jpeg

काठमाडौं । नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँबराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ । उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो । आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौं रुपैयाँ खर्चिंदै आएको तथ्यांक छ ।
 
नेपालीले खसीबोकाको मासुका लागि मात्रै वार्षिक ९९ अर्ब सात करोड रुपैयाँ खर्च गर्छन् । पशुपन्छी मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छन् । यसमध्ये झन्डै चार लाख खसीबोका स्वदेशमै उत्पादन हुन्छन् भने ३० हजार गोटा भारत, अमेरिका र अस्ट्रेलियाबाट आयात गरिएको तथ्यांक छ । खसीबोका आयातको ९८ प्रतिशत हिस्सा भारतको छ ।

नेपाली बजारमा स्वदेश र आयातित खसीबोका औसत ३० किलोका भित्रिने गर्छन् । ३० किलोको खसीबोकाबाट २४ किलो तयारी मासु बन्छ । एक किलो खसीबोकाको मासुको उपभोक्ता मूल्य औसत आठ सय रुपैयाँ पर्छ । 

यसमा दसैंलगायत चाडपर्वको खपतलाई जोडिएको छैन । दसैंका बेला सामान्यभन्दा झन्डै आठ दोब्बर बढी मासु खपत हुने पाइएको छ । दसैंको समयमा हुने कारोबारलाई जोड्दा वार्षिक करिब डेढ खर्ब मूल्यको खसीबोकाको मासु खपत हुँदै आएको छ ।

चौपाया खरिदबिक्री सेवा संघका अनुसार बढ्दो सहरीकरण र जीवनस्तरमा आएको सुधारसँगै नेपाली उपभोक्तामा खसीबोकाको मासु खाने प्रवृत्ति बढेको छ । आम उपभोक्ता अहिले मासुका विभिन्न परिकारको स्वादमा रमाउन थालेका छन् । 

साना रेस्टुराँदेखि पाँचतारे होटेलसम्म खसीबोकाको मासुका विभिन्न परिकार मेनुमा पस्किन थालेपछि उपभोग दर बढेको हो । ‘मासुबाट बनाइने विभिन्न परिकारको खपत बढ्दै गएको हो’ संघका अध्यक्ष गोविन्द पाठकले भने ।

अहिले झन्डै मासुबाट बनेका दुई दर्जन परिकार बन्ने गरेका छन् । पाठकका अनुसार खसीबोकाको मासुबाट साँधेको कलेजो, साँधेको टाउको, ह्याकुलाको छोइला, भुटेको फोक्सो, सादा कबाफ, सिंक कबाफ, भरेको फोक्सो, मटन चप्स, मटन बल, रोगन जोस, मुस्लिम कबाफ, सुक्खा मासु, प्याजी मासु, हाँडी कबाफ, सेकुवा, मटन बिर्यानी, भुटन, तास, लेदो मासु र किमाजस्ता परिकारका कारण उपभोग दर बढ्दै गएको हो ।

मासिक २२ करोडका खसीबोका आयात
नेपालमा मासिक २२ करोड रुपैयाँबराबरको खसीबोका आयात हुन्छ । दसैंबाहेक सामान्य समयमा भारत, अमेरिका र अस्ट्रेलियाबाट मासिक २१ करोड रुपैयाँबराबरका ३० हजार गोटा खसीबोका नेपालमा भित्रिने गर्छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने गत साउन महिनामा मात्रै भारतसहित तेस्रो मुलुकबाट यो परिमाणमा मासुका लागि खसीबोका आयात भएको हो ।

मासिक ३० हजार खसीबोका आयात, वार्षिक अढाई अर्ब रुपैयाँ बाहिरिने, वार्षिक ९९ अर्ब रुपैयाँको खसीबोकाको मासु खपत
विभागको तथ्यांकअनुसार साउनमा मात्रै २२ करोड रुपैयाँबराबरका ३० हजार चार सय ९४ गोटा खसीबोका आयात भएको थियो । वार्षिक नेपालमा डेढ अर्बदेखि अढाई अर्ब मूल्यका पाँच लाख गोटा खसीबोका आयात हुने गरेका छन् । आर्थिक वर्ष २०७०–७१ देखि २०७४–७५ साउनसम्म सात अर्ब ९१ करोड ८२ लाख ४४ हजार मूल्यबराबरको १६ लाख ४८ हजार नौ सय ३८ गोटा खसीबोका आयात भएको छ ।

व्यवसायीका अनुसार आयातित खसीबोकामध्ये ९० प्रतिशत उपत्यकामा खपत हुन्छ । स्वदेशमा खसीबोका उत्पादन भए पनि ग्रामीण भेगसम्म बाटोघाटोको असुविधा र ढुवानी समस्याका कारण बाहिरी मुलुकबाट ठूलो परिमाणमा खसीबोका आयात गर्नुपरेको हो ।

 ‘स्वदेशमै पर्याप्त परिमाणमा खसीबोका उत्पादन हुन्छ,ुचौपाया खरिदबिक्री सेवा संघका पूर्वअध्यक्ष दीपक थापाले भने, ‘बाटोघाटो र ढुवानीको असुविधाले उत्पादन भएका खसीबोका सहर केन्द्रित ठूला बजारमा आउन पाउँदैनन् । लोकल उत्पादन स्थानीयस्तरमै खपत हुन्छ ।’

उनका अनुसार आयातित खसीबोकामध्ये झन्डै शतप्रतिशत ठूला सहरमा खपत हुने गर्छ । संघका अनुसार भारतकोे लखनऊ, बहराइच, काल्पी, जसवीरनगर, कानपुर, हरियाणालगायत स्थानबाट लाम्काने र जमुनापारी जातका खसीबोका आयात हुने गर्छन् ।

दसैंमा अत्यधिक खपत
पशु सेवा विभागका महानिर्देशक डा। विमल निर्मलका अनुसार दसैंका अवसरमा बलि दिन र मासु खाने चलन बढ्दै गएकाले सामान्य दिनबाहेक करिब ६० हजार खसीबोका ९१२ लाख किलो मासु० खपत हुन्छ । उपत्यकामा सामान्य दिनमा एक हजार गोटा खसीबोका बिक्री भए पनि दसैंमा करिब दैनिक तीन हजारको संख्यामा बिक्री हुन्छ । उपत्यकामा दसैंको अवधिमा मात्रै करिब ६० हजार खसीबोका, १० हजार च्यांग्रा, तीन हजार भेडा र सयभन्दा बढीको संख्यामा राँगा खपत हुन्छ । दसैंको अवधिमा मात्रै विदेशी र स्वदेशी गरी करिब ५६ करोड रुपैयाँबराबरका खसीबोकाको कारोबार हुन्छ ।

उपत्यकामा वार्षिक १५ अर्बको थोक कारोबार
चौपाया खरिदबिक्री सेवा संघका अनुसार उपत्यकामा थोकमा खसीबोकाको वार्षिक कारोबार १५ अर्ब मूल्यबराबर छ, जसमध्ये १० अर्बका आयातित र ५ अर्बका स्वदेशी खसीबोकाको कारोबार हुन्छ । दसैंको अवधिमा मात्रै ५० करोड रुपैयाँबराबरका खसीबोका आयात गरिएको तथ्यांक छ ।
नेपालमा वार्षिक एक करोड २० लाख गोटा खरी ९पहाडी०, जमुनापारी र बोयर जातको खसीबोका उत्पादन हुने पशु सेवा विभागका महानिर्देशक निर्मलले जानकारी दिए । यसमध्ये ४० लाख गोटा दसैं र ५० लाख गोटा वर्षभरि खपत हुन्छ । विभागका अनुसार देशभर साढे पाँच अर्ब रुपैयाँको स्वदेशी खसीबोकाको कारोबार हुने गर्छ ।

मासु पनि आयात
नेपालमा खसीबोका मात्रै होइन, खसीबोकाको तयारी र प्रशोधित मासु पनि आयात हुने गर्छ । नेपालमा भारतबाट ७८ लाख ३३ हजार मूल्यबराबरको ३४ हजार चार सय ७५ किलो तयारी मासु पनि आयात भएको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७०–७१ देखि चालू आर्थिक वर्षसम्मको एक महिनामा एक करोड २४ लाख १५ हजार रुपैयाँबराबरको ४६ हजार नौ सय ५५ किलो तयारी मासु आयात भएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ