arrow

निकुञ्जको घाँसे मैदान व्यवस्थापन तीव्र

logo
नारायण अधिकारी 
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
chitwan-national-park1.jpg

चितवन । हिलो र बालुवाले पुरिएको चितवन राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदानको व्यवस्थापन कार्य तीव्ररुपमा अगाडि बढाइएको छ । 

साउनको अन्तिम साता आएको बाढीका कारण निकुञ्जभित्रको घाँसे मैदान हिलो र बालुवाले पुरिएको थयो । हिलो र बालुवाले पुरिएको घाँसे मैदानको व्यवस्थापनसँगै बाढीले बिगारेको वन पथको मर्मत सम्भार र अग्निरेखा निर्माण कार्य पनि भइरहेको छ । बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका घाँसे मैदानमा बालुवा र हिलो भरिएको थियो भने घाँसे मैदानमाथि फोहर पनि थुप्रिएको थियो । निकुञ्जभित्रका चुरेबाट बग्ने खोलाले पनि घाँसे मैदान बिगारेका थिए । वन पथमा रहेका काठका पुल र बाटो बाढीले बगाएको थियो । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीलगत्तै थालिएको घाँसे मैदानको व्यवस्थापन कार्यलाई अहिले तीव्र गतिमा अगाडि बढाइएको छ । उनका अनुसार निकुञ्जका २२ ठाउँमा दैनिक ७०० भन्दा बढी मजदुरले घाँसे मैदान व्यवस्थापन गरिरहेका छन् । निकुञ्जको सुखीभार, भिम्ले, अमलटारी टापू, लामीताल, घडगाई, जर्नेली, डुमरिया, गैँडा ताल, ध्रुवा दक्षित, हिले घाट, अमरटारी घाट, बाघमारा फाँट, भोसारघाट, बूढी राप्ती, चम्का फाँट, चिसापानी, देउराली, घोल टापू, तमोर ताल र ढोटरी ताल फाँटमा घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ । 

हिलो र बालुवाले पुरेको ठाउँ सफा गर्ने, ढड्डी फाड्ने, नयाँ ठाउँ खोजी गरी घाँसे मैदान विस्तार गर्नेलगायतका काम भइरहेको उनले बताए । हिलो र बालुवाका कारण व्यवस्थापन गर्न कठिन भएका क्षेत्रको आसपासमा नयाँ ठाउँको खोजी गरी घाँसे मैदान व्यवस्थापन गर्ने काम गरिएको छ । निकुञ्जभित्रका ठाउँठाउँमा पुग्नका लागि १२ वटा वन पथ रहेका छन् । ८१ किमी लामो वन पथमा भत्किएका पुल र बाटो मर्मत गर्ने काम भइरहेको उनले बताए । 

निकुञ्जभित्रकै तीन ठाउँमा अग्निरेखा निर्माणको काम पनि भइरहेको छ । घडगाईमा दुई किमी, सुरुङ खोलामा पाँच किमी र कछुवानी पूर्वमा १० किमी लामो अग्निरेखा बनाउने काम भइरहेको छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्जको कूल क्षेत्रफलको १२ प्रतिशत जमिन घाँसे मैदान छ । निकुञ्जमा १० हजार हेक्टर जमिन घाँसे मैदान हो । जसमध्ये हरेक वर्ष एक सय हेक्टर घाँसे मैदानलाई व्यवस्थापन गरिँदै आएको छ । पानीका स्रोतसँगै घाँसे मैदान व्यवस्थापन गर्ने गरिन्छ । त्यसैले नदी, खोला खोल्सा नजिक घाँसे मैदान रहेका छन् । निकुञ्ज हुँदै बग्ने ठूलो नदी राप्तीमा बाढी आएपछि चुरे पहाडबाट निकुञ्ज हुँदै राप्तीमा मिसिने खहरे खोला खोल्सामा लेदोसहितको बाढीले घाँसे मैदान पुरेपछि समस्या उत्पन्न भएको थियो । 

निकुञ्जमा गैँडा, लघुना, मृग, जरायो, नीलगाईलगायत घाँसमा आश्रित जनावर धेरै रहेका छन् । निकुञ्जमै बाघको संख्या बढ्दै गएकाले आहारा प्रजातिका जनावरको संख्या पनि बढाउनु पर्ने चुनौती निकुञ्जसँग रहेको छ । जसका लागि व्यवस्थित घाँसे मैदान निर्माण गरी खुवाउनु पर्ने हुन्छ । पानीको स्रोतको आसपासमा मात्रै घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने भएकाले नयाँ व्यवस्थित ठाउँको खोजीमा निकुञ्ज लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ