arrow

'राइट टु सिन्धुलीगढी' यात्रीले पूरा गरे १५३ किलोमिटर यात्रा

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
Ride_to_sindhuli_Cycling_(9).JPG

काठमाडौं । काठमाडौंबाट ऐतिहासिक सिन्धुलीगढीमा हुने २५० औं विजयोत्सवमा सहभागी जनाउन गएको १ सय ६२ जना सहभागी साइकला यात्रा 'राइड टु सिन्धुलीगढी' भब्य रुपमा सम्पन्न भएको छ। समृद्ध सिन्धुली अभियानको आयोजना र स्टोरी साइकलको संयोजनमा भएको साइकल यात्राको नेतृत्व प्रशिद्ध विश्व साइकल यात्री पुस्कर शाहले गरेका थिए।

तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा कात्तिक २४ गते मनाइने विजयोत्सवमा सहभागी हुन साइकल यात्रीको टोली त्यता गएको थियो। साइकल यात्रीलाई काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरेका थिए। सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल र्‍याली प्रदर्शन गरिएको थियो।

समृद्ध सिन्धुली अभियानले हरेक बर्ष विजयोत्सवका अवसरमा 'राइड टु सिन्धुलीगढी' साइकल यात्रा गर्दै आएको छ। साइकल यात्रीलाई काठमाडौंबाट हिँडेदेखि भक्तपुर, काभ्रेर सिन्धुली जिल्लाका बाटोमा पर्ने भक्तपुर पर्यटन विकास समिति, प्रेस चौतारी, बनेपा नगरपालिका, हिमाल तराई यातायात, धुलिखेल उद्योग बाणिज्य संघ, काभ्रे साइकल एसोसिएसन, नमोबुद्ध नगरपालिका, हनुमान उच्चमावि, सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, जुनार उत्पादक सहकारी संघलगायतले फुलमाला, खाना, खाजा, जुस, पानीलगायत प्रदान गरेर भब्य स्वागत गरेका थिए।

अन्य ठाउँमा पूर्वनिर्धारित भए पनि नेपाली सेनाले भक्तपुरको जगाती, काभ्रेको धुलिखेल, भकुन्डेवेसीलगायतका स्थानमा ऐतिहासिक स्थलमा विजयोत्सव मनाउन जान लागेका यात्रुलाई सरप्राइजका रुपमा भब्य स्वागत गरेको थियो। सिन्धुलीगढीमा मनाइएको विजयोत्सवमा साइकल यात्रा आयोजना गरेर सिन्धुली गढीको प्रबर्धन गर्न सघाएकामा समृद्ध सिन्धुली अभियानलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरिन्। उक्त सम्मान अभियानका संयोजक लीलानाथ घिमिरेले ग्रहण गरेका थिए। 

बिजयोत्सवका बेला सिन्धुलीगढीलाई राजधानीसँग जोड्न साइकल यात्रा गर्न थालिएको 'राइड टु सिन्धुलीगढी'का संयोजक सौरभ ढकालले बताए । सिन्धुलीगढीलाई विश्वसामु चिनाउन साइकल यात्रा आयोजना गरिएको बताउँदै उनले हरेक बर्ष गरिने साइकल यात्रालाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रयास गरेको जानकारी दिए । उनले आगामी बर्ष हुने साइकल विश्व भरबाट बढीभन्दा बढी साइकल यात्रीलाई सहभागी गराउन पहल गर्ने जानकारी दिए । यस बर्ष जापान, अमेरिकालगायतका मुलुकका साइकल यात्रीसमेत सहभागी थिए। यात्रामा १२ बर्षका अमेरिकी किशोर सि न्युमान सबैको आकर्षण बनेक थिए । उनले अरुयात्रीसँग प्रतिस्पर्धा गर्दै १५३ किलोमिटर लामो यात्रा सजिलै तय गरेका थिए । पहिलो पटक यस बर्ष ११ जना महिला साइकल यात्रीसमेत सहभागी भएका थिए।

सुनकोशीको तिरैतिर भएर जाने बनेपा–सिन्धुली–बर्दिबास सडकमा साइकलयात्रा निकै रोमाञ्चक भएको यात्रीले बताएका छन् । सुनकोशी तिरैतिरको रमणीय दृष्य हेर्दै नागबेली सडकमा यात्रा गर्नुको आनन्द बेग्लै भएको साइकल यात्री देवेन्द्र बस्नेतले बताए । साइकल यात्रीको नेतृत्व गरेका विश्व साइकल यात्री पुस्कर शाहले यात्राभर गीत गाएर, नाचेर यात्रीलाई मनोरंजन प्रदान गरेका थिए।

यस बर्ष साइकल यात्रीलाई विजयोत्समा सहभागी गराएर सिन्धुलमाढी झरिएको थियो । त्यहाँ उद्योग बाणिज्य संघले बिजयोत्सव सांगितिक साँझको आयोजना गरेको थियो । त्यस कार्यक्रममा प्रगतिशिल प्रतिभा केन्द्रका ५५ भन्दा बढी कलाकारले स्थानीय विभिन्न जातजातीका गीत, नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रममा सवै साइकल यात्री झुमेका थिए। दुई दिनको साइकल यात्राले थाकेका यात्रीलाई साङ्गीतिक मनोरञ्जनसँगै खानपिनको आनन्द लिने ब्यवस्था त्यहाँ गरिएको थियो।

साइकल यात्रुको सुविधाका लागि आयोजकले खाने, बस्ने, बीमा, एम्बुलेन्ससहितको मेडिकल टिम, स्वयंसेवकहरु, साइकल मेकानिक्सहरुको ब्यवस्था गरेको थियो । साइकल यात्रीले सिन्धुलीमाढीमा रक्तमाला मन्दिर र स्थानीय कलाकार विश्वम्भर लामिछानेले जर्वुट्टाबाट बनाएको कलाकृतिहरुको संग्रहालय अबलोकन गरेका थिए।

त्यसपछि उनीहरुलाई साइकल प्याक गरेर बसमा काठमाडौं फर्किएका थिए। उनीहरुले सिन्धुलीगढीसम्मको यात्रा अत्यन्तै रोमान्चक भएको बताउँदै यात्रा सफलतापूर्वक सम्पन्न गरेकामा आभार प्रकट गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ