arrow

यी हुन् प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनेका खेलकुदकर्मी

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार

काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धाका लागि खेलकुद पदाधिकारी, ओलम्पियन र खेलाडीसम्मका व्यक्तित्वले उम्मेदवारी दिएका छन् ।

खेलकुद क्षेत्रबाट प्रतिनिधिसभाको चुनावमा उठ्ने मध्येका एक हुन् युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसी । उनी काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार हुन् । 

विसं २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएको सन्दर्भले निकै चर्चा बटुलेको थियो । अहिले केसीको प्रतिस्पर्धी वाम गठबन्धनबाट माओवादी केन्द्रका हितमान शाक्य हुन् । 

“राष्ट्र निर्माण र खेलकुद क्षेत्रको विकासका लागि सदैव समर्पित भएर लाग्छु,” उनले भने ।

त्यस्तै, नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभाको उम्मेदवार हुन् । 

विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका श्रेष्ठले पार्टीभित्र वडा, नगर, इलाका, जिल्ला र उपत्यका कमिटीको नेतृत्व सम्हाल्नुका साथै विसं २०५३ र २०६३ गरी दुईपटक राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य–सचिवमा नियुक्त भएका थिए ।

उक्त क्षेत्रमा उनको मुख्य प्रतिस्पर्धि काँग्रेस नेता नवीन्द्रराज जोशी छन् । 

राष्ट्रिय खेलकुद परिषद् राखेपका कोषाध्यक्ष सुरेन्द्र हमाल काँग्रेसको तर्फबाट बाँके क्षेत्र नं २ को प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका छन् । 

विसं २०३५ देखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका हमाल विसं २०४९ को स्थानीय निर्वाचनमा नेपालगन्ज नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएका थिए । 

सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा सम्पन्न ओलम्पिकको २३औँ संस्करणमा हमालले नेपालका तर्फबाट सहभागिता जनाएका थिए ।

त्यसैगरी, सन् १९८३ मा सिरियामा भएको एशियन भारोत्तोलन च्याम्पियनसिपमा उनले नेपाललाई काँस्य पदक दिलाएका थिए । 

हमालले दक्षिण एशियाली खेलकुद सागको पहिलो र दोस्रो संस्करणमा रजतपदकसमेत हात पारेका थिए ।

“खेल क्षेत्र बुझेको व्यक्तिले नै खेल र खेलाडीका लागि केही गर्न सक्छ भन्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ,” उनले भने ।

हमालले मुलुकलाई चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकुद भएकाले पनि यसको स्तरोन्नतिमा आफू सदैव लागिरहने प्रतिबद्वता व्यक्त गरे । 

हमालको चुनावी प्रतिस्पर्धी एमालेका विजयकुमार गुप्ता, संघीय फोरमका दुर्गेसकुमार वैश्य र राष्ट्रिय जनता पार्टीका कैलाशकुमार मिश्र हुन् । 

काँग्रेसले काठमाडौँ क्षेत्र नं ९ प्रदेशसभा (क) बाट अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्द्रमान तुलाधरलाई उम्मेदवार बनाएको छ ।

तुलाधर सबैभन्दा पुरानो क्लब ‘ए’ डिभिजनमा रहेको संकटा क्लबको अध्यक्षका साथै तेक्वान्दो खेलको प्रशिक्षकसमेत हुन् । 

तुलाधरले खेलकुदको विकासमा आफ्नो ध्यान केन्द्रित रहने बताए ।

उनले खेलकै कारणले आफू राजनीतिमा लागेको भन्दै भौतिक पूर्वधारको कमी रहेकाले यसको निर्माणतर्फ विशेष ध्यान दिने बताए । 

तुलाधरको मुख्य प्रतिस्पर्धा वाम गठबन्धनका उम्मेदवार अजयक्रान्ति शाक्यसँग हुने अनुमान गरिएको छ ।

राष्ट्रिय खेलकूद परिषद् राखेपका पूर्वसदस्यसचिव केशव स्थापित वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ६ प्रदेशसभा क) को उम्मेदवार हुन् । 

स्थापित विसं २०५१ मा राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवसमेत रहिसकेका छन् । उनी काठमाडौँ महानगरपालिकाको पूर्वप्रमुख पनि हुन् । 

“राष्ट्र निर्माणका साथै खेल क्षेत्रको विकास गर्ने ठूलो सपना छ,” उनले भने ।

नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष टंक आङबुहाङ ताप्लेजुङ प्रदेशसभा ‘ख’बाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । उनी यसअघि सम्पन्न दुवै संविधानसभा चुनावमा ताप्लेजुङबाट पराजित भएका थिए ।

त्यसैगरी, एन्फाका पूर्वमहासचिव कुमारजंग थापा काँग्रेसबाट सुनसरी क्षेत्र नं ३ को प्रदेशसभा (क) बाट उम्मेदवार छन् भने एन्फाकै केन्द्रीय सदस्य महमद समिउल्लाह बारा क्षेत्र नं ३ प्रदेशसभा (ख) मा एमालेका उम्मेदवार हुन् । 

यस्तै, एन्फा उपाध्यक्ष किशोर राई सुनसरी क्षेत्र नं १ प्रदेशसभा (क) बाट काँग्रेसका तर्फबाट चुनावी मैदानमा छन् । 

यसैगरी, काँग्रेसले ललितपुर क्षेत्र नं १ प्रदेशसभा (ख)बाट कराँतेका मीनकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ भने नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह काँग्रेसको तर्फबाट जाजरकोटमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी बनेका छन् । उनको प्रतिस्पर्धी माओवादी केन्द्रका नेता शक्ति बस्नेत छन् । 

यस्तै, नेपाल भलिबल संघका पूर्वकोषाध्यक्ष बुद्धि कटुवाल सुनसरी क्षेत्र नं १ प्रदेशसभा (ख)बाट काँग्रेसको उम्मेदवार हुन् । नेपाल क्रिकेट संघ क्यानका पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइराला वाम गठबन्धनका तर्फबाट कास्की क्षेत्र नं १ मा प्रदेशसभा (क) मा उम्मेदवार हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ