arrow

क्वालालम्पुर विमानस्थलबाटै फर्काइए १२ नेपाली

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
malaysia.jpg

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाट फर्काइएका छन् । 

मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरू कम्पनीका प्रतिनिधि लिन नआएपछि तीन दिनसम्म विमानस्थलमै अलपत्र रहेका थिए । मलेसियाको अध्यागमन विभागले तीन दिनपछि प्रवेश अस्वीकार गर्दै फर्काइदिएको हो । 

उनीहरू काठमाडौंको नक्सालस्थित एचआर इन्टरनेसनल इम्प्लोयमेन्ट सर्भिसेस प्रालिमार्फत मलेसिया पुगेका थिए । 

तीन दिनसम्म विमानस्थल अध्यागमनको थुनामा बस्दा पनि कम्पनीका प्रतिनिधि लिन नआएपछि आफूहरूलाई स्वेदश फर्काइएको फर्किएकामध्ये एक जनाले बताए । 

यसरी फर्काइएकामा अधिकांश मधेसका छन् । उनीहरूले जनही १ लाख १० हजार रुपैयाँ स्थानीय एजेन्टलाई बुझाएपछि म्यानपावरमार्फत भिसा पाएको बताए । 

क्वालालम्पुर विमानस्थलबाटै आफ्नो समस्या म्यानपावर कम्पनीसमक्ष राखेका पीडितले कम्पनीका व्यक्ति पवन दुलालले ‘केही घण्टाभित्रै समाधान गर्ने’ भनेको तर उनी केही बेरमै सम्पर्कविहीन भएको बताए । 

‘सुरुमा केही घण्टामै समस्या समाधान हुने बताएका म्यानपवारका मान्छे पछि मोबाइल अफ गरेर सम्र्पकविहीन भए,’ फर्किएकामध्ये एक कामदारले सुनाए । दुलालसँग सम्पर्क प्रयास गर्दा म्यानपावर कम्पनीका कर्मचारीले उनी मलेसिया उडेको जानकारी दिए ।

म्यानपावर कम्पनीका सञ्चालकमध्येका एक नरेश गेलालले कम्पनीले आवश्यक कागजात क्लियर गर्न नसकेका कारण कामदार फर्किनुपरेको बताए । 

उनले कामदारलाई काठमाडौंकै होटलमा राखिने र कम्पनीले आवश्यक कागजात तयार गरेपछि फेरि मलेसिया पठाइने दाबी गरे । कामदारसँग सरकारले तोकेभन्दा बढी पैसा नलिएको पनि उनको भनाइ छ ।

 ‘गाउँको एजेन्टले कति पैसा लियो थाहा भएन, हामीले सरकारले तोकेअनुसार सेवा शुल्क १० हजार मात्रै लिएका छौं,’ उनले भने । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ