arrow

एमालेको चुनावी प्रचारमा कर्मचारी परिचालन !

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
karmachari_uml.jpg

हेटौंडा । नेकपा एमाले मकवानपुरले चुनावी प्रचारप्रसारमा कर्मचारीको प्रयोग गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश २ मा एमालेले नगरपालिकाका कर्मचारीलाई प्रयोग गरेको हो । पछिल्लो समय उर्दी नै जारी गरेर एमालेले नगरपालिका र जिल्ला समन्वय समितिका कर्मचारीलाई जिल्लाभरका चुनावी अभियानमा अनिवार्य उपस्थित हुन दवाव दिएको स्रोतको दावी छ । एमाले निकट एक कर्मचारीका अनुसार आफ्नो वडामा हुने चुनावी कार्यक्रममा अनिवार्य उपस्थित हुन कर्मचारीहरुलाई दवाव दिईएको छ । 

बुधबार हेटौँडा वडा नम्बर ६ मा भएको घरदैलो कार्यक्रममा नगरपालिका र जिल्ला समन्वय समितिका केही कर्मचारीहरु सहभागी भएका थिए । उनीहरु उम्मेदवार डोरमणी पौडेलसहितको र्यालीमा सहभागी भएका थिए । र्‍यालीमा नगर प्रहरीका प्रमुख केन्द्रगोविन्द जोशी, बाम गठबन्धनको हेटौँडा–६ नम्बर वडास्तरीय निर्वाचन परिचालन कमिटिका सहसंयोजक एवं बंशगोपाल उच्च माविका शिक्षक तारानाथ खतिवडा, बारुण यन्त्रका एक ड्राईभर र जिल्ला समन्वय समितिका एक प्राविधिक सहभागी थिए । अरु कर्मचारीहरु विहान मात्रै घरदैलोमा सहभागी भएपनि खतिवडा भने दिनभर घरदैलो गरेर पुतलीबजारमा भएको कोणसभामा समेत सहभागी थिए । चुनावी अभियानमा सहभागी एक नेताले भने कार्यालय समय बाहेक कर्मचारी पनि दलको चुनाव प्रचारमा खटिन मिल्ने दावी गरे ।

‘नगरपालिका, जिल्ला समन्वय समितिका कर्मचारी र शिक्षक नै दलको चुनावी कार्यक्रममा सहभागी हुँदा पनि कारवाही हुँदैन भन्या’–‘एक स्थानीयले जिज्ञासा राख्दै सोधे–‘सरकारी तलब खाउन्जेल राजनीति गर्न नपाईनुपर्ने हो नि हैन ?’ कर्मचारीको प्रयोगबारे नेकपा एमालेका जिल्ला सचिव एवं प्रवक्ता एकलाल श्रेष्ठले भने एमालेले निर्णय गरेर कर्मचारीलाई प्रचार खटिन नभनेको बताए । उनले कर्मचारी कुनै पनि दलको चुनावी प्रचारमा सहभागी हुन नपाउने भन्दै एमालेले यस्तो कार्यको विरोध गर्ने बताए । ‘कुनै कर्मचारी स्वस्फुर्त पार्टीको कार्यक्रममा सहभागी हुनुभएको भए यो गलत हो ।’–उनले भने । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सरकारी कर्मचारी राजनैतिक दलको चुनावी अभियानमा सहभागी भए कारवाही हुने बताए । सरकारी सेवामा रहुन्जेल कुनै पनि समय कुनै दलको चुनावी अभियानमा सहभागी हुन नमिल्ने उनको दावी छ । प्रशासनले यसबारेमा अब कडाईका साथ निगरानी गर्ने प्रमुख जिल्ला अधिकारी बुढाको भनाई छ ।

एमालेले सरकारी शिक्षक, निजामति कर्मचारी, नगरपालिका र जिल्ला समन्वय समितिका कर्मचारीलाई अनिवार्य निर्वाचन गतिविधिमा सहभागी हुन भने पछि धेरै कर्मचारीहरु आफुहरु चेपुवामा परेको गुनासो गर्छन् । ‘पार्टीको चुनावी अभियानमा जान हुँदैन भन्ने थाहा छ, तर उम्मेदवार निकट नेताहरुले कर्मचारीहरुलाई कार्यक्रममा सहभागी हुन दवाव दिने गरेका छन् ।’–नगरपालिकाका एक कर्मचारीले बताए । एमालेले अन्य दलसंग आस्था राख्ने कर्मचारीलाई भने चुनावी अभियानमा देखे फोटो खिचेर राख्न कार्यकर्तालाई निर्देशन दिएको छ भने आफ्नो कर्मचारीलाई परिचालन गरिरहेको ति कर्मचारीको भनाई छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ