arrow

विवेकशील साझाले थप उम्मेदवारको गर्‍यो घोषणा

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
candidates_3-01.jpg

काठमाडौं ।  विवेकशील साझा पार्टीको प्रदेश तथा प्रतिनिधि चुनावमा थप उम्मेदवारीहरु घोषणा गरेको छ । पार्टीले पाँचौ चरणमा प्रदेश सभा चुनावको लागि रुपन्देही र धनुषा जिल्लामा उम्मेदवारी घोषणा गरेको हो। साथै, पार्टीले नवलपरासी र सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागी प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ ।
 
पार्टीले गणेश पन्थीलाई  रुपन्देही क्षेत्र नं २ (क) बाट उम्मेदवारीको घोषणा गरेको हो। छत्रदेव गाउँपालिका– ०६ अर्घाखाँचीमा जन्मिएका ३९ वर्षीय पन्थी इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक इन्जिनियर हुन्। उनले भारत कृष्ण इन्ष्टिच्यूट अफ इन्जिनियरिङ्ग कलेजबाट इलेक्ट्रोनिक इन्जिनियरिङ्गमा स्नातक गरेका छन्। नेपालमा तत्कालिन साझा पार्टीको उदयसँगै २०७४ बैशाखमा तिलोत्तमा नगरपालिका मणिग्राममा आफ्नै नेतृत्वमा साझा पार्टी तिलोत्तमा इकाई गठन गरेका थिए।

स्थानीय रुपमा क्लब गठन गरी करिब सात वर्ष सम्म श्री बाँसघारी युवा क्लबको अध्यक्षको रूपमा नेतृत्व प्रदान गरेका थिए। बासस्थान र कर्मस्थान दुवै क्षेत्रमा १/१ वटा सहकारी संस्थाको स्थापना गरेका पन्थीले हाल ती दुवै सहकारी संस्थाको नेतृत्व पंक्तिमा छन्। उनी उद्यमशीलताले आफ्नो आर्थिक पाटो बलियो बनाउँदै समाज र देशको लागि आफ्नो क्षमता अनुसार सहयोग गर्दै देशलाई नै उन्नतिको दिशातर्फ लैजानुपर्छ भन्ने बिचार राख्छन्।


 त्यस्तै पार्टीले निलम अधिकारीलाई रुपन्देही क्षेत्र नं २ (ख) बाट उम्मेदवारीको घोषणा गरेको हो। “बुटवल सक्षम छ अभियान” का अभियानताको रुपमा आफ्नो सामाजिक कार्य अघि बढाएका ३४ बर्षिय निलम अधिकारी स्याङ्जाको सातुपसल गा.वि.स. मा जन्मिएका हुन्। पछील्लो समय “प्लास्टिक मुक्त बुटवल उपमहानगरपालिका” को अभियानले बिस्तारै सार्थकता पाउने उनको आशा छ। प्लास्टिकको झोला प्रयोगमा कम गराउन बैकल्पिक झोला निर्माण तर्फ उनको टिम लागेको छ। खुल्ला पशुु चौपाया मुक्त बुटवल सडक पनि उनको मिहिनेतको क्षेत्र हो।

एक मसाल जुलुसमा नेपाल प्रहरीमा जागिरे उनका बुवालाई भ्यानभित्रै राखेर जलाउने प्रयास गरे पछी आफ्नो बुवा एक महिनासम्म बिरेन्द्र प्रहरी अस्पातलमा अचेत अवस्थामा रहनु परेको दु:खद घटना पश्चात् निलमको राजनीतिलाई हेर्ने दृष्टि र दृष्टिकोण सत प्रतिशत नकारात्मक हुन थाल्यो। मसाल जुलुसको घटना पछी बुवाले जागिर छोडेको र घरमा आफु पनि कमाउनु पर्ने बाध्यताका साथ केही समय पढाई छोडि बुटवलमा अध्यापनतिर लागे।

हाल इन्स्टिच्यूट, होस्टल, पत्रिका र शैक्षिक कन्सल्टेन्सी चलाई रहेका उनलाई बजारले एक सफल ब्यबसायी तथा अति नै महत्वाकांक्षी युवाको रुपमा चिन्ने गरेको छ। राजनीतिमा सक्रिय हुनु अघि उनले पत्रकार सम्मेलन गर्दै २०२० सम्म बीस कम्पनी मार्फत दुई सय जनालाई प्रत्यक्ष र दुई हजार जनालाई अप्रत्यक्ष रोजगार प्रदान गर्ने अति महत्वाकांक्षी उद्धेश्य पेश गरेका थिए।


त्यस्तै बाशुप्रसाद चालिसेलाई  सुनसरी क्षेत्र नं १ (ख)बाट बाट उम्मेदवारीको घोषणा गरेको छ। धरानका चालिसे सुनसरीका अग्रणी भ्रष्टाचार विरोधी अभियानकर्ता हुन्। चिकित्सा क्षेत्रको वेथिति र भ्रष्टाचार विरुद्ध लड्दै आएका डा. गोविन्द केसीको सत्याग्रहलाई सुरुवात देखि नै समर्थन गर्दै आएका चालिसे सुनसरीको ईटहरी, धरान लगायतका बजारमा “आई एम विथ डा. केसी” लेखिएको प्लेकार्ड बोकी सरकारलाई निरन्तर खबरदारी गर्ने एक्ला अभियानकर्ता थिए। उनको निरन्तर खबरदारीले विस्तारै सुनसरीमै अभियानको रुप लियो।

लामो समय नेपाल बैंक लिमिटेडमा कार्यरत चालिसे सबै प्रकारको भ्रष्टाचारको न्यूनीकरण गर्न निरन्तर अभियान संचालन गर्नुपर्ने विश्वास राख्छन्।


साथै पार्टीले जयराम भण्डारीलाई सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उम्मेदवारीको घोषणा गरेको छ।  भण्डारी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका - २ का बासिन्दा हुन्। त्यहाँ उनको ट्राउट माछापालन ब्यबसाय छ। तत्कालिन विवेकशील नेपाली दल मार्फत नविन र पृथक राजनीतिक धारमा बिगत दुई बर्ष अघि देखि आवद्ध भण्डारी “बिकल्प कुर्दै बस्ने होइन, आफैं बनेर देखाउनुपर्छ” भन्नेमा विश्वास गर्छन्। विद्यार्थी कालमा अनेरास्ववियुमा आवद्ध भण्डारीलाई विस्तारै पुरातन राजनीतिक दल र तिनका व्यवहारले निराश तुल्याएको पाईन्छ। यसै वितृष्णाका वीच राजनीतिक संग्लनताबाट पर रही उनले आफ्ना केहि उर्जावान् बर्षहरु रोजगारीको क्रममा कतारमा व्यतित गरे। नेपाल फर्केर आफ्नै व्यवसायलाई सफल ढंगले अघि बढाउँदै गरेका भण्डारी हाम्रै जीवनकालमा राजनीतिको फोहोर सफा गर्न र सम्वृद्ध नेपालको खाका कोर्न सकिनेमा विश्वस्त देखिन्छन्। ४१ बर्षिय भण्डारीले बिबिएससम्मको अध्ययन पुरा गरेका छन्।


त्यस्तै  डा. हेमन्त राज न्यौपानेलाई पार्टीले नवलपरासी क्षेत्र नं १ बाट उम्मेदवारीको घोषणा गरेको छ। वर्दघाट-४ नवलपरासीका ३७ वर्षीय डा. हेमन्त राज न्यौपानेले अल्टर्नेटिभ मेडीसिनमा एम डी गरेका छन्। न्यौपाने विगत १० वर्ष देखि बर्दघाटमा आफ्नै पोलीक्लिनिक “संजीवनी हेल्थ होम” संचालन गरि त्यहाँका जनताहरुलाई स्वास्थ्य सेवा दिनुका साथै १० भन्दा बढीलाई रोजगारी पनि दिएका छन्।


तत्कालिन विवेकशील नेपाली दलको नवलपरासी एकाईका व्यवस्थापिका प्रमुख रहेर काम गरेका न्यौपानेले आफ्नो नेतृत्वमा वर्दघाट, सुस्ता गाउँपालिका तथा भारत अतिक्रमीत भुमी सुस्तामा बाढीपिडितहरुका लागि सार्वजनिक नि: शुल्क मेस संचालन गरेका थिए। साथै, सरावल गाउँपालिका - ६,७ मा राहत वितरणमा सामाजिक संस्था "नेपाली मन" स्थापना गरी सकृय भुमिका निर्वाह गरेका थिए। देशमा विधीको शासन हुनु पर्छ, पारदर्शिता, उत्कृष्टता, समानता, जनता मुखी जिम्मेवार सरकार, उच्च पदस्थ कर्मचारी र नेता हुनु पर्छ भन्ने मान्यता सहित राजनीतिमा आएको उनि बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ