हनुमानढोका जाने पर्यटकलाई राज्यबाट नै ठगी !

कहाँ जान्छ पर्यटकबाट उठाएको करोडौं रकम ?

प्रकाशित मिति : २०७४ कार्तिक २४ शुक्रबार , ३,१५३ पटक हेरिएको
तस्वीर : हाम्राकुरा

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा जाने पर्यटकहरु राज्यबाटै ठगिने गरेको भेटिएको छ । भूकम्पले क्षत विक्षत बनेको हनुमान ढोका दरबार क्षेत्रमा अहिले जाने पर्यटकहरुलाई अन्यत्रबाट भन्दापनि नीतिगत रुपमा नै सरकारी संयन्त्रबाटै ठगी हुने गरेको भेटिएको हो । 

अहिले हनुमान ढोका दरबार क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुलाई सार्क मुलुकका नागरिकलाई प्रतिव्यक्ति १ सय ५० रुपैयाँ र सार्क बाहिरका नागरिकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँको दरमा प्रवेश शुल्क उठाईँदै आएको छ । सार्क बाहेकका मुलुकको लागि लिने गरिएको सो शुल्कको ५० प्रतिशत अर्थात् ५ सय रुपैयाँ काठमाडौं महानगरपालिकाले उठाउने गरेको छ भने त्यसपछिको २ सय ५० रुपैयाँ हनुमानढोका दरबार संग्रहालयको खातामा जाने गरेको छ ।

बाँकी रहेको २ सय ५० रुपैयाँ भने सोही क्षेत्रको पुनर्निर्माणको लागि भनेर भूकम्प पछि उठाउन थालिएको हो । भूकम्पपछि पर्यटकहरुलार्इ भित्रको संग्रहालयमा प्रवेश गर्न दिर्इएको छैन । तर, त्यहाँको लागि भनेर प्रतिव्यक्ति २ सय ५० रुपैयाँ अहिले पनि उठार्इँदै आर्इएको छ । यो भन्दा अगाडि संग्रहालय समेत हेरेको ७ सय ५० लाग्ने गरेकोमा अहिले नासल चोकसम्म मात्रै पुगेको १ हजार रुपैयाँ लिने गरिएको छ । जसले गर्दा पर्यटकहरु दैनिक ठगिने गरेका छन्।  

काठमाडौं महानगरपालिकाले उठाउने सो ५ सय रुपैयाँ त्यहाँका मठ मन्दिर, सत्तल र अन्य ऐतिहासिक संरचनासँगै त्यहाँ गरिने जात्रा, उत्सव र विशेष पूजाहरुमा खर्च गर्नको लागि भनेर उठाउने गरिएको छ । तर, अार्थिक वर्ष २०५८-५९ देखि उठाउन थालिएको सो शुल्क पहिलो वर्ष १ करोड ५० लाख उठेको थियो भने हरेक वर्ष साेही हाराहारीमा र केही बढ्दै सबैभन्दा धेरै २०७०-७१ मा १६ करोड १३ लाख रुपैयाँ उठेको थियो । आर्थिक वर्ष २०७३-७४ मा १४ करोड उठेको सो रकम कहाँ कसरी खर्च हुने गरेको छ त ? त्यो तथ्यांक अहिले काठमाडौं महानगरपालिकासँग पनि छैन । महानगरपालिकाले सोही क्षेत्र हेर्नको लागि भनेर सातौं तहको अधिकृतलाई खटाउने गरेको छ । तर, त्यहाँको काम भने पैसा संकलन गर्ने बाहेक केही पनि उपलब्धीपूर्ण भएको पाईँदैन । अहिले उदय पसलख त्यहाँको कार्यक्रम व्यवस्थापकको रुपमा खटाईएका छन् । 

हनुमान ढोका दरबार क्षेत्रमा पुग्दा त्यो विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा हो भन्न नै नसकिने अवस्था छ । छाडा छाडिएका चौपायाहरु निर्वाधरुपमा हिँड्ने त्यो क्षेत्रमा तीब्र गतिमा आएका सवारी साधनहरुले कतिबेला पैदल यात्रीलाई ठक्कर दिने हो पत्तो हुँदैन । तीन तिर प्रवेश गर्ने स्थान तोकेर एक एक जना महानगरप्रहरी खटाईएपनि त्यहाँ भित्र रहेका चुरोट सूर्ती बेच्ने पसलदेखि हस्तकलाका सामग्रीबेच्ने पसलका पसलेहरुसम्मलाई प्रवेश दिँदा पर्याप्त रुपमा मोटरसाईकलको भीड देख्न पाईन्छ । त्यसैमाथि निर्वाच रुपमा आवत जावत गर्ने सुरक्षा निकायको त कार्यालय नै त्यहीँ रहेको छ । 

अर्को तर्फ हनुमान ढोका दरबार क्षेत्रमा सुन्दरता विगार्ने गरी राखिएका इँटाका थुप्राहरुले पनि सम्पदाको सौन्दर्यतालाई गिज्याईरहेका हुन्छन् । यसैपनि भूकम्पले जीर्ण बनेका ती सम्पदाहरुलाई रेट्रोफिटिङको नाममा कुरुप बनाईएको छ । रेट्रोफिटिङ पनि आवश्यकता हो या अनावश्यक के हो रु यो छुट्टै बहसको विषय बन्ला । यहीमाथि पर्यटकहरुलाई झर्को लगाउने र सम्पदालाई कुरुप बनाउने इँटाका थुप्राहरुले अवश्यपनि सम्पदाको सौन्दर्यता बढाएको छैन ।

महानगरपालिकाको कमजोरी 

त्यो क्षेत्रको जिम्मा लिएको महानगरपालिकाले त्यो क्षेत्रको सबै व्यवस्थापन गर्नु पर्ने हो तर महानगरको पनि यस तर्फ ध्यान गएको छैन । महानगरपालिका स्रोतका अनुसार काठमाडौं महानगरपालिकाले २०५८ सालदेखि अहिलेसम्म पनि एकाध बाहेकका मन्दिरहरु पुनर्निर्माण गर्न सकेको छैन । यदि सही व्यवस्थापन गर्ने हो भने त्यहाँ पर्यटकबाट उठाएको रकमले आसपासका सानातिना सबै मन्दिरहरु पुनर्निर्माण गर्न पुग्ने भएपनि त्यो पैसा त्यसै हिनामिना हुने गरेको छ । 

महानगरपालिकाले खोलेको सम्पर्क कार्यालय त्यहाँको क्षेत्रको विकास तर्फ कुनै काम गर्न सकेको देखिँदैन । अहिलेका कार्यक्रम व्यवस्थापक पसलखले सो क्षेत्रको व्यवस्थापनमा आफू चुकेको स्वीकार गरे । उनले अरु विषय चुकेको प्रतिकार गरेपनि त्यहाँ छाडा रुपमा हिँड्ने चौपाया र त्यहाँ अव्यवस्थित रुपमा राखिएका ईँटाहरुको व्यवस्थापन गर्न आफू चुकेको उनले स्वीकार गरे । 

यद्यपि त्यहाँ भित्रका नाङ्लो व्यवसाय र अन्य व्यवसाय रोक्नु भनेको उनीहरुको वर्षाैँदेखिको मौलिक हकको हनन गर्नु हो भन्दै त्यो रोक्न आफूले नमिल्ने बताए । त्यहाँ उठेका सबै  रकमहरु कार्यालयको बैकखातामा सुरक्षित रहेको बताए । 

अहिलेसम्म सो कार्यालयबाट संकलन गरिएको रकम नै १ अर्ब १८ करोड पुगिसकेको छ । तर यही तथ्यांक पनि कार्यालयमा सुरक्षित छैन । अझ खर्चको कुरा गर्दा त झनै बेढंगी रुपमा खर्च गरिएको छ । हरेक एक एक वर्षमा एकाउन्टेन्ट सरुवा हुने भन्दै त्यहाँको रकम कहाँ कसरी खर्च हुन्छ भन्ने कुरा स्वयं कार्यालयका एकाउन्टेन्टलाई पनि थाहा हुन्दैन । जुन रकम गलत काममा खर्च भईरहेको आरोप पनि लाग्ने गरेको छ ।

एक हजार रुपैयाँ तिरेर दर्शन गर्ने पर्यटकले महानगरपालिकाको कमजोरीका कारण यस्तो दृश्य दर्शन गर्छन् ।

नयाँ