arrow

अग्नि सापकोटालाई ८ हजार मतान्तरले जित्छु : मोहन बस्नेत

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
mohan_bahadur_basnet.jpg

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार मोहन बहादुर बस्नेतले आफूले ८ हजार मतान्तरले चुनाव जित्ने दाबी गरेका छन् ।  सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा बोल्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका बस्नेतले भने,‘८ हजार भन्दा बढि एमाले तथा माओवादीका नेता-कार्यकर्ताहरु अहिले काँग्रेसमा आएका छन्, मोहन बस्नेतले यहाँ वामपन्थीहरुको गढ तोडेर धेरै पटक चुनाव जितेको छ, अब पनि जित्छु।’

उनले अहिलेसम्म आफूले २५०० भोटले लिड गरिरहेको दाबी गरे । उनले थपे,‘उनीहरु (वाम गठबन्धन) को अहिले स्थानीय तहको नतिजाको आँकलन गर्दा १० हजार भोटले बढि छन्, चुनावको दिनसम्म ८ हजार मतले जित्न सक्छु, यो लेखेर राख्नुहोस्।’ उनले सयौंको संख्यामा वाम गठबन्धनका नेताहरु आफ्नो पार्टीमा प्रवेश गर्ने गरेको दलिन पेश गरे ।
 
उनले हिजोबाट एमाले र माओवादी केन्द्रका नेताहरुले पनि आफ्नो जित स्व्किार गरिसकेको जिकिर गरे । बस्नेतले थपे,‘उनीहरुले भन्न थालेका छन्, अब मोहन बस्नेतले चुनाव जित्ने भयो, उनीहरुको मुटुमा ड्याँग्रो ठोकिसक्यो।’
उनले ३० वर्षदेखि सिन्धुपाल्चोकमा आफूले साक्षारताको अभियान चलाएको बताउँदै थपे,‘मैले यहाँ शिक्षामा ठूलो प्रगति गराएँ, कुनै समय यो जिल्लामा तस्करी, हुन्थ्यो, चेलिबेटी बेचिन्थे, अब त्यस्तो केही छैन । यो जिल्ला पूर्ण साक्षर घोषणा मैले नै गराएको हुँ।’

उनले आफूले अब चाँडै तातोपानी नाका खोल्ने दाबी समेत गरे । उनले थपे,‘तातोपानी नाका खोल्न धेरैदेखि पहल गरेको थिएँ, यो नाकामा पर्ने लाप्चा भन्ने ठाउँमा पुलको काम सकिएपछि नाका खुल्छ ।’ नाका खोल्ने काम अग्नि सापकोटा र मोहन बस्नेतले मात्रै चाहेर नहुने भन्दै कुटनैतिक तवरले यो विषयमा सरकारले डिल गर्ने उनको भनाई थियो।
 
तातोपानी नाका खुल्ने वा नखुल्नेमा सिन्धुपाल्चोकको विकासमात्रै नभएर सिँगो मुलुकको अर्थतन्त्रमा समते प्रभाव पार्ने उनको भनाई थियो । उनले थपे,‘अहिले दुवै देशवीच कुराकानी भैरहेको छ, चाँडै नाका खुल्छ।’
उनले वाम गठबन्धनका उम्मेद्धवार अग्नि सापकोटोले तीन महिनाभित्र तातोपानी नाका खोल्छु भन्नु भाषणमात्रै भएको आरोप लगाए । उनले थपे,‘सस्तो लोकप्रियता हाँसिल गर्नकोलागि उनले यस्तो भाषण गरेका हुन् ।’

सूचना तथा सञ्चारमन्त्री समेत रहेका नेता बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नाका खोल्न नसक्नेहरुले अहिले आएर खोल्छु भन्नु हावादारी कुराबाहेक अरु केही नहुने जिकिर गरे । उनले थपे,‘तर हामी कुटनैतिक तवरमा छलफल गरेर नाका खोल्छौं ।’

बस्नेतले यही मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सुरक्षाको पूर्ण प्रत्याभुति सरकारले गराउने बताउँदै ढुक्क भएर निर्वाचनमा सहभागी हुन जनतालाई अपिल गरे । उनले भने,‘अहिले देशैभरि निर्वाचनको माहोल बनेको छ । धाँधलीरहित रुपमा चुनाव सम्पन्न हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ