arrow

विद्यालयलाई एक करोडभन्दा बढी सहयोग

स्थानीय बासिन्दाको अन्नबाली बेचेर पनि सहयोग

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
money.jpeg.jpeg

बाबियाचौर, म्याग्दी । बेनी नगरपालिका ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि  एक करोडभन्दा बढी सहयोग जुटेको छ । 

तीस कोठे भवन निर्माण अभियानअन्तर्गत पहिलो चरणमा एक करोड ५० हजार जुटाउन सफल भएको प्रअ रामबहादुर पुनले बताए । पुरानो भवन जीर्ण भएपछि विसं २०७३ वैशाख १ गतेदेखि नयाँ भवन निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका भकिम्लीवासीको पहलमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । 

भवन निर्माणका लागि हङकङबाट १७ लाख, अमेरिकाबाट  १० लाख २५ हजार, स्पेनबाट  १० लाख, साविकको भकिम्ली गाविसबाट दश लाख सहयोग प्राप्त भएको छ । व्यक्तिगत रुपमा समेत दुई हजारदेखि  पाँच लाख सहयोग प्राप्त भएको आर्थिक सहयोग समितिले जनाएको छ । 

स्थानीय बासिन्दाले अन्नबाली बेचेर पनि विद्यालय निर्मार्ण गर्न सहयोग गरेका छन् । भौतिक पूर्वाधारको अभावमा विद्यालयको शैक्षिक गुणस्तरमासमेत असर परेको थियो ।  तीन करोड लागत अनुमान गरिएको सो भवनमा स्थानीयवासीले आफ्नो घरायसी र खेतबारीको कामसमेत छाडेर निरन्तर श्रमदान समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताए। 

भवन निर्माणसँगै उच्च शिक्षाका लागि आवश्यकपर्ने पूर्वाधार विस्तार गरिने उनले बताए । पहिलो चरणमा दश कोठे पहिलो तला भवनको ढलान सकिएको छ । हालसम्म १ करोड ५० लाख खर्च भएको छ । करिब ५० लाख ऋण लिएर भवनको कामलाई तीव्रता दिइएको अध्यक्ष पुनले बताए । उक्त भवनमा प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब, पर्याप्त शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने योजना छ । निर्माणाधिन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट  १९ लाख ५० हजार सहयोग पनि प्राप्त भएको छ । 

कक्षा दशसम्म पठनपाठन हुने उक्त विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ