arrow

मान्छे कतारमा मत ब्यालेटमा : बाजुरामा ७६ प्रतिशत मत खस्यो, फर्जी मत बढी

logo
रमित बि.क.,
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
election.JPG

बाजुरा ।  बाजुरा बुडिगंगा नगरपालिका वडा नं ६ का लोकेन्द्र भारती कतार गएको दुई वर्ष भयो । तर, यही मंसिर १० गते सम्पन्न  प्रतिनीधि तथा प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचनमा लोकेन्द्रको नामबाट सायलको सारेदेउ बुथकेन्द्रबाट मत  ब्यालेटमा खसेको छ । आफु कतार छन् आफ्नो नाममा कसले मत खसायो उनलार्ई पत्तो छैन ।

 त्यस्तै  बुढीगंगा नगरपालिकाको वडा नं ६ को मतदाता क्रम संख्या १३ का आईते सार्कीको मृत्यु भईसकेको छ । उनको नाममा पनि सोही बुंथवाट मत खसेको छ । उनी लगायतका केही मृतककको नाममा पनि मत खसेका छन् ।  मतदाता क्रम संख्या ८६७ का  शिद्धराज जैशी मष्टेश्वरी मावि मतदान केन्द्रका अधिकृत थिए तर ,उनको नाममा पनि  मतदान भएको छ ।

 मतदाता क्रम संख्या ४७५ का पेरमराज जैशी पनि निर्वाचनमा खटिएका थिए,मतदाता क्रम संख्या ९०५ का हिक्मतवहादुर शाह पनि मतदान खटिएका थिए उनको नाममा पनि  मत खसेको छ भने मतदाता क्रम संख्या ७७२ का शेरबहादुर थापा लगायतका ब्यक्ति सशस्त्र प्रहरीमा कार्यरत भई जिल्ला बहिर छन्,उनका नाममा पनि मतदान भएको छ ।

 मतदाता क्रम संख्या ३३२ का धर्मराज जैशी पशुपंक्षी मन्त्रालयमा कार्यरत छन् ,उनको नाममा पनि बाजुराको सारेदेउ बुंथमा मतदान भएको छ । मतदाता क्रम संख्या ४७५का प्रेमराज जैशी पनि पिस क्रेटर जोन एकेडमी पाण्डुसैनको सहायक मतदान अधिकृतमा थिए , उनको नाममा मतदान भएको छ । त्यसैगरी मतदाता क्रम संख्या ९०५ का हिक्मतवहादुर शाह पनि मतदानमा खटिएका थिए उनका नाममा मत खसेको छ भने क्रम संख्या ७७२ का शेरबहादुर थापा लगायतका व्याक्ति  सशस्त्र प्रहरीमा कार्यरत भई जिल्ला बहिर छन् ,उनका नाममा पनि मतदान भएको छ ।

हामी खाना खाएर मतदान गर्न सारेदेउ गयौं हामी पुग्दा आफ्नो नाममा सबै मत खसाएको भेटायौं हाम्रो पनि मतदान गर्ने अधिकार छ भनि झगडा गरेपछि अर्काकै नाममा भए पनि मत खसाएर आए साविकको कुल्देवमाण्डौँ बेलकाटीयाकी एक महिला मतदाताले बताइन् ।  सबैका नामावलीमा दुईचार जनाले मतदान गरे यस्तो चुनाव कहिलै भएन सारेदेउका मतदाताले गुनासे पोखेका छन् ।  सायलमा   ९२० मतदाता संख्यामा  ९१२  मत खसेका छन् ।  १७ जना सरकारी कर्मचारी छन् ति सबै निर्वाचनमा खटिएका छन् । कतिपय विदेश छन् भने  केही मरेका छन् ।

 मरे जिउँदा सबैको नाममा केही ब्यक्तिले एकलौटी मतदान गरेको स्थानीय मतदाताले बताएका छन् । यी त सायल बुंथका एक प्रतिनीधि पात्रमात्र हुंन् । जिल्लाका एक सय मतदान केन्द्रबाट कति फर्जी मत खसे होलान सहजै अनुमान गर्न सकिन्छ । त्यस्तै साविकको ब्रमतोला गाविसका  प्राविधक सहायक बशन्त थापा निर्वाचनमा खटिएका थिए उनको नाममा पनि मतदान भएको छ । त्रिशक्ति माविको मतदान केन्द्रमा एक जनाले ५० पटक मत हालेको खुल्नमा आएको छ ।

 सर्वाधिक बुंथ कब्जा हुने भनिएको थुमा माविका बुंथमा भने यसपाली  विगत जस्तो बुंथकब्जा गर्न नसके ता पनि केही फर्जी मत खसेको आरोप छ  । बामगठबन्धनका प्रदेश सभासदस्य उम्मेदवार प्रकाश शाह थुमा माविको  बुंथमा गएर बसेपछि फर्जी मत  न्युन भएको एक मतदाताले बताए । कुनै दलका एजेण्ट मौन बस्नु र कुनै दलको  एजेण्टले मतदाताको हातबाट मत खोसेर मतहाल्नुले  यस्तो परिस्थिती आएको मतदान अधिकृतको भनाई रहेको छ ।

एजेण्टबाट वके भएर आएपछि हामीले मत हाल्न त दिनै पर्‍यो मतदान अधिकृत भन्छन् ।  मतदानमा खटि गएका कर्मचारीहरुले बाजुराको जस्तो मतदान कही कतैं नदेखेको गुनासोँ गरेका छन् ।  बाजुराका ७६ प्रतिशत मतदाताले मतदान गरेका छन्  ।  देशकै विकट तथा विकास सुचाङ्क पुच्छारमा परेको बाजरामा सबै भन्दा बढी मत खसेको छ ।  मतदान स्थलमा मतदाता सुंख्या पातलो देखिन्थ्यो तर, खसेको मत  संख्या हेर्दा देशमै बढी देखिन्छ ।

 जिल्लाका विभिन्न स्थानमा अधिकतम फर्जी मत खसाएको तथ्य फेला परेका छन् ।  त्यस्तै साविकको ब्रमतोला गाविसको भवनको केन्द्रमा पनि अधिकतम फर्जी मत खसेको बताइएको छ । निर्वाचनको दिन सदरमुकाम मार्तडीबाट पश्चिम क्षेत्रको तोली स्थित नेपाल टेलिकामको टावर तीन घण्टा  सम्म अबरुद्ध थियो । नेकपा एमालेका बैकल्पीक पोलिटब्युरो सदस्य कर्णवहादुर थापाले विहान ११.३० देखि ५.३० वजे सम्म प्रजिअ,एसपी  र शसस्त्र प्रहरीबलका जिल्ला शुरक्षा निकायका प्रमुखलाई प्रलोभनमा पारी जिल्ला प्रशासनको कार्यकक्षमै बसेका थिए ।

 जिल्लाको शान्ति सुरक्षा अवस्था बुझ्न सुरक्षा निकायलाई सकस परेको सुरक्षा श्रोतले बताएको छ । थापालाई ७ नं प्रदेशको मुख्य मन्त्रीको उम्मेदवार बनाउने यस अघी एमालले घोषणा गरिसकेको छ ।  निर्वाचनमा खटिजाने कर्मचारी ब्यबस्थापन निर्वाचन निर्देशिका २०७४ अनुसार नभएको भन्दै निर्वाचन आयोगमा यस अघि रिट हालेको कांग्रेस सचिव दिपक बिक्रम शाहले जानकारी दिए ।

सोको प्रभाव निर्वाचनमा देखियो सचिव शाहले भने  ।  मुख्य निर्वाचन अधिकृत  पुष्पराज थपलियाका अनुसारः “मतदान केन्द्रमा के कसरी मतदान भयो  आफुलाई थाह नभएको यद्येपी यसलाई गम्भिर अपराधका रुपमा मानिन्छ ।"  अनुसन्धानका लागि निर्वाचन आयोगमै  जानकारी गराउनु पर्ने मुख्य निर्वाचन अधिकृत  थपलियाले बताए  । जिल्ला निर्वाचन कार्यालयका अनुसार मंसिर १० गते सम्मन्न निर्वाचनमा २७ हजार १ सय ४१ महिला र २५ हजार ७ सय ७३ जना पुरुषले मतदान गरेका थिए । बाजुरामा ७६ प्रतिसत मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ