arrow

अब कांग्रेसको पतनलाई कसैले रोक्न सक्दैन् : नेपाल

‘दुई तिहाईको कुरा नगर्नुहोस्, फेरि कांग्रेसलाई हार्ट अट्याक हुन्छ’

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
madhab-nepal-news-aa.jpeg

काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचपछि नेपाली कांग्रेसको हालत प्रजा परिषदजस्तै हुने दाबी गरेका छन् । उनले भने,‘नेपालको राजनीतिक ईतिहाँसमा नेपाली कांग्रेस अहिले पतनको बाटोमा छ, निर्वाचनपछि कांग्रेस प्रजा परिषदजस्तै हुन्छ।’


शनिबार रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा बोल्दै काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभाको लागि एमाले–माओवादीको वाम गठबन्धनका साझा उम्मेद्धवार समेत रहेका नेता नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘कांग्रेस आफ्नै अहंकार, कार्यशैली, नेतृत्वको अक्षमता, अदुरदर्शीता र पूर्वाग्रहीको कारणले नेपालको राजनीतिमा आफैं पतनको बाटोमा गयो, अब कांग्रेसको पतनलाई कसैले रोक्न सक्दैन्, जनता पनि कांग्रेसको पतन नै चाहन्छन्।’

 नेता नेपालले एमाले र माओवादी केन्द्रवीचको चुनावी तालमेल र पार्टी एकताको घोषणाले कांग्रेस  बौलाउन थालेको आरोप लगाए । उनले थपे,‘हाम्रो एकता प्रयास देखेर कांग्रेस बौलाएको छ, अन्यन्तै तल्लो स्तरमा उत्रिएर प्रस्तुत भएको छ, उसका प्रतिक्रियाहरु जथाभावी आएका छन् ।’
कांग्रेसप्रति निकै आक्रोश पोखेका नेता नेपालले भने,‘कांग्रेसको काम नै अरुले गर्ने कुरामा ईष्र्या राख्ने मात्रै भयो, कम्युनिष्टहरु मिलेर अधिनायवाद लाद्न खोजे भनेर हल्ला फिँजाएको कांग्रेसको हालत प्रजा परिषदको जस्तो हुन बेर छैन्, तर कांग्रेस पतन हुन्छ कि भनेर यसको चिन्ता एमालेले गर्दैन्, यो त स्वयम कांग्रेसले गर्ने कुरा हो ।’

उनले कांग्रेस विकासको बाधक भएको आरोप लगाउँदै भने,‘कांग्रेस सामाजिक मुल्य र मान्यतालाई पालना गर्ने कुरामा कमजोर देखिएको छ, राष्ट्रियताको मामलामा अत्यन्तै फितलो बनेको छ । सुशासनको कुरामा त कांग्रेस माईनसमा पुगेको छ, जिरो छ ।’लामो ईतिहास बोकेका, स्थिर र परिवर्तनको पक्षधर पार्टीहरुलाई जनताले अबको चुनावमा जिताउने विश्वास गर्दै नेता नेपाले ३ प्रतिशतको थ्रेस होल्डका कारण दलहरुवीच ध्रुवीकरण बढ्दै गएको स्पष्ट पारे । उनले थपे,‘थ्रेस होल्डका कारण दलहरुलाई एक–अर्काप्रति नजिक हुन प्रेरित गरेको छ, हुन त धु्रवीकरणको निम्ति थ्रेस होल्डले काम गरेको छ, यो त संविधानमै छ नि, कांग्रेस आँफैले बनाएको कानुन हामीले पालना गर्दा किन यसरी बौलाएको होला, अनि हामीले वाम गठबन्धन बनाउँदा नेपाली कांग्रेस अत्तालिनु भनेको लज्जास्पद कुरा हो।’

एमाले र माओवादी केन्द्रवीचको चुनावी तालमेल देखेर कांग्रेसले अत्तालिएर जथाभावी आलोचना गरेको देख्दा कांग्रेसको लोकतान्त्रिक मान्यतामा ठूलो ह्रास र स्खलन आएको उनको आरोप थियो । उनले अघि थपे,‘त्यही पार्टीसँग कांग्रेसले सरकार बनाउँदाखेरि लोकतन्त्रको पक्षमा हुने अनि एमालेसँग गर्दा अलोकतान्त्रिक भयो भन्नु कहाँसम्मको जायज कुरा हो ? जनताले दोहोरो चरित्र भएका पार्टीलाई समाप्त पार्नुपर्छ।’

उनले लोकतन्त्रको सवालमा एमाले उभिएको पार्टी हो भनेर कसैबाट प्रमाणपत्र लिनु नपर्ने समेत जिकिर गरे । उनले थपे,‘धेरै चूनौतिहरुको सामना गर्दै एमाले यहाँसम्म आईपुगेको छ, हाम्रो पार्टीले विभिन्न परिवर्तनको पक्षमा अग्रगामी भूमिका निर्वाह गर्दै आएको कुरा सबैलाई थाहा छ, आजको दिनसम्म पनि मुलुकलाई सकारात्मक दिशामा डोर्याउँदै आईरहेको छ, ०६२/६३ को जनआन्दोलन, राजतन्त्रको उन्मुलनको लागि आन्दोलन गर्ने, र सबै खाले परिवर्तनकारी आन्दोलनमा अग्रगामी भूमिका खेल्ने पार्टी नै एमाले हो।’

मुलुकलाई शान्ति प्रक्रियामा ल्याउनदेखि लिएर माओवादीलई उग्रवादबाट शान्ति प्रक्रियामा ल्याउन समेत एमालेले ठूलो भूमिका खेलेको स्मरण गर्दै नेता नेपालले थपे,‘लोकतान्त्रिक अभ्यासको परिक्षामा माओवादी पास भैसकेको छ, एमालेले ठूलो भूमिका खेलेको छ ।’एमाले र माओवादी केन्द्र मिलेर कम्युनिष्ट शासन ल्याउन खोजे भनेर कांग्रेसका शीर्ष नेताहरुले आरोप लगाएका छन् नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा नेता नेपालले थपे,‘हो, यहाँनिर हामीलाई आश्चर्य लागेको छ, अधिनायवादतर्फ देश जान थाल्यो भनेर भन्नु भनेको आँत्तिनु र प्रचारवाजी गर्नुबाहेक अरु केही होईन्।’

उनले एमाले र माओवादी केन्द्रवीचको चनुावी तालमेल मुलुकलाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको लागि भएको उल्लेख गर्दै भने,‘निष्ठामा हामी अघि बढिरहेका छौं, जे परिणाम आउँछ, त्यो परिणामलाई हामी स्विकार गरेर अघि बढ्छौं, जहाँसम्म कांग्रेसले हामीलाई कम्युनिष्ट शासन ल्याउन खोज्यो भनेर आरोप लगाउने काम गरेको छ, यो उसको दिमागले काम गरेको छैन, अहिले कांग्रेसको काम नै बरबराउनेमात्रै हो, बरबराउनुहुन्छ भने विनाशको लक्षण हो, यो त विनाश काले विपरित बुद्धि हो ।’

उनले आफूहरुको मुख्य एजेण्डा भनेको परिवर्तनको पथमा हिँड्ने, त्यो गतिका साथ काम गर्ने, सुशासनको अनुभुति भन्ने वित्तिकै भ्रष्टाचारप्रति शुन्य सहनशिलता अपनाउने, छिटो–छरितो काम गर्ने तत्परता, सिँगो देशको विकासको भीजनसहितका कार्यक्रम ल्याउने, कार्यक्रमहरुको कार्यान्वयन गर्ने, अनुगमन गर्ने र राम्रो गर्नेलाई पुरुस्कार र गलत गर्नेलाई दण्ड दिने रहेको विश्वास दिलाए ।

नेपाललाई समृद्ध बनाउने आफूहरुको उद्देश्य रहेको उनले सुनाए । त्यस्तै नेपालको स्वाभिमानलाई विश्वसमूदायको सामू उँचो राख्ने कुरामा आफूहरु एक ईन्चपनि दायाँ बायाँ नहुने उनले बताए ।

एमालेको एक्लै बहुमत आउँछ कि आउँदैन ? भनेर सोधिएको अर्को प्रश्नमा उनले भने,‘आउँछ, तर हाम्रो गठबन्धनको बहुमत आएपनि कहाँ पोखियो दुध आफ्नै भागमा, जसको पक्षमा आएपनि बहुमत आउँछ, ढुक्क हुनुहोस्।’ त्यस्तै उनले आफूहरुको गठबन्धनले दुई तिहाई ल्याउने कुरा गर्दा कांग्रेसलाई हार्ट अट्याक हुने बताउँदै भने,‘हामी एमाले र माओवादीवीच चुनावी तालमेल हुँदा नै कांग्रेस नर्भस भैसकेकोछ, झन दुई तिहाईको कुरा गर्दा उसलाई हार्ट अट्याक हुन्छ।’

उनले आफूले काठमाडौं क्षेत्र नम्बर २ का प्रत्येक जनताको दुःखमा साथ दिएको उल्लेख गर्दै भने,‘म यो क्षेत्रका जनताका घरघरमा पुगेको छु, मलामीदेखि जन्तीसम्म केही छोडेको छैन, बर्थडेदेखि लिएर अन्य सामाजिक काममा समेत म पुगेको छु । विकास निर्माणको काममा त म नजाने कुरै भएन, बाटोघाटो र पुल निर्माणसम्पन्न भएका छन, मेरो मेहनत यहाँका जनतालाई सोध्नुहोस्, मेरो काम र विकासप्रतिको लगावका कारण काठमाडौंको २ नम्बर क्षेत्रका जनताले यहीँबाट चुनाव लड्न भन्नुभयो, र म चुनावी मैदानमा छु, यहाँ म दाबाका साथ भन्छु, मैले धेरै काम गरेको छु ।’

उनले आफूले पूराना निर्वाचन क्षेत्र रौतहट छोडेर काठमाडौं नै रोज्नुको कारण दर्शाउँदै थपे,‘यहाँका जनताले अत्यन्तै धेरै ठूलो आग्रह गर्नुभयो, हुन पनि हो, मेरो घर भएको थलो हो यो, यही ठाउँमा मेरा छोराछोरी बस्छन, त्यसैले काठमाडौं नै राजेको हुँ । रौतहटलाई म बिर्सन सक्दिन । सिँगो देश मेरो मनमा छ । मैले रौतहटलाई छोडेर काठमाडौं बस्नुको कारण अब मेरो उमेर पनि हेर्नुहोस्, सबै कुराले मलाई काठमाडौं रोज्न बाध्य बनायो ।’
उनले एमाले र माओवादी केन्द्रवीचको वाम गठबन्धनले छिट्टै पार्टी एकताको स्वरुप ग्रहण गर्ने समेत विश्वास दिलाए । उनले भने,‘हामी एकता गर्दै अघि बढ्नेछौं, अब एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता कसैले पनि रोक्न सक्दैन्।’

त्यस्तै उनले भोलिको प्रधानमन्त्रीको अब को हो त? भनेर सोधिएको प्रश्नमा भने,‘यो कुरा भोलिको दिनमा सल्लाह गरेर भन्छौं, राप्रपा र परिवार दल समेतको सहभागितामा हामी सरकार बनाउँछौं, त्यसैले स्वभाविक रुपमा अनुमान गर्नुहोस्, को प्रधानमन्त्री बन्ने भन्ने कुरा पछि हुन्छ, यो कुबेला हो । अर्को कुरा हामीले त्यसै झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देललाई सहयोग गरेको होईन।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ