arrow

सिटौला, चुनावी चर्चा, भ्रम र यथार्थहरु

logo
विशाल चेम्जोङ,
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
Sitaula.jpg.jpeg

झापा। चुनावको चर्चा शुरु भएदेखि नै चर्चामा रहेको झापा ३मा उमेद्वारहरु चुनावी मैदानमा गएपछि झन चर्चामा आउन थालेको छ। निवर्तमान सांसद कृष्ण सिटौला निर्वाचित भएको झापा ३ मा २०७४ को चुनावमा उनको उमेद्वारीको प्रसंगसँगै अनेक चर्चा शुरु भएको थियो। सिटौला चुनाव उठ्छन, सिटौला चुनाव उठ्दैनन। सिटौला समानुपातिकमा बस्छन सिटौला समानुपातिकमा बस्दैनन। 

आफू चुनाव लड्ने बारेमा शुरुदेखि नै उनले धेरैसँग भनेका थिए, आफ्ना कार्यकर्ताहरुलाई सम्झाएका थिए। तर पनि अफवाह फैलिएको थियो, हैन सिटौला चुनाव लड्दै छैनन्। उनी सुरक्षित बन्न चाहन्छन त्यसैले उनी समानुपातिकमा बस्दैछन्। उनले त्यो कुरालाई चिर्न खोजे। हैन म समानुपातिकमा बस्दिन जनतामाझ नै जान्छु। जनतामाझ नै अनुमोदित हुन्छु। उनले वारम्वार यहि कुरा दोहोर्‍याए।  

आफू निर्वाचित भएर आएको क्षेत्रबाट आफ्नो नाम हटेर अर्कै पार्टीसँग समिकरण भएको हल्ला सुन्न अभिसप्त भए। समानुपातिकको ललिपप दिएर पनि अल्मल्याउन खोजियो, सम्झाइयो। तपाइ काँग्रेसको समानुपातिकको एक नम्वरमा । तपाइ पूर्ण रुपमा सुरक्षित हुनुहुन्छ। तपाइ देशभर चुनावी प्रचार प्रसारमा जाने। अब तपाइ एउटा क्षेत्रमा मात्र सिमित भएर बस्ने हैन। सिटौला निकटहरु भन्छन, ' यि र यस्तै कुराले उनलाई सम्झाउन खोजिएको थियो।' जतिवेला देशका सबै पार्टीका नेता आफ्नो क्षेत्र विशेषमा जाने तयारी गर्दै थिए सिटौलालाई क्षेत्र भन्दा माथि भएको सम्झाएर क्षेत्र विमुख गर्ने तयारी थियो। 

पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौलाको झापा ३ राप्रपासँगको तालमेलका नाममा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई दिन भ्याए। यो कुरा सायद सिटौलाले ढीलो गरि थाहा पाए। तर उनले आम मतदाता बीच जान छोडेनन। आफ्ना कुरा राखिरहे। झापा पुगे। काठमाडौंमा भने। राप्रपासँग भएको कुरा सिटौलालाई सम्झाएर वृहत लोकतान्त्रिक एलाएन्स निर्माणमा यो प्रसङगले अप्ठ्यारो बनाउने कुरा बताए।

नभन्दै आफ्नो वचन नफेर्न राप्रपाका अध्यक्ष कमल थापाले काँग्रेस सभापति शेर बहादुर देउवालाई आग्रह गरे। काँग्रेस सभापति एकातिर कमल थापासँग सहकार्य तोड्न सक्ने अवस्थामा थिएनन भने अर्कातिर सिटौलालाई नजरअन्दाज गर्ने अवस्थामा पनि थिएनन्। 

सिटौला उनको ठाउँमा अर्को व्यक्तिलाई नभइ अर्को पार्टीलाई दिने कुरामा जति असहमत हुन्थे त्यो भन्दा धेरै असहमति उनका शुभेच्छुकहरुले जनाए। पार्टी सिटौलालाई छोडेर अन्त जान सक्ने अवस्थामा रहेन। उनले एक नम्वरको समानुपातिक छोडेका थिए। त्यसकारण पनि काँग्रेसले ढीलो अनि अलमल गरि सिटौलालाई नै उमेद्वार बनाउँदै गर्दा उनको ठाउँ हडप्न आएको राप्रपाले नयाँ गठवन्धनतिर ध्यान दिनुपर्‍यो। 

काँग्रेस पूर्व महामन्त्रीलाई मनाउ गरेको प्रयास र पार्टीबाट दवाव दिएर समानुपातिकमा वसाउन गरिएको प्रयास असफल भएपछि राप्रपा भने आफ्ना महामन्त्रीलाई एमालेसँग मिलेर उमेद्वार बनाउन लागिपर्‍यो।

सत्ता र राजनीतिका लागि जे पनि गर्न तयार भनेर आरोप लागेका राजनीतिक दलहरुकै प्रतिनिधि पात्र राप्रपाले आखिर सरकारमा बसेर दोहोरो भूमिका निर्वाह गरेर माओवादीकै तालमा ताल मिलायो। राप्रपाले पनि झापामा मित्रवत प्रतिष्पर्धाको नाममा काँग्रेससँग प्रतिष्पर्धा गर्ने बतायो। अन्य निर्वाचन क्षेत्रमा स्थिति पुरानै रुपमा रहने बतायो। 

यसो गर्दै गर्दा झापाका मतदातामा भने मनस्थिति विभाजित भएको छ। यहि विभाजित मनस्थितिका बीचमा अनेक प्रोपोगण्डा समेत चलिरहेको छ। 

घटनाक्रम विकसित हुँदै जाँदा एमाले र माओवादीले संघिय संसदमा आफ्नो उमेद्वारी उठाउन पाएनन भने प्रदेश सभामा मात्र उमेद्वारी दिए।  राप्रपाले प्रतिनिधि सभामा उमेद्वारी दिएको छ। 

काँग्रेस सिटौलालाई नै उठाउने स्थितिमा पुग्दै गर्दा राप्रपा पनि पछि हट्ने अवस्था थिएन। राप्रपा माओवादी र एमालेसँगै मिलेर भएपनि आफ्नो उमेद्वारलाई बलियो बनाउने रणनीतिमा थियो। गर्‍यो पनि त्यस्तै। 

अहिले काँग्रेस र राप्रपाको मात्र उमेद्वारी भएको अवस्थामा नयाँ नयाँ चलखेल दिनदिनै वाहिर पटाक्षेप भइरहेको छ। राप्रपासँग एलाएन्स गरेका एमाले र माओवादीका केन्द्रीय अध्यक्षले सिटौलालाई फोन गरि बधाई दिएको चर्चा गराइएको छ। 

तालमेल जुन पार्टीले जुन पार्टीसँग गरेपनि मतदान गर्न स्वतन्त्र रहेका मतदाताहरुलाई परिस्थितिजन्य कावुमा राख्न एकपछि अर्को प्रोपोगण्डा गरिएको छ। यो हर्कतले नाफा घाटा कस्लाई हुने भन्दा पनि प्रत्येक घटनाक्रममा सिटौलालाई विवादको केन्द्रमा मुस्ने गृहकार्य अन्तर्गत भएको देखिएको छ। परिणामस्वरुप उनलाई घाटा पार्न सकियोस भन्ने राजनितिक अभिष्ट छ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन तत्कालिन प्रधानमन्त्री तथा काँग्रेस सभापतिको राजनीतिक सल्लाहकारको भूमिकामा सिटौलाले अनेक राजनीतिक संवाद गरेका थिए। सबै राजनीतिक दलसँग र तिनको नेतृत्वसँग उनको राम्रो सम्वन्ध पनि छ। तर त्यसको अर्थ उनले राजनीति मोलमोलाइ गरे भन्ने कुरा उनको राजनीतिसँग परिचित नभएकाहरुले गर्ने कुरा हो उनी निकटहरु बताउँछन्। 

जिल्लाबाट राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने झापाका प्रभावशाली नेताहरुमा पर्छन सिटौला। काँग्रेसका विश्वप्रकाश शर्मा नयाँ आशा हुन। एमालेका अध्यक्ष केपी शर्मा त पार्टीको अध्यक्ष नै हुन। प्रधानमन्त्री भइसकेका उनको अन्तराष्ट्रिय छवी छ। जिल्लाको विकास निर्माणको सन्दर्भमा पनि सिटौला अत्यन्तै भिडेर लागिपरेका हुन्छन। राजनीतिक लाभ होस नहोस विकासका लागि उनको समर्पण अत्यन्तै छ। केपी ओलीसँगै झापा र पूर्वलाई नै नेतृत्व दिन सक्ने नेता सिटौलालाई जिल्लामै रोक्न नहुने आम मतदाताको भावना पाइएको छ। दलीय, जातीय र क्षेत्रीय भावना भन्दा माथी उठेर यो उजागर भएको छ। कम्युनिष्ट पार्टीले समर्थन गरेको उमेद्वार हिजो आफैहरुलाई दमनमा उत्रेको ' मण्डले चरित्र ' को पात्र भएपछि मतदाताहरुले सिटौला जस्ता गणतन्त्रको हिमायती खोज्ने नै भए। सम्भवत यहि मतदातालाई गुमराहमा पार्न अहिले अफवाहको राजनीति गर्न खोजिएको बुझाइ आम झापाका मतदातामा छ। 

राजनीतिक रुपमा सुशिक्षित तथा प्रशिक्षित झापाका मतदाता विवेक पुर्‍याउने नाममा देशकै अव्वल मतदातामा गनिन्छन। राजनीतिक चेतना अत्यन्तै भएको मानिएका मतदाता अहिले अग्रगमन की यथास्थिति भन्दा पनि पर प्रतिगमनतर्फ उन्मुख रहने भन्ने दुईवटा कित्तामा उभिने अवस्थामा पुगेका छन्। सधै राजनीतिक परिवर्तनको पक्षमा उभिएको झापा र झापाका मतदाता, सधै अग्रगमनको पक्षमा उभिएको झापा र झापाका मतदाता यो पटक संसयमा परेको पनि भेटिएन। परिवर्तनको पक्षमा उभिएकालाई दवाउने पक्षमा उभिने की परिवर्तनको नेतृत्व गर्ने पक्षमा उभिने झापाका विवेकी मतदाताले निर्णय गरिसकेको अवस्था छ। 

सायद यहि अवस्थाबाट आत्तिएकाहरुले विभिन्न जामा पहिर्‍याएर मच्चाएको हल्लाबाट भने यतिखेर सिटौला र उनको टीम सतर्क रहनुपर्ने देखिएको छ। उनका शुभेच्छुक र मतदाता पनि त्यसलाई चिर्दै अघी बढ्नु पर्ने देखिएको छ। तालमेल होस वा जे सुकै होस सिटौला जत्तिको नेता जिल्लाबाट निर्वाचित नहुँदा जिल्लाले भोग्नु परेको नियती यसअघी धेरै भोगेका छन्। यो नियती दोहोर्‍याउने पक्षमा स्थानिय मतदाता छैनन। सत्ता होस वा प्रतिपक्षमा सिटौला जत्तिको नेता जिल्लाबाट प्रतिनिधि भइन्जेल उनलाई नै जीताउने पक्षमा मतदाता रहेका छन्। यसका लागि झापाका सचेत नागरिक सबै अफवाह र अवरोध चीर्न तयार देखिएका छन्। सिटौलाको सबैभन्दा ठूलो शक्ति झापाका मतदाताले उनलाई गरेको यहि विश्वास हो। यहि विश्वासको जगमा खरो उत्रन सक्दा उनको विजयलाई प्रतिगमनतर्फको कुनै प्रतिनिधि पात्रले रोक्न सक्नेछैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ