arrow

पर्साको चारवटै निर्वाचन क्षेत्रमा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

logo
वीरेन्द्र कर्ण,
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
parsha_district_map.png

वीरगञ्ज । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । नेपाली काँग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनका उम्मेदवारमात्र नभएर स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा उत्रिए पनि त्रिपक्षीय उम्मेदवारको भिडन्त नै अहिलेसम्म चासो र चर्चाको विषय बनेको हो । चार वटै निर्वाचन क्षेत्रमा काँग्रेस, फोरम–राजपा गठबन्धन र एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

पर्सामा चार वटै निर्वाचन क्षेत्रमा ६४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयकका अनुसार पर्सा क्षेत्र नं २२ जना, क्षेत्र नं २ मा १५ जना, क्षेत्र नं ३ मा १४ र क्षेत्र नं ४ मा १३ जनाको उम्मेदवारी परेको छ । 

विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा पाँच वटा क्षेत्रमध्ये तीन सिट जितेर जिल्लामा पहिलो दल बनेका नेकपा (एमाले) स्थानीय तहमा कमजोर देखिए पनि यसपटक माओवादीको गठबन्धनले एमालेको पकड राम्रो देखिएको चर्चा छ । सो निर्वाचनमा दुई सिट हात पारेका काँग्रेसले यसपटक साख जोगाउन राम्रै कसरत गरेको छ । स्थानीय तहको निर्वाचनमा राम्रो स्थान प्राप्त गरेको फोरमले यसपटक राजपासँग चुनावी तालमेल गरेकाले उस्को पनि बलियो स्थिति देखिन्छ । पर्सा निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट निवर्तमान सांसद अनिल रुंगटाको उम्मेदवारीसंगै वाम गठबन्धनबाट एमालेका निवर्तमान सांसद विचारी यादव र मधेशी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादव छन् । 

दोस्रो संविधानसभाको निर्वाचनमा विचारी यादव एमालेबाट पर्सा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए भने अर्का उम्मेदवार प्रदीप यादव मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरी चर्चा बटुलेका उम्मेदवार छन् । पर्सा क्षेत्र नं १ मा ११ स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी परेको छ । राजपा फोरम गठबन्धनका उम्मेदवारलाई चुनौती दिन राजपाका महासचिव महम्म कदमरसुल नेपाल संघीय समाजवादी पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् । 

पर्सा क्षेत्र नं २ मा नेपाली काँग्रेसका तर्फबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजयकुमार चौरसियासंगै वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महम्मसलिम मंसुर राजपा र फोरम गठबन्धनबाट विमल श्रीवास्तवको पनि उम्मेदवारी परेको छ । यहाँ एक महिलासहित १५ जनाको उम्मेदवारी परेको छ । 

पर्सा क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका पूर्व जिल्लासभापतिसमेत रहनुभएका सुरेन्द्रप्रसाद चौधरी, वाम गठन्धनबाट राजकुमार गुप्ता र मधेशीवादी दलबाट फोरम नेपालका हरिनारायण रौनियारको उम्मेदवारी परेको छ । करिब आठ महिनाअगाडि नेपाली काँग्रेसबाट फोरम नेपालमा प्रवेश गर्नुभएका रौनियारको उम्मेदवारीले पनि क्षेत्र नं ३ निर्वाचन रोचक हुने भएको हो । सात स्वतन्त्रसहित १४ जना उम्मेदवार रहेको क्षेत्र नं ३ मा उम्मेदवारहरू बीच रोचक भिडन्त हुने मतदाताले आंकलन गरे पनि नेपाल संघीय समाजवादीका राजकुमार यादवको उम्मेदवारीले अन्य दलका उम्मेदवारलाई सकस भएको छ । सो क्षेत्रमा पोखरिया नगरपालिकाको प्रमुखमा संघीय समाजवादीले नेतृत्व लिएकाले अन्य दलका उम्मेदवारलाई फलामको च्यूरा चपाउनुपर्ने स्थिति रहेको मतदाता शेषमन पंण्डितको भनाइ छ । 

अन्य क्षेत्रभन्दा पर्सा क्षेत्र नं ४ ठूला उम्मेदवारको भिडन्त नै विषेश चर्चामा छ । यो क्षेत्रमा प्रभावसाली नेताहरू नेपाली काँग्रेसका रमेश रिजाल, वाम गठबन्धनबाट नेकपा माओवादीकी उर्मिला अर्याल, फोरम नेपाल र राजपा गठबन्धनबाट राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भिड्दै छन् । यो क्षेत्रमा उर्मिला अर्यालकै पुरानो प्रतिस्पर्धी नेपाली काँग्रेसका रमेश रिजाल छन् । दोस्रो संविधानसभाको निर्वाचनमा एमाले उम्मेदवार जयप्रकाश थारूसँग अर्याल पराजित हुनुभए पनि अहिले गठबन्धनको उम्मेदवार भएकाले उनको अवस्था पनि राम्रो रहेको चर्चा छ । राजपा नेपालका सहअध्यक्ष कर्ण समानुपातिकबाट दुईपटक सभासद् भइसके पनि यसपटक प्रत्यक्षबाट उम्मेदवारी दिएकाले उनका लागि यो निर्वाचन अग्निपरीक्षाजस्तो भएको छ। 

जिल्लामा चारवटा निर्वाचन क्षेत्रमा दुई लाख ९९ हजार ५४ जना मतदाता छन् । जसमध्ये महिला मतदाता एक लाख २४ हजार ४०९ र तेस्रोलिङ्गी १६ जना छन् । पर्सा, बारा र रौतहटमा ३२४ मतदानस्थल र ५२४ मतदान केन्द्र अति संवेदनशील मानिएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रदेश नं २ का पर्सा, बारा र रौतहटमा ३२४ मतदान केन्द्र र ५२४ मतदानस्थल अतिसंवेदनशील रहेको वीरगञ्जस्थित संघीय इकाई प्रहरी कार्यालय जनाएको छ । 

प्राप्त जानकारीअनुसार पर्सा जिल्लामा रहेको १६७ मतदानस्थलमध्ये ७६ मतदानस्थल अति संवेदनशील, ६९ मतदानस्थल संवेदनशील र १५ वटा मतदानस्थल सामान्य मानिएको छ भने ५५१ मतदान केन्द्रमध्ये १५६ मतदान केन्द्र अतिसंवेदनशील १५५ मतदानस्थल संवेदनशील र ४० मतदानस्थल सामान्य मानिएका छन् । यसैगरी बारा जिल्लामा रहेको ३०३ मतदानस्थलमध्ये १२१ मतदानस्थल अतिसंवेदनशील ९७ मतदानस्थल संवेदनशील र ८५ मतदानस्थल सामान्य छ । 

त्यसैगरी रौतहट जिल्लामा रहेको २७७ मतदानस्थलमध्ये १२७ अतिसंवेदनशील, ६९ संवेदनशील र ८१ वटा मतदानस्थल सामान्य छ भने ४४९ मतदान केन्द्रमध्ये १२९ मतदान केन्द्र अतिसंवेदनशील, ११० संवेदनशील र २१० सामान्य मतदानस्थल रहेको बताइएको छ । निर्वाचनमा थप सुरक्षाका लागि पर्सामा एक हजार ८१६, बारामा दुई हजार ५४७ र रौतहतमा दुई हजार ६१० म्यादी प्रहरी भर्ना गरिएको छ । यो संवेदनशील क्षेत्र हालै सम्पन्न स्थानीय तहको निर्वाचनकै समय भएकाले यसमा पुनरावलोकन हुन सक्ने प्रहरीले जनाएको छ । 

यसैबीच आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै संघीय प्रहरी कार्यालयले भारतसँग सीमा जोडिएका पर्सा, बारा, रौतहटलगायत जिल्लामा कडाइ गरेको छ । भारतसँग पर्सा, बारा र रौतहट जिल्लाका झण्डै दुई दर्जन सीमा नाका तथा चेकपोष्टमा सुरक्षा चुनौती देखिएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । सीमा नाकाबाट हुन सक्ने साना हतियारको अवैध औसारपसार, भारतबाट आपराधिक व्यक्तिको घुसपैठप्रति सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई सजक बनाई उच्च सुरक्षा व्यवस्था मिलाइएको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सूर्यप्रसाद उपाध्यायले बताए। 

भयरहित तथा शान्तिपूर्ण रूपमा निर्वाचन गराउने सन्धर्भमा र वरिष्ठ प्रहरी उपरीक्षक उपाध्यायले आपराधिक क्रियाकलापले चुनावलाई असर पार्ने भएकाले नेपाल र भारत सीमा नाकामा कडाइ गरिएको बताए । सीमा नाकामा अन्य सुरक्षाकर्मीबाहेक नेपाल प्रहरीको विषेश ब्यूरोका प्रहरी तैनाथ गरिएको र निर्वाचनको समयमा सीमा क्षेत्रबाट हातहतियार, आपराधिक गिरोह प्रवेश गर्न सक्ने भएकाले यसतर्फ उच्च सतर्कता अपनाई सीमा नाकामा कडाइ गरिएको उनले उल्लेख गरे । सुरक्षाकर्मीले निर्वाचनको बेला चुनाव विरोधी गतिविधि गर्ने समूहमाथि विशेष निगरानी बढाएको छ । निर्वाचनलाई भयरहित वातारणमा सम्पन्न गराउन विभिन्न व्यक्तिसँग भएको वैध हकितयारसमेत संकलन गर्ने कार्यलाई तीव्रता दिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ