arrow

निधिले जित्ने देखेपछि हतास भए महतो

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
nidhi-mahato.png

जनकपुरधाम । राजपा नेता राजेन्द्र महतो गृहजिल्ला सर्लाही छाडेर यसपटक नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिविरुद्ध चुनाव लड्न धनुषा ३ पुगेको घटनाले राष्ट्रियस्तरमा चर्चा पाएको छ । पटक पटक मन्त्री हुँदा पनि आफ्नो निर्वाचन क्षेत्र सुरक्षित बनाउन नसकेका महतो जति जति क्षेत्र नम्बर ३ का गाउँ घुम्न थाले, त्यतित्यति निरास र हतास देखिन थालेका छन् ।

कांग्रेस नेता निधिकै पहलमा जटही–जनकपुर–ढल्केवर सडक ६ लेन फराकिलो बन्दै गरेको जब देखे, तब महतोको होसहवास उड्न थालेको हो । यो सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सडक निर्माण हुनुभन्दा अघि कठ्ठाको दुई लाख मूल्य नजाने जग्गा यतिबेला कठ्ठाको २० लाखमा किन्न मान्छेहरूले तँछाड मछाड गरिरहेका छन् । जयनगरदेखि बर्दिवाससम्मको रेलमार्ग र जनकपुर परिक्रमा सडक निर्माण अन्तिम चरणमा पुगेको देखेपछि महतो अत्तालिएका छन् । क्षेत्र नम्बर ३ अन्तर्गतका सबै वडाहरूका मुख्य सडकहरू पिच भइसकेको र भित्री सडकहरू ढलान भइसकेका छन् ।

यसबाहेक क्षेत्र नम्बर ३ मा विभिन्न ४० वटा विकास आयोजनाको टेन्डर स्वीकृति भई काम सुरु हुने चरणमा रहेको, जनकपुर विमानस्थलको टर्मिनल भवन धमाधम बनाउन सुरु भएको महतोले नदेख्ने कुरै भएन । राजर्षी जनक विश्वविद्यालयको विधेयक निधिकै पहलमा निर्माण तथा पारित भएको हो भन्ने पनि महतोले थाहा नपाउने प्रश्नै भएन । निधि जति अवधि मन्त्री भएका थिए, त्यति अवधि मन्त्री भएका महतोले आफ्नो गृहक्षेत्र सर्लाहीमा भने विकास निर्माणको नाममा एक इन्च सडकसमेत विस्तार गरेका छैनन् । यो कुरामा जनकपुरका जनता अनभिज्ञ हुने कुरै भएन ।

गत स्थानीय तहको निर्वाचन परिणामअनुसार यस क्षेत्रमा नेपाली कांग्रेस एक्लैको मत १९ हजार आठ सय छ भने राजपा र संघीय समाजवादी फोरमको मत जोड्दा जम्मा १३ हजार दुई सय ५३ पुग्छ । तीन पुस्तादेखि त्यही क्षेत्रमा राजनीति गरिरहेका निधि जस्तो हेभीवेट चुनाव प्रचारमा उत्रना साथ स्थानीय चुनावको भन्दा दुई–चार हजार मत बढ्ने सहजै अनुमान स्थानीयले लगाएका छन् । निधि जनकपुर पुग्नासाथ अन्य पार्टी छाडेर कांग्रेस प्रवेश गर्नेहरूको संख्या दैनिक पाँच सयदेखि एक हजार देखिएको छ । गत शनिबार मात्रै तत्कालीन सद्भावना पार्टीका जिल्ला उपाध्यक्ष जगदीश महासेठ सयौं कार्यकर्तासहित नेपाली कांग्रेस प्रवेश गरेका थिए । गत आइतबार पनि एमले किसान संघका जिल्ला सदस्य एवं नगराइन गाविसका पूर्वअध्यक्ष श्यामसुन्दर चौधरी सयौं कार्यकर्तासहित नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस पार्टीको ‘सेकेन्ड म्यान’ को रूपमा रहेका निधि आगामी पाँच वर्षको अवधिमा कुनै पनि बेला प्रधानमन्त्री बन्ने सम्भावना बोकेका नेता भएकाले जनकपुर क्षेत्रका बुद्धिजीवीहरू निकै आशावादी छन् । मधेसी समुदायबाट प्रधानमन्त्री बन्ने सम्भावना बोकेका नेता निधिलाई जसरी पनि चुनाव जिताउनुपर्ने सेन्टिमेन्ट बढ्दै गएपछि प्रतिस्पर्धी महतो साँच्चिकै आत्तिएका छन् । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा सप्तरीको तिलाठीमा भएको गोलीकाण्डलाई निधिविरुद्ध एक मात्र हतियारका रूपमा प्रयोग गर्न सकिने निष्कर्षमा महतो पुगेको उनको निकटस्थहरूको भनाइ छ ।

 तर सप्तरीको तिलाठीमै यो घटना मुद्दा बन्न सकेको छैन । एमालेको टोपी लगाएको पहाडिया लडाकु जत्था र धोती लगाएको मधेसीको लडाकु जत्थालाई आपसमा भिडाएर मधेसमा साम्प्रदायिक सद्भाव समाप्त पार्ने षड्यन्त्रमा त्यतिबेला एमाले र मधेसी दल दुवै गोटी बनेका थिए । यो षड्यन्त्र निस्तेज पार्न निधि सफल भए पनि प्रहरीको लापरबाहीका कारण तीनजनाको ज्यान गयो । त्यतिबेला प्रहरी प्रशासन आईजीपी विवादमा फँसेका कारण पनि यो अप्रिय घटना भएको थियो । घटनालगत्तै तत्कालीन गृहमन्त्री निधि तिलाठी पुगे र मृतकलाई सहिद घोषणा गर्दै क्षतिपूर्ति दिए । नेपालको इतिहासमै मृतकलाई यति छिटो क्षतिपूर्तिसहित सहिद घोषणा गरिएको पहिलो घटना हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ