सुनसरीबाट एमालेका उम्मेदवार सिफारिस, को को परे ?, गठबन्धनले समस्या

प्रकाशित मिति : २०७४ असोज २४ मंगलबार , १,९०२ पटक हेरिएको

इनरुवा । सुनसरीबाट सम्भावित उम्मेदवारको नाम नेकपा एमालेले केन्द्रमा सिफारिस गरेको छ । 

सुनसरीबाट एमालेका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको पार्टीले जनाएको छ । 

एमाले सुनसरीको मातहतका कमिटीले मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको नामावली सिफारिस गरेको हो । 

एमालेको निर्वाचन क्षेत्रीय कमिटी र प्रदेश सभा कमिटीको बैठकले क्षेत्र नं १ बाट प्रकाश राई र जयकुमार राईलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ भने प्रदीप भण्डारीलाई प्रदेश सभा (क) सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । 

एमालेका केन्द्रीय कमिटी सचिव, पूर्वमन्त्री एवं साविक सुनसरी–६ का सांसद भीमप्रसाद आचार्यलाई प्रदेश सभाको (ख) बाट उम्मेदवार सिफारिस गरिएको जनाइएको छ । 

निर्वाचन क्षेत्र नं २ बाट हालका सांसद रेवतीरमण भण्डारी, खेमराज पोखरेल, रामप्रसाद चौलागार्इं, रमेश श्रेष्ठ, डा बद्री विशाल पोखरेल र ओम कोइरालाको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ भने यस क्षेत्रको प्रदेश सभा (क) बाट एमाले केन्द्रीय सदस्य धर्मराज निरौला, रामप्रसाद चौलागाईं, राजकुमार गिरी, डवलकुमारी चौलागाईं, बन्हुलाल चौधरीलाई प्रदेश सभा सदस्यका लागि नाम सिफारिस गरिएको छ । 

प्रदेश सभा (ख) का लागि शम्भु आचार्य, पर्शुराम यादव, हरिनारायण चौधरी, शत्रुघन यादव, धिरामाया राई, निरा आचार्य, शंकरलाल चौधरी, राम कोइराला, खेमराज पोखरेलको नाम प्रदेश सभा सदस्यका लागि सिफारिस गरिएको छ । 

यसैगरी, सुनसरीको निर्वाचन क्षेत्र नं ३ बाट एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव भीम आचार्यले भगवती चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने घोषणा गरिसकेकाले यस क्षेत्रबाट उहाँको एक्लो उम्मेदवारी लगभग पक्कापक्की भइसकेको एमाले उच्च स्रोतले जनाएको छ । 

यस क्षेत्रबाट प्रदेश सभा (क) का लागि तैयव हुसैन, रामकरण चौधरीको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा (ख) बाट नाम सिफारिस हुन बाँकी रहेको छ । 

निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि जगदीश कुसियत, महफुज अन्सारी र रमेश श्रेष्ठको नाम सिफारिस गरिएको छ । 

प्रदेश सभा (क) बाट सदस्यका लागि केशव तिम्सिना, नन्दकुमारी राई, बद्रीनाथ घिमिरे, प्रदीप काफ्ले, कोषराज भट्टराई, डिवी शाह ‘शंकर’ तथा बाबुराम बरालको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । 

जिल्लामा नेकपा (माओवादी केन्द्र) सँगको तालमेलको कुराले केही मात्रामा सदस्यको उम्मेदवारीमा फेरबदल हुनसक्ने सम्भावना समेत रहेको पार्टीले जनाएको छ । 

यहाँ एमालेको राम्रो अवस्था भए पनि वाम तालमेलले गर्दा केही ठाउँमा माओवादी केन्द्रलाई समेत स्थान दिनुपर्ने हुन्छ । 

नयाँ