arrow

संक्रमणकालीन १० वर्ष : जनताले के पाए, नेताले के दिए ?  

विज्ञ भन्छन् -संक्रमणकाल पूर्ण अन्त्य हुन वैद्य, विप्लव, सीके राउतको व्यवस्थापन जरुरी 

logo
राजनीतिक व्यूराे,
प्रकाशित २०७४ असोज २९ आइतबार
bigye_new1.jpg

काठमाडौं । ऐतिहासिक संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल औपचारिक रुपमै सकिएको छ । योसँगै अहिले मुलुकमा चुनावी सरकार मात्रै छ । 

संवैधानिक प्रावधान अनुसार प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक बन्दसूची बुझाउनु भन्दा एक दिन अघिसम्म मात्रै संसद कायम रहने व्यवस्था थियो । 

संसदको कार्यकाल सकिएसँगै १० वर्ष लामो संक्रमणकालीन अवस्थाको अन्त्य भएको उद्घोष पनि राजनीतिक दलहरुले गरेका छन् । नयाँ संविधानले व्यवस्था गरेको नयाँ संघीय संरचना अनुसार राज्य पुनःसंरचनाको काम काम जारी छ । 

लामो समय रहेको संक्रमणकालीन परिस्थितिले मुलुकले थुप्रै समस्याहरु झेलेको छ । मूख्य गरी मूलुकले स्थिर सरकार पाउन सकेन । राजनीतिक संक्रमणकै कारण मुलुकको आर्थिक र सामाजिक विकासले गति लिन सकेन । उल्झन रहिरहयो । 

२०६४ सालको संविधानसभा निर्वाचन पछि मात्रै पनि १० वर्षमा १० वटा सरकार फेरिएका छन् । त्यो पनि नौं–नौँ महिनामा । कुनै सरकारले देखिने गरेर जनमुखी काम गर्न सकेनन् । 

आर्थिक सामाजिक रुपमान्तरणको बाटो समाउन सकेनन् । मुलुकलाई संवैधानिक व्यवस्था अनुसारको अभ्यासमा लैजान आवश्यक पर्ने मध्ये केही आधारभूत कामहरु पूरा भएका छन् । यद्यपि, संक्रमणकालले सिकाएका विषयहरुमा राज्य संचालक वा प्रमुख कर्ताहरु अझै संवेदनशील बनेका छ्र्रैनन् । संसदको कार्यकाल सकिएसँगै नेपाल अब एक उचाईमा गयो ? वा संक्रमण काल अन्त्य भयो त ? भनि हामीले जानकारहरुलाई सोधेका छौँ । 

संक्रमणकाल अन्य हुँदैन, अबको चुनावपछि न्यूनीकरण हुन्छ : दाहाल 
राजनीतिक विश्लेषक भरत दाहालले संसदको कार्यकाल सकिएपनि संक्रमणकाल अन्त्य नभएको बताएका छन् । 
उनले भने, ‘संक्रमणकाल सकिएको छैन । यो लामो समय चल्यो अझै जान्छ । एउटा कुरा के भन्न सकिन्छ भने ? अब प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भई स्थिर सरकार गठन भएपछि न्यूनिकरण हुन्छ । अन्त्य नै हुने भन्ने होइन ।’ किन अन्त्य हुन सक्दैन ? जवाफमा उनले भने, ‘अझै अनेक समस्याहरु छन् । जस्तो, मोहन वैद्य समूह, नेत्रविक्रम चन्द समूह, सीके राउत समूह । यी र यस्तै प्रकारका संगठन रहेसम्म संक्रमणकाल रहिरहन्छ ।’ यीनिहरुको व्यवस्थापन जरुरी छ ।

संविधानमा अब सरकार गठन भए २ वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन सकिन्छ भन्ने व्यवस्था त छ, उनले थपे, ‘व्यवस्थाले मात्रै हुँदैन अहिलेको निर्वाचन प्रणाली र राजनीतिक दलहरुको चरित्रले त्यो अवस्थासम्म पुग्ने हो या होइन भन्ने कुनै ग्यारेन्टी छैन ।’ संक्रमणकालले अस्थिरतालाई जन्म दिन्छ । स्थिरता रहेसम्म मुलुकमा थिति हुँदैन, दाहालले भनेका छन् । उनले संक्रमणकालबाट धेरै सिकेको समेत बताए । 

उनले भने, ‘संक्रमणकालले हामीले खोजेको सामाजिक, आर्थिक रुपान्तरण हासिल हुँदैन । समूदायका बिचको सदभाव कसरी जोगिने भन्ने महत्वपूर्ण पाठ हो ।’ संक्रमण अस्थिरताको उत्पादक हो, दाहालले आगाडि थपे, ‘अस्थिरताले स्थायीत्व हुँदैन । स्थायीत्व नभए राष्ट्रिय स्वाभीमान र अखण्डता जोगाउन सकिँदैन भन्ने पाठ संक्रमणकालले सिकाएको छ ।’

संक्रमणकालले धेरै सिकायो, सिको गर्ने कोही भएनन् : अधिकारी 
संविधान अध्येयता डा. विपीन अधिकारीले नेपालको संक्रमणकाल लगभग टुंगिने अवस्थामा पुगेको बताएका छन् । उनले भने, ‘अन्त्य हुनै लाग्यो । निर्वाचित निकायहरु पदस्थापन हुनेवित्तिकै अन्त्य भयो भनेर घोषणा गर्न मिल्छ । नयाँ संघीय व्यवस्था अनुसारका सबै संरचनाहरु तयार हुनु पर्दछ ।’

यस्तै, उनले नेपालको संक्रमणकालीन परिस्थितिले थुप्रै सिकाएको भए पनि सिको कसैले नगरेको बताए । उनले भने, ‘सिको गरेको देखिएन । मूख्य तः राजनीतिक दल र तिनका नेताहरुले नै सिकेनन् । जसकारण नेताहरु ठिक छैनन् भन्ने म्यासेज यो संक्रमणकालीन समयले दिएको छ ।’

अहिले पनि संविधान कार्यान्वयन गर्ने सन्दर्भमा व्यवस्थापिका संसदले जसरी काम गर्नु पर्ने थियो त्यो देखिएन, अधिकारीले थपे, ‘राष्ट्रसभाको निर्वाचन सम्बन्धि विधेयक पास भएन । हामी सबै नेपालीसँग जोडिएको चिकित्सा विधेयक पारित भएन । यसले के बुझिन्छ भने, संविधानको मानक लागू गर्ने सन्दर्भमा दलहरु सक्षम छैनन् भन्ने ठहर्छ ।’

स्थानीय तहको निर्वाचनमा सहभागिता जनाएर आम जनताले संविधान भने अनुमोदन गरेको डा. अधिकारीले बताए । उनले भने, ‘संक्रमणकालले नेपाली जनतालाई सिकाएको एउटा पाठ यो पनि हो । जहाँ लोकतन्त्रले सबै वर्ग, क्षेत्र र लिङ्गहरुलाई समेट्छ ।’ अर्कोतिर संक्रमणकालले सरकारलाई अस्थिर बनायो, अधिकारीले भनेका छन् ,‘संसद पनि अस्थिर रहयो । अब यसबाट के बुझिएको छ भने सरकार ढाल्नु परेपनि विकल्प दिनु पर्दछ ।’ संविधानको एउटा विशेषता यो पनि हो । 

स्थिर सरकार बन्छ भन्ने कुनै गुन्जायस छैन : केसी 
राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले संक्रमणकाल अन्त्यको खुड्किलोमा पुगेको भन्न मिल्ने र माघ ७ पछि मात्रै यसो भन्न सकिने बताए । 

उनले भने, ‘माघ ७ किन भनिएको हो भने, त्यो समयसम्म निर्वाचनको अंग पूरा हुन्छ । त्यसपछि मात्रै संक्रमणकाल अन्त्य भएको मानिन्छ ।’

संक्रमणकालीन परिस्थितिले मुलुकलाई ठूलो घाटा लागेको उनको भनाई छ । डा. केसीले अगाडि भने, ‘आर्थिक क्षति भएको छ । जनतालाई पोलिएको छ । राष्ट्रियता धरापमा परेको छ ।’

यस्तै, संक्रमणकालबाट पूर्ण सिकाइ नभएको डा. केसीको तर्क छ । उनले अगाडि भने, ‘जस्तो केही दलहरुले वाम गठबन्धन गर्नु पर्छ भन्नेसम्म महसुस गरे । यो सिकाई हो । तर, सरकारमा रहेका दलले थेगिनसक्नुको ६३ सदस्यीय मन्त्रिमण्डल पनि बनाए । यसलाई के सिकेको भन्नु ?’

अर्कोतिर डा. केसीले अब फेरि पनि स्थिर सरकार बन्छ भन्ने कुनै गुन्जायस नरहेको बताए । उनले भने, ‘संक्रमणकालले सिकाएको स्थिर सरकार चाहिन्छ भन्ने विन्दुसम्म पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुनै ग्यारेन्टी छैन । कारण अहिलेको निर्वाचन प्रणाली र राजनीतिक दलको चरित्र ।’ कुनै दलले स्पष्ट बहुमत ल्याएर सरकार बनाउँछ भन्ने नै छैन । नभए एमाले अर्कालाई साथमा लिएर चुनाव लड्नु पर्दथ्यो ? निर्वाचन प्रणालीकै कारण अहिले वार्गेनिङ चलिरहेको छ ।’ यसरी कसरी स्थिर सरकार बन्छ भनेर ढुक्क हुनु ? स्थिर सरकार बन्ने विन्दुसम्म पुग्न सकिन्छ कि सकिँदैन भन्ने अहिलेको प्रश्न हो,–डा. केसीले भनेका छन् । 

के निर्वाचन प्रणाली भएन, उसो भए ? जवाफमा उनले भने, ‘निर्वाचन प्रणाली नेपालको सामाजिक संरचना अनुसार ठिक हो । सुहाउँदो हो । समस्या भएको समानुपाति निर्वाचन प्रणालीमा हो । नेपाल बहुजातीय, बहुभाषिक भएका कारण यो प्रणाली राम्रो हो । तर, यहाँ चरित्र ठिक भएन । हुनुपर्ने उत्पीडित र पीछडावर्गको प्रतिनिधित्व हो । यहाँ समानुपातिकमा प्रतिनिधित्व कसरको भो ? कसैका भाई भारदार, श्रीमती, कुल कुटुम्ब आदि इत्यादि ।’

उनले अगाडि भने, ‘कसैलाई अफ्ठ्यारो लाग्दैन भने । शेरबहादुर देउवाकी श्रीमती, बाबुराम भट्टराईकी श्रीमती, गणेश थापाका भाई, अर्को कसैका नातेदार यो त भएकै हो नि हैन । समानुपातिक प्रतिनिधित्वको कत्लेआम त गरेकै हो नि हैन ।’

अहिले समानुपातिकको सूचीमै ५० प्रतिशत महिला, अल्पसंख्यक र पीछडिएको क्षेत्र समेट्ने भनिएको छ । त्यो कसले कति पालना गर्छन् त्यो पनि देखिएला, डा. केसीले भने । 

संक्रमणकालीन समयमा बनेका १० सरकार 
१ पुष्पकमल दाहालको मन्त्रिपरिषद् गठन २०६५–०५–२०
२ माधव कुमार नेपालको मन्त्रिपरिषद् गठन २०६६–०२–११
३ झलनाथ खनालको मन्त्रिपरिषद् गठन २०६७ माघ २३ 
४ डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद् गठन २०६८ भदौ १२
५ बाबुराम भट्टराई सरकार २०६९ जेठ 
६ खिलराज रेग्मीको अन्तरिम चुनावी मन्त्रिपरिषद्
७ सुशील कोइराला सरकार गठन २०७० माघ २९ गते 
८ केपी ओली नेतृत्वको सरकार गठन मिति २०७२–०६–२५ 
९ पुष्पकमल दाहाल प्रचण्ड (दोस्रोपटक) सरकारमा, गठन २०७३ साउन २०
१० शेरबहादुर देउवाको मन्त्रिमण्डल २०७४ साल जेठ २३



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ