arrow

माओवादी नै चुनावविरुद्ध, बम आक्रमणमा ‘विप्लव’ र सरकारको नाउ बेच्दै 

पुरानै छद्मभेष

logo
व्यूराे,
प्रकाशित २०७४ मंसिर २ शनिबार
CPN-maoist.jpg.jpeg

काठमाडौं । चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै विभिन्न जिल्लाबाट सय बढी पक्राउ परेका छन् । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले विभिन्न जिल्लाबाट सय बढी प्रक्राउ परेका जानकारी दिए । 

पक्राउ परेका अधिकांश निर्वाचन विथोल्नो घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ता छन् । श्रृंखलावद्ध र योजनावद्ध विद्युतीय धराप थाप्ने र विष्फोटक प्रहार गर्ने घटनाक्रमले शंका उब्जाएको बताइँदै छ । 

सत्तामै रहेको माओवादी केन्द्रले विपक्षी एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई विनाविभागीय बनाइदिएका छन् । 

जानकारहरुले भनेका छन्, ‘माओवादीले विपक्षीसँग घाँटी जोडेपछि नैतिकताले बाहिरिनु पर्ने थियो । तर, गृह, परराष्ट्र र उर्जा जस्ता महत्वपूर्ण मन्त्रालय आफ्नै भागमा रहेकाले माओवादी सरकारबाट बाहिरिएन । प्रधानमन्त्री देउवाले माओवादी मन्त्री हटाएनन् । तर, माओवादीको भूमिका शंकास्पद लागेपछि विना विभागीय बनाइदिए । गृहसहित माओवादीका सबै मन्त्रीहरुलाई विना विभागीय छन् ।’

सरकारमा बसेर चुनाव प्रभावित पार्न सकिने योजना उनीहरुको रहेको बताइन्छ । स्रोतले भनेको छ, ‘स्थानीय तहको रणनीतिक अनुभव प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रयोग गर्ने योजना थियो ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहालको चुनावी भविष्य संकटमा पर्ने देखिएर अनेकौँ योजनाहरु बनाइएको बताइन्छ ।
एमालेसँगको गठबन्धनले पनि आफुहरु सुरक्षित नभएपछि माओवादी केन्द्रका विभिन्न तहका नेताहरु नै चुनाव विरोधी गतिविधिलाई मलजल गरिरहेका छन् । कम्यनिष्ट नेताहरु प्रहरी विरुद्ध नै उत्रिएका छन् । 

शनिबार मात्रै एमाले अध्यक्ष केपी अाेलीले अबको दुईमहिनाभित्र वामपन्थीको बहुमतको सरकार बन्दैछ भन्ने हेक्का राखेर काम गर्न प्रहरीलाई चेतावनी दिए । गृहजिल्लामा अाेलीले यस्ताे चेतावनी दिएका हुन् ।

यस्तै, ओवादीले धोविघाट एलाइन्सबाट पछि हटेको छैन, स्रोतले भन्यो, ‘धोविघाट एलाइन्समा प्रचण्डविरुद्ध खनिनेहरु पनि अहिलेसँगसँगै छन् । उनीहरुको कब्जाको रणनीति बाँकी नै छ । यो पुष्टी गर्न धेरै टाढा जानु पर्दैन । चुनावी तालमेलसहित पार्टी एकतासम्मको खाका सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित डा. बाबुराम भट्टराई पछि त्यो गठबन्धनमा अटाएनन् । बाबुरामलाई सत्तारोण गर्न लगाउँदा अल्पमतमा परेका प्रचण्डसँग फेरि पनि धोका हुने डरले बाबुराम त्यो गठबन्धनमा अटाएनन् ।

कारण आफु र आफ्ना वरपरकाहरुको चुनावी भविष्यको ठूलो भय प्रचण्डलाई थियो ।’ अहिले पनि छ । माओवादी नेताहरुलाई हार्ने ठूलो डर छ, सत्तामा बस्दा रातारात केही गर्न केही गर्न सकिन्छ भन्ने कुरा भरतपुर घटना र रोल्पामा काँग्रेस नगरसभापतिलाई नै किनेर उम्मेदवारलाई प्रचार गर्नै नदिएको घटनाले चरित्र उदाङ्गो भएको स्रोतले बतायो ।  

नेत्रविक्रम समूहले सबैलाई सजिलो गरिदिएको छ, स्रोतले अगाडि भन्यो, ‘नाम नेत्रविक्रमको बेच्न सजिलो भएको छ । प्रहरी प्रशासनको रणनीति चुहाइएको छ । नभए गृहमन्त्री भएका जनार्दन शर्माबाटै किन सुरुवात हुन्थ्यो । कम्युनिष्ट गठबन्धनका नेताको बोलाई र घटनाक्रमको बगाइ एउटै छ ।’ गठन्धनका नेताले सरकारको संरक्षणमा विपक्षीहरुलाई टार्गेट गरेर आक्रमण भइरहेको भन्ने अभिव्यक्ति दिनासाथ सत्ताधारी दलका ठूला नेतालाई टार्गेट गरिएको छ । 

जनार्दन शर्माबाट सुरु भएको बम आक्रमण रामचन्द्र पौडेलसम्म पुगको छ ।  निर्वाचन विरोधी समूहले रोल्पामा निवर्तमान सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका रोल्पा प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुन, प्रदेशसभा उम्मेदवार कुलप्रसाद केसी, भोजपुरमा एमालेका प्रदेशसभा उम्मेदवार शेरधन राई, गोरखामा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठ, नुवाकोटमा काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार  रामशरण महत र तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका उम्मेदवामाथि आक्रमण गरेको छ । 

पूर्वप्रहरी अधिकारीहरुले नेत्रविक्र चन्द समूहमात्रै यसमा संलग्न नरहेको बताएका छन् । उनले यही संलग्न छ भन्ने कुरा किटेर भने, भनेनन् । घटनाक्रमको प्रकृति हेर्दा चुनावमा फाइदा नहुने शक्तिकै आडमा यस्तो हुन गएको उनीहरुको अड्कल छ । पूर्वप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले यसमा बाहिर हेर्दा विप्लव समूह देखिएपनि भित्र योसँग अरु पनि जोडिएको हुनसक्ने बताएका छन् । उनले सुरक्षा रणनीति र योजनामा कमजोरी महसुस भएको समेत बताए । 

चन्द समूह मात्रै चुनौती हो कि अरु समूहपनि सक्रिय छन् ? उनले जवाफमा भनेका छन्, ‘मुख्य विप्लव देखिए पनि चुनाव नभए क–कसलाई फाइदा हुन्छ । ति तत्वहरु त्यसभित्र सरिक भएको हुन सक्छ ।’ किन भने पहिले नै यसको पहिचान गर्नु पर्दथ्यो । चुनावको मुखमा आएर यो गर्दै छौँ त्यो गर्दैछौँ भनेर हुँदैन ।

के हुनु पर्दथ्यो ? के भन्छन् पूर्वआइजीपी खरेल ? 
अहिले ठाउँ ठाउँमा क्षेत्रीय सेकुरिटी भनेर गएका छन् रे । सुरक्षा गोष्ठी नै अहिले चुनावको मुखमा आएर गरिएको छ । निकै पहिले गर्नु पर्दथ्यो । चुनावका योजनाहरु बनाउँदा सम्भावित चुनौतीहरु के–के हुन् भन्ने कुरा त चुनाव भन्दा निकै अगाडि हुनु पर्दथ्यो । त्यसलाई नियन्त्रण गर्न के गर्ने ? भन्ने प्रष्ट नीति हुनु पर्दछ । चुनावको नीति त बनेको होला । तर, त्यो आउन सक्ने सम्भावित थ्रेटलाई मध्यनजर गरेर त्यसको ‘प्रिभेन्टिभ साइट’का डिटेन्सनहरु जस्तो पेशेवर अपराधिहरु, डनहरु, जो पैँसाको लागि काम गर्छन् त्यस्ता समूहहरुलाई पहिले नै नियन्त्रणमा लिइनु पर्दथ्यो । 

जो चुनावको विरुद्धमा छन् त्यस्तालाई पहिले नै नियन्त्रणमा लिन सकेको थियो भने, यो समस्या देखिदैन थियो । पहिले त के हो भने प्रहरी संगठनले प्रस्तुत गरेको योजनामा चुनौतीहरु मूल्याङ्कन गरेर दिइन्छ, त्यसमा गृहमन्त्रालयले प्रहरी अधिकारीलाई पूर्णरुपमा अलर्ट होउ भन्न सकिन्छ । बाहिर बसेर मैले त्यसको अभाव देखिरहेको छु । त्यसैले प्रहरी नै अलमलमा छन् । सुरक्षा योजना मन्त्रालयमा बन्ने होइन । मन्त्रालयमा त पेश गर्ने हो नि त । मै पनि पुलिस चिफ हुँदा प्रहरीप्रधान कार्यालयमा हुन्थ्यो, त्यसपछि सेनासँग समन्वय राखेर काम गरिन्थ्यो । आन्तरिक सुरक्षाको कुरामा प्रहरीको प्रमुख दायित्व हुन्छ । अरु जुन सर्भिसेजहरु हो त्यो व्याकपमा आउँछ । प्रहरीले मात्रै गर्ने भन्ने कुरा होइन । आम सहभागिता पनि त्यतिकै चाहिन्छ । जनताको सहयोग पनि त्यतिकै चाहिन्छ । मूख्य भने प्रहरीले नै हेर्ने हो । सेना र सशस्त्रको मद्दत चाहिन्छ । 
गुप्तचर भन्थे पहिले त्यसको तेतिकै अहम भूमिका हुन्छ । मैले सुनेको छु आजकाल मन्त्रालयमै योजना बन्छ भनेर, त्यो कत्तिको साँचो हो, त्यो थाहा छैन । चाहे जुनसकै होस् ति योजनाहरुमा चुनावलाई आउन सक्ने थ्रेटहरु मूल्याङ्कन गरेर निकै अगाडि नै त्यस्ता प्रिभेन्टिभ मेजर लिएर त्यस्तालाई हिरासतमा लिने, थुनामा राख्ने र कारबाही गर्ने गरिनु पर्दथ्यो । त्यसमा कमजोरी देखिएको छ । 
सुरक्षा रणनीति चुहिन्छ भन्ने हो यसको अर्थ ? जवाफमा उनले भने, ‘दूईटा कुरा छर्लङ्ग छ नि । चुहिने भनेको कतिपय कुराहरु चुहाउनु पनि पर्ने हुन्छ । किन भने पब्लिकको विश्वासको पनि कुरा रहन्छ । कतिपय गोप्य रुपमा पनि अपरेशनहरु भित्रै भित्रै गर्नु पर्ने हुन्छ । कारबाहीहरु हुन्छन् त्यसलाई चुहिन दिनु हुन्न । दुई किसिमको हुन्छ ।’

पहिले पनि छद्म भेषिहरु थिए, अहिले पनि होलान्  : एआइजी भट्ट 
एआइजी विजयकुमार भट्टले पहाडमा नेत्रविक्रम चन्द समूह नै सुरक्षा चुनौतीका रुपमा देखिएको बताउँदै केही पुरानै छद्मभेषिहरु पनि त्यसमा संलग्न हुन सक्ने बताए । उनले भने, ‘ठूला नेताहरुलाई नै टार्गेट गरेको हेर्दा केही शंका लाग्ने खालका गतिविधि देखिएका छन् । यसको लियर हामीले पत्ता लगाएका छौँ ।’ चन्द समूहबारे त केही भन्नु परेन । उसले सोझै चुनाव विथोल्ने भनिरहेको छ । 

चन्द समूहबाहेकको संलग्नताबारे भने एआइजी भट्टले खासै खुलेर कुरा गरेनन् । छद्मभेषि भनेर उनले अहिले कम्युनिष्ट गठबन्धनमा रहेको माओवादी केन्द्रतर्फ संकेत गरे । गुरिल्ला लडाईले पहाडमा केही अफ्ठ्यारो रहेको समेत उनले बताए । 

उनले भने, ‘रणनीतिमा कमजोरी छैन । व्यापक बनाइएको छ । राजनीतिक स्वार्थ समूहहरु अहिले भन्दा पनि मतदान वरपर मात्रै सक्रिय हुन्छन् । अहिले त्रास फैलाउने गुरिल्ला समूहरु नै हुन् । रणनीति त चारवटै सुरक्षा निकाय बसेर बनाउने हो ।’

सुरुमा केन्द्रीय नीति बन्छ, उनले अगाडि भने, ‘त्यसपछि ठाउँ विशेष, घटना विशेष र भूगोल विशेष छुट्टा–छुट्टै रणनीति बन्छ । त्यो चुहिने सम्भावना कम हुन्छ ।’ टार्गेट ठूलै नेताहरुलाई गरिएकाले यसमा शंका गर्ने ठाउँ छ । 

यसमा सरकार जिम्मेवार छ, दल विशेषलाई ओराप लगाउन मिल्छ ? : भूषाल
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूषालले यी सबै घटनाको जिम्मेवार सरकार भएको बताएकी छन् । उनले हाम्राकुरासँग भनिन्, ‘गृहमन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्नु भा छ । देशभर असुरक्षा बढेको छ । हामीलाई कसरी जिम्मेवार भन्ने । सरकारले शान्ति सुरक्षा दिनु पर्दैन । दल विशेषलाई ओराप लगाउन मिल्छ ?’
गृहमन्त्रालय र स्थानीय प्रशासनले आफ्नो काम गर्नु पर्छकि पर्दैन, उनले भनिन्, ‘राजनीतिक दल आफैले आफैलाई बम पड्काउने कुरा हास्यास्पद हो । राजनीतिक दललाई गाली गरेर पञ्छिनेहरु राष्ट्रसेवक हुन सक्दैनन् ।’ यसको जिम्मेवार सरकार हुनु पर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ