arrow

मतपत्रको छपाई शुक्रबारदेखि नै, अवरोध विना नै निर्वाचन हुनेमा आयोग ढुक्क

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
matpatra1.jpg

काठमाडौं । निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीयस्तरको दुई दिने ‘निर्वाचन सुरक्षा व्यवस्थापन प्रशिक्षण’ कार्यक्रम शुक्रबाटदेखि काठमाडौंमा सुरु गरेको छ । प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोगको पूर्व निर्धारित कार्यक्रमअनुसार समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रको छपाइ कार्य आजैबाट शुरु हुने बताए ।

प्रमुख आयुक्त डा. यादवले व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, राजनीतिक दलको सहमति र सरकारको आग्रहमा दुुवै निर्वाचनलाई एकैसाथ गर्न आयोगले सहमति जनाएको उल्लेख गरे । उनले निर्वाचनको बारेमा अन्योलका कुरा पनि आएका र आयोगमा कुनै अन्योल नरहेको भन्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न हामी प्रतिबद्ध रहेको बताए । निर्वाचन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न गराउन प्रधानमन्त्रीले पटक पटक प्रतिबद्धता जाहेर गरेको प्रसङ्ग उल्लेख गर्दै प्रमुख आयुक्त यादवले सर्वाेच्च अदालतको आदेशको सम्मान गर्दै आयोगले प्राविधिक समिति गठन गरी त्यसले दिएको प्रतिवेदनको आधारमा आयोग अगाडि बढेको बताए । उनले पछिल्लो पटकको सर्वोच्च अदालतको निर्णय आयोगलाई प्राप्त भइनसकेको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्धारित मितिमै निर्वाचन गर्न पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान भई प्रचार प्रसारको काम शुरु भइसकेको बताए । उनले उम्मेदवारहरुलाई आयोगले तोकेको अधिकतम खर्चसीमा भन्दा कम खर्च गर्न आग्रह गर्दै बिना खर्च पनि उम्मेदवारले चुनाव जितेका उदाहरण पेश गरे । पहिलो चरणको उम्मेदवारी मनोनयनका सिलसिलामा राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह गरेको भूमिका ज्यादै सराहनीय रहेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनका समयमा हुन सक्ने लोभ, लालच, डर÷धम्कीजस्ता क्रियाकलाप  रोक्न तथा आचार संहिताको पालना गर्ने विषयमा सुरक्षाकर्मीलाई व्यावसायिक मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिए ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले यो वर्ष निर्वाचन वर्ष भएकाले अहिलेको राष्ट्रिय लक्ष्य भनेको नै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयनका लागि बलियो जग स्थापना गर्नु हो भने । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको क्रममा छिमेकी मुलुकबाट उम्मेदवारले भाडामा सवारी साधन ल्याई प्रयोग गर्ने कार्य पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिनुहुँदै निर्वाचन आयुक्त शाहले भने– ‘‘निर्वाचनका क्रममा कुनै पनि सुरक्षाकर्मीप्रति औंला ठड्याउने अवस्था नआओस्, आ–आफ्नो उच्च व्यावसायिक मर्यादामा रहेर राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस् ।’’ उनले यस निर्वाचनमा दुई लाख ७२ हजार सुरक्षाकर्मी परिचालित हुने जानकारीसमेत दिए ।

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्रशिक्षणमा सिकेका कुराहरु तल्लो तहसम्म पुु¥याएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिए । निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन र सुरक्षा एक अर्काका परिपुरक भएकाले निर्वाचनलाई सफल तुल्याउन सुरक्षा निकायहरुबीच निरन्तर सञ्चार, समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ