arrow

मतदाताको दुखेसो : ‘आश्वासनले भरियौं, पानीको प्यास मेटिएन’

logo
शेरबहादुर सिंह,
प्रकाशित २०७४ मंसिर ३ आइतबार
matadata_sixa.jpg

डोटी (बुडर) । डोटीको जोरायल गाउँपालिका–२ बुडर बजारमा विजय गाहाले होटल व्यवसाय थालेको डेढ दशक छुन लाग्यो । बजारको आकार बढ्यो, व्यापार बढ्यो, यहाँका धेरै व्यवस्था फेरिए तर खानेपानीको संकट कहिल्यै हल भएन । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त मार्गको छेउमै रहेको बुडर बजारमा खानेपानीको समस्या भने दशकौंदेखि उस्तै छ । दुईसय ५० भन्दा बढी पसल भएको बुडर बजारमा पानीको प्यास मेटाउन स्थानीय व्यापारीहरू लामो समयदेखि कसरत गरिरहेका भएपनि पानीको उचित व्यवस्थापन भने अझै हुन सकेको छैन । 

विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा घरदैलोमा आएका राजनीतिक दलका उम्मेदवारहरूसँग बुडरवासीको प्रमुख माग नै पानीको प्यास मेटाउन पहल गरिदिनु प¥यो भन्ने थियो तर २०७४ सालको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रौनकले छोइसक्दा पनि पानीको व्यवस्थापन कहीँ कतैबाट नभएको होटल व्यवसायीको दुखेसो छ । 

“भोट माग्न आउने नेताहरूसँग हाम्रो माग भनेकै पानीको व्यवस्थापन, गाउँका सडक सञ्जाल विस्तारदेखि बिजुलीबत्तीको प्रबन्धसम्म नै छ,” होटल व्यवसायी गाहाले रासससँग भने – “नेताहरूको आश्वासन सुनेर अघाइसक्यौं । पानीको प्यास भने बुडरवासीले अझैसम्म राम्रोसँग मेट्न पाएका छैनन् ।” स्थानीय मौराणी मूलबाट पानी बजारसम्म ल्याएर सदुपयोग गरिरहेको भएपनि बजारको चाप बढ्दै गएसँगै पानीको समस्या चर्किन थालेको स्थानीय व्यापारीको भनाइ छ । 

पानीको समस्या हुँदा बजारभन्दा करिब ३ किलोमिटर टाढा रहेको भट्टी खोलाबाट समेत पानी ढुवानी गरेर पूर्ति गरिएको स्थानीय बासिन्दाको भनाइ छ । त्यसैगरी, जोरायल गाउँपालिका–२ विछलका महेश महराले पनि गाउँमा पानीको समस्या रहेको बताउनुभयो । यहाँका बासिन्दाले स्थानीय विछल खोलाबाट ढुवानी गरेर स्थानीयवासीले पानीको प्यास मेटिरहेका छन् । 

उनले आसन्न निर्वाचनमा मत माग्न आउने उम्मेदवारहरूलाई पानीको समस्या समाधानका लागि गाउँलेहरूले आग्रह गर्ने योजना बनाएको बताए । “यस पटक पनि हाम्रो प्रमुख माग भनेकै पानीको सहज व्यवस्थापन हुनेछ” – उनले भने। डोटीको बडुर बजारको समस्या मात्रै होइन खानेपानी, सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश बजारहरूमा पानीको समस्या ज्यूँका त्यूँ छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको समाचार संकलनका लागि बैतडीको खोड्पे बजार पुग्दा पनि त्यहाँका व्यापारी र स्थानीयवासीले पानीकै समस्या दर्शाए । 

हरेक पटक निर्वाचनका बेला घरदैलोमा आउने नेताहरूलाई पानीको समस्या समाधान गरिदिन आग्रह गर्दासमेत हालसम्म पूरा नभएको खोड्पे बजार व्यवस्थापन समितिका पदाधीकारी बताउँछन । पाटन नगरपालिका–८ मा रहेको खोड्पे बजारमा विगत लामो समयदेखि पानीको समस्या रहेको खोड्पे बजार व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्टले जानकारी दिए । “बजार र स्थानीयवासीको पानीको प्यास मेटाउन करोडौंको योजना आएमात्रै सम्भव छ” – करिब १४ सय मिटर तल रहेको खोड्पे खोलाबाट मोटरको सहारामा बजारमा पानी पु¥याउने काम भएको जानकारी दिँदै उहाँले भने । 

“चुनावका बेला आउने जो कोही नेता पनि गाउँघरका समस्या समाधान गर्न तयार छु भन्छन्,” खोड्पेका होटल व्यवसायी किरणकुमार राईले भने – “पानीको समस्या त कहिल्यै पूरा हुन सकेन ।” “अझैपनि धेरै टाढा गएर प्रतिग्यालिन रु ३० तिरेर पानीको प्यास मेटाउनुपर्ने बाध्यता छ,” उनले भने – “चुनावी नारामा मात्रै पानी दिने नेतालाई यो पटक भोट दिन्नौं ।” 

त्यसैगरी, खोड्पे बजारभन्दा २३ किलोमिटर पश्चिम रहेको पाटन बजार पनि पानीको समस्याबाट मुक्त छैन । पाटन नगरपालिका–६ का गणेशबहादुर चन्दले निर्वाचनका बेला पानीको विषय प्रमुख मुद्दा बन्ने गरेको बताए। “स्मार्ट सिटी र पाटन एयरपोर्ट राष्ट्रिय महत्वका योजना भएकाले आफ्नै रफ्तारले बन्छन्,” उनले भने – “निर्वाचनका लागि आउने उम्मेदवारहरूले पानीको व्यवस्थापन गर्छु भनेर आश्वासन मात्रै दिने गरेको पनि धेरै भइसक्यो ।” रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ