arrow

भारत नेपाल र श्रीलंका जोड्ने गरी 'रामायण परिपथ' निर्माण शुरु

जनकपुरधामलाई जोड्ने भारतीय चाहना

logo
अजयकुमार साह 
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
Janakpur.jpg.jpeg

महेन्द्रनगर, धनुषा । नेपाल र भारतबीचको त्रेता युगकालीन सम्बन्धलाई जीवन्तता दिन भारतले नेपाल र श्रीलंका समेतलाई जोड्ने गरी 'रामायण परिपथ'को निर्माण थालेको छ । 

भारतमा स्वदेश दर्शन कार्यक्रमअन्तर्गत केन्द्र सरकारले प्रारम्भ गरेको रामायण परिपथले भारतका १३ ठूला शहरलाई पर्यटकीय दृष्टिले जोड्ने छ । विहार राज्यका तीन शहर सीतामढ़ी, बक्सर र दरभंगाा पनि रामायण परिपथको अंग बन्ने छन् । रामायण परिपथलाई पूर्णता दिन जानकी जन्मभूमि जनकपुरधामलाई पनि जोड्ने भारतीय चाहना छ । भारतले सडक र रेलमार्गबाट रामायण परिपथअन्तर्गत छानिएका शहरलाई जोड्ने बताइएको छ । 

रामायणकालीन वस्तुसमेत रहेको सङ्ग्रहालय, अडियो भिडियो ग्यालरी, रामसीतासँग जोडिएका स्थलको विकासलगायत महत्वपूर्ण कार्य गरिने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउने चर्चाकै बेला घोषणा भएको रामायण परिपथको कार्य भारतको उत्तरप्रदेश राज्यको राम जन्मभूमि अयोध्याबाट प्रारम्भ भइसकेको छ । राम जन्मभूमिमा काम शुरु भइसके पनि जनकपुरधामलाई जोड्ने कार्य अथवा जनकपुरधामको विकासका लागि भारतले महत्वपूर्ण योजना सार्वजनिक गरिसकेको छैन । नेपाल र भारतका विभिन्न धार्मिकस्थल जोड्ने बृहत्तर परिक्रमा सडकको निर्माण, त्यसमा धर्मशालालगायत काम भारतीय योजनामा परे पनि प्रारम्भ हुन सकेको छैन । 

नेपाल भ्रमणका बेला जनकपुरधाम आएका तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बृहत् परिक्रमा सडक र त्यसमा निर्माण हुने दुई धर्मशालाको निर्माण सम्बन्धमा चर्चा गरेका थिए । जनकपुरधाम र अयोध्याबीच भगिनी नगरको सम्झौता दुवै देशले गरिसकेका छन् । जनकपुरधामसमेत जोडिएर निर्माण हुने परिपथले दुवै देशबीच पर्यटकीय विकासमा आमूल परिवर्तन हुने निश्चित छ । कम समयमा हिन्दू धर्मावलम्बी आरामदायी ढंगले राम र जानकीको दर्शन गर्न पाउँदा आनन्दित हुनेछन् । जनकपुरधाममा मनाइने रामजानकी विवाह महोत्सवको महत्व अझ बढ्नेछ । 

नेपालको जनकपुरधाम (प्राचीन मिथिलाको राजधानी) र भारतको अयोध्यालाई जोड्ने परिपथलाई मिथिला कलामा पनि दर्शाइएको छ । बिपी कोइराला नेपाल-भारत प्रतिष्ठान र भारतीय दूतावासले संयुक्त रुपमा केही समयपूर्व जनकपुरमा आयोजना गरेको 'रामायण सर्किट आर्ट वर्कशप' मा कलाकारले कलाका माध्यमबाट परिपथको महत्व झल्काएका थिए । मिथिला कलाको माध्यमले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने विश्वास बढ्दो छ । 

जानकीले रामसँग विवाह गरी अयोध्या जानुभन्दा पूर्वदेखिको सम्बन्धलाई अब परिवर्तित सामाजिक परिवेशमा कलाको माध्यमले पर्यटकीय सम्बन्धलाई जगेर्ना गर्न महत्वपूर्ण हुनेछ । रामको चरण परेको मुख्य शहरमा परिपथको निर्माण हुनेछ । 

जनकपुरधाम र अयोध्यायबीच भगिनी शहरको सम्झौता सरकारीस्तरमा भइसकेको छ । अयोध्या र जनकपुरधाम आपसमा जोडिँदा पर्यटकीयस्तरबाट विकासमा आमूल परिवर्तन देखिने छ । भारतले रामको जन्मथलो अयोध्या र सीताको जन्मथलो जनकपुरधामलाई सडक र रेल मार्ग दुवैले जोड्न चाहेको छ । "मिथिला संस्कृति र कलामा अपार सम्भावना छ । यसलाई पर्यटन उद्योगसित जोडेर अगाडि बढ्न सके विकासको मूल फुट्ने छ " नेपालका साहित्यकार डा राजेन्द्र विमल बताउछन् । 

परिपथ बनेपछि जानकीको जन्म, बाल्यकाल, क्रिडास्थल, फूल टिप्नेस्थल, रामसीताको पहिलो भेट भएको स्थल, धनुषयज्ञस्थल, विवाहमण्डपस्थललगायत थुप्रै स्थानको कायापलट हुनेछ । जनकले हलो जोतेदेखि सीताको विवाहसम्मको महत्वपूर्ण अंश जनकपुरधाममा छ । 

धार्मिक पर्यटकले रामजानकी विवाहसित सम्बद्ध अनेक स्थलको दर्शन गर्न चाहना राख्ने भएकाले यस भेगको विकासमा महत्वपूर्ण परिवर्तन आउने छ । भारत सरकारले परिपथका लागि उत्तर प्रदेशमा पहिलो चरणमा  ७० करोड बजेट विनियोजन गरेको थियो । भारत सरकारले अयोध्यामा परिपथ निर्माणका लागि  २४५ करोड थप गरिसकेको छ । 

नेपाल सरकारले पनि भारतलाई परिपथ निर्माणका क्रममा जनकपुरधामलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउन आग्रह गर्नुपर्छ । अयोध्याबाट काम थालेसँगै जनकपुरधामबाट पनि काम प्रारम्भ गरिनुपर्ने यहाँका बासिन्दाको माग छ । परिपथ निर्माणबाट अयोध्या जाने पर्यटक जनकपुरधाम पनि आउने छन् । रामको दर्शन गर्नेले जानकीको पावन भूमिमा दर्शन पूजाका लागि अनिवार्य रुपमा आउने जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले बताए । पर्यटन प्रवद्र्धनका क्षेत्रमा निरन्तर सक्रिय मिथिला अवध सांस्कृतिक सम्वद्र्धन परिषद्ले जनकपुरधाममा यही कात्तिक १७ र १८ गते जानकी मन्दिरको प्राङ्गणमा जनकपुरधामलाई परिपथ जोड्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गर्ने परिषद्का अध्यक्ष डा गौराङ मिश्रले बताए । 


सीतारामसित जोडिएका स्थललाई भारत सरकारले जोड्ने र त्यससित राज्य सरकारले अन्य स्थान पनि जोडेपछि यो विशाल परिपथ बन्नेछ । नेपाल सरकारले पनि जनकपुरधामको धार्मिक महत्वसित जोडिएका रामायणकालीन स्थानको विकासमा ध्यान दिनु आवश्यक रहेको बुद्धिजीवी बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ