arrow

जसले जे भनेपनि कञ्चनपुरवासीले काँग्रेसबाहेक अरु रोज्न सक्दैनन् : गुरुङ

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
gurung_kanchanpur.jpg

कञ्चनपुर । ‘बुबा गगनसिंह गुरुङ र माता पार्वतीदेवी गुरुङको कोखबाट कञ्चनपुरको तत्कालीन भुजेला गाउँ पञ्चायतमा २०२२ बैशाख १६ गते जन्मिएका गोपालसिंह गुरुङ सन १९८४ देखि विद्यार्थी राजनीतिबाट नेपाली काँग्रेसको राजनीति सक्रिय रहेका छन् । उनले लखनउ युनिभर्सिटी अन्तर्गतको दयाल सिहं कलेजबाट इतिहास विषयमा एमए पास गरेका छन् । विद्यार्थीकालमा लोकतान्त्रिक विद्यार्थी नेता दुर्गादत्त पाण्डेय र रमेश लेखकका सहयोगीका रुपमा राजनीतिक मैदानमा उदाएका गुरुङ २०४८ मा कृयाशील सदस्यता लिएर नेपाली काँग्रेसको सकृय राजनीतिमा लागेका हुन । 

नेपाली काँग्रेसको जिल्ला सदस्य हुँदै २०५३/०५४मा नगर सचिव ,२०५९ मा नेपाली काँग्रेसको जिल्ला समितिको सह सचिव भइ बाह्रौ र तेह्रौ महाधिवेशनमा नेपाली काँग्रेसको जिल्ला सभापति पदमा चुनाव लडेका गोपाल गुरुङ निर्माण ब्यबसाय छोडेर राजनीतिमा लाग्ने जनप्रिय नेता मानिन्छ्न । गुरुङका श्रीमती र २ छोरी छ्न । २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनका बेला कारागार सजाय भोगेका गुरुङ यति बेला कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क मा प्रदेशसभा सदस्य पदका नेपाली काँग्रेसका उम्मेदवार रहेका गोपाल गुरुङसँग हाम्राकुराका दीपेन्द्र बस्नेतले गरेको कुराकानीका आधारमा तयार पारेको :

प्रदेश सभा सदस्य पदमा तपार्इँको उम्मेदवारी किन ?

नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभामा उम्मेदवारीका लागि दाबेदारी गर्ने अरु मित्रहरु भन्दा वरिष्ठ  भएको र समय समयमा पार्टीले सञ्चालन गरेको आन्दोलनमा होमिएको कारणका साथ साथै जनजातिहरुको बिचमा राम्रोसँग काम गर्न सक्ने भएको कारण र सबै वर्ग र समुदायको सहज प्रतिनिधित्व गर्न सक्ने भएकोले पार्टीले मलाइ उम्मेदवार बनाएको हो।दलित जनजाति,पहाडी ,थारु ,पुर्व र पश्चिमको समुदाय संग राम्रो सम्बन्ध भएकाले यस क्षेत्रको समुचित बिकासका निमित्त पार्टीले मलाई उम्मेदवार बनाएको हो ।

तपाईका चुनावी ऐजेन्डा कस्ता छन्  ?

सदरमुकाम संगै बिकासका हरेक फाँटबाट ओझेलमा परेको यस क्षेत्रमा बिकास गर्नु मेरो लक्ष्य हो । बिकासलाई जनमुखी बनाउन मेरो प्रयास हुनेछ ।यहाँको कृषि ब्यबसायलाई आधुनिकिकरण गरि ब्यबसायिक बिकास गरि यहाँको आर्थिक समृद्धि गर्ने ऐजेन्डा प्रमुख हो । कृषि उत्पादनको वृद्धि संगै कृषिमा आधारित औधोगिक बिकास, साबिक शंकरपुर हालको लालझाडी गाउँ पालिका देखि परासन सम्म सडक पुर्वाधारको बिकास स्तरोन्न्ती ,गरिबीको रेखा मुनि रहेका कृषकहरुलाई सहकारी मार्फत सरकारी अनुदान, सुकुम्बासी समस्याको दीर्घकालीन निकास,स्वास्थ्री सेवालाई गुणस्तरीय सर्बसुलभ बनाउन यसका लागि विद्यमान स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गर्ने , यहाँको सीमा ब्यबस्थापनका लागि कदम चाल्दै सीमा बिवादको समाधान गर्न मेरो पहल हुनेछ । यो क्षेत्र कृषि उत्पादनका हिसाबले अति उत्तम भएकोले यहाँ कोल्ड सेन्टरको स्थापना गरि यहाँको आर्थिक समृधिको दिशामा पहल कदमी नेपाली काँग्रेसको नेतृत्वमा गर्ने ऐजेन्डा प्रमुख रहनेछन् ।

काँग्रेसको पक्षमा जनताको माहोल कस्तो देखि रहनु भएको छ ?
जनता भुल भुलैयामा रहन चाहँदैनन् । जसले जे सुकै भने पनि कञ्चनपुरमा काँग्रेसको पक्षमा माहोल अति राम्रो छ । यस पटक पनि जनप्रतिनिधिका रुपमा जनताले काँग्रेसकै उम्मेदवारलाई बिजयी गराउने छन् ।चुनावी प्रचारप्रसारका क्रममा हामी जनताको घरदैलोमा पुगेका बेला मतदाताहरुले काँग्रेसका पक्षमा देखाएको चासो र सदिच्छाले काँग्रेस कञ्चनपुरमा बलियो छ । यस क्षेत्रको बिकासको खाका काँग्रेस संग भएकाले नै जनताले काँग्रेस लाई रोजेका छन् ।

गठबन्धनमा बाँधिएका कम्युनिस्टहरु संग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ जित्ने आधार के छन ?
नेपाली काँग्रेसका उम्मेदवारहरुले चुनाव जित्ने आधार भनेकै जनता हुन । जनता काँग्रेसका पक्षमा छन । अर्को महत्त्वपूर्ण कुरा म तपाइँलाई भन्छु बाम गठबन्धन पराजित मनस्थितिमा देखिएको छ । यो नै काँग्रेसले चुनाव जित्ने बलियो आधार हो । केवल सत्ता प्राप्तिका लागि बनेको बाम गठबन्धन भित्र असन्तुष्टि छताछुल्ल छ । यसबाट नेपाली काँग्रेसका उम्मेदवारहरुलाई बलियो बनाएको छ ।

गठबन्धनमा बाँधिएका बाम मतदाताहरुको मत काँग्रेसले कसरी पाउलाँ सोच्नु भा छ ?
सत्ता प्राप्तिका लागि हठात गरिएको गठबन्धनबाट लामो समय देखि बामपंथी आन्दोलनमा जिन्दगी बिताएका आदरणीय नेतृत्वहरु यो गठबन्धन प्रती सन्तुष्ट छैनन् । फरक बैचारिक बिचार दर्शन बीच भएको तालमेल सफल हुँदैन । तसर्थ बामपंथी आन्दोलनका अधिकाँश अगुवाहरु ओझेलमा परेका छन । तसर्थ यो गठबन्धन बाहिर हल्ला चलाइए जस्तो मजबुत छैन । हामी काँग्रेसका उम्मेदवारहरुले मतदाताहरुको घरदैलो गर्दै गर्दा थुप्रै बाम मतदाताहरु संग छलफल गरेका छौ । काँग्रेसका उम्मेदवारहरु लाई यस पटक बाम मतदाताहरुको समेत साथ रहेको छ । 

मतदाताले काँग्रेसलाईनै किन भोट दिने ?
पहिलो कुरो त लोकतान्त्रिक शासन ब्यबस्थाको रक्षाका लागि काँग्रेस नेतृत्व आबश्यकता छ । दोस्रो यस क्षेत्रमा ०७० मा नेपाली काँग्रेसका पक्षबाट निर्वाचित साँसदहरुले यहाँको बिकासको दीर्घकालीन बिकासको खाका तयार गरेका छन । सडक सञ्जाल,संगै भौतिक पुर्वाधार बिकासमा गरेको डिजाइन लाई मुर्त रुप दिई यहाँको आर्थिक समृद्धि गर्न काँग्रेस कै नेतृत्व जरुरी छ ल यो कुरो यहाँका मतदाताले बुझेका छन । यहाँका जमिन उर्भर छन् तसर्थ उत्पादनकत्व वृद्धि गर्न सिंचाई सुबिधा युक्त्त क्षेत्र बनाउने योजना काँग्रेस संग छ । महाकाली तेस्रो चरण अन्तर्गतको  नहर पुनर्वास सम्म बिस्तार गरि हरेक किसानलाई सिंचाई सुबिधा पुगाई उत्पादकत्व वृद्धि गर्ने योजना छ । यो सिंचाइ पुगाउन केही समय त त अबश्य लाग्छ तर त्यो बेला सम्म के गर्ने त किसानले ? यो प्रश्नको हल पनि काँग्रेस संगै छ । भुमिगत सिंचाइको भरमग्दुर फाइदा लिन काँग्रेस नेतृत्व को सरकारले किसान लाई ट्युबेल बितरण गरि उत्पादकत्व वृद्धि गर्ने काम गर्ने छ । देखतभुली ,शंकरपुर ,बाइसेबिचवाको बिकासबस्ती देखि अ्मरबस्तीको पायक पर्ने स्थान,बलभद्रबस्ती,त्रिभुवनबस्ती र परासनका स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरि विशेषज्ञ सेवा सहज र गुणस्तरीय बनाउने काम गरिनेछ । र यो क्षेत्रमा देखिएको वन्यजन्तुको आक्रमणको दीर्घकालीन बिकासका निम्ति पहल गरिने छ । थारु समुदायमा मात्रै देखिने गरेको सिकलेस रोगको उपचार खर्च सरकारले गर्ने ब्यबस्था गरिने छ ।

अन्तमा केही भन्न चाहनुहुन्छ ?
तपाइको लोकप्रिय सञ्चार माध्यम बाट म आदरणीय मतदाता ज्यु हरु संग आग्रह गर्छु कि देश र यो क्षेत्रको बिकासको खाका केवल काँग्रेस संग मात्रै छ । कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रमा काँग्रेस साँसदहरुको अगुवाइमा सञ्चालनमा आएका योजना र बिकास निर्माणका कामहरुको प्रभावकारीता र यस क्षेत्रको बिकासका लाई नेपाली काँग्रेसका उम्मेदवारहरुलाई भारी मतले बिजयी गराइदिन हुन अनुरोध गर्दछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ