सल्यानमा स्थानीय तहको भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन

५४ मतदान केन्द्र अति संवेदनशील

शंकर के सी, प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार , १,९९८ पटक हेरिएको

सल्यान । सल्यानमा विहिबार (भोलि) हुन लागेको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनको तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका १८० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत लगाएतको कर्मचारी टोली खटिईसकेका छन् ।

निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री पनि सम्बन्धित क्षेत्रमा पुगिसकेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए । उनका अनुसार सल्यानमा १४ सय ३८ कर्मचारी निर्वाचनका लागि परिचालित छन् । मतदान केन्द्रबाट बुधबार पनि मतदाता परिचय पत्र वितरण हुने मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले बताए । उनका अनुसार सबै मतदान केन्द्रमा मतदान स्थल निर्माण कार्य चलिरहेको छ । उनले भने– ‘मतदाताहरुले सजिलो ढंगबाट लाइनमा बसेर मतदान गर्न पाउन् भनेर त्यसै अनुसारको मतदानस्थन निर्माण भइरहेको छ ।’

तीन पदका लागि २२ जनाको प्रतिष्पर्धा

सल्यानमा तीन पदका लागि २२ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रतिनिधीसभाका लागि ८ जना चुनावी मैदानमा छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि बाम गठबन्धनबाट टेक बहादुर बस्नेत, राजेन्द्र बहादुर शाह नेपाली कांग्रेसबाट, बल वहादुर गिरी नेपाल कम्युनिष्ट पार्टी (माले) बाट, खड्ग बहादुर पुन राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार छन् ।

यस्तै ढकन प्रसाद शर्मा राष्ट्रिय जनमोर्चाबाट, सुमन कुमार विश्वकर्मा नयाँ शक्ति पार्टी, नेपालबाट, गुरु प्रसाद भण्डारी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बाट र उमाकान्त शर्मा स्वतन्त्र तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् ।

यस्तै प्रदेशसभा एकमा ५ जना मैदानमा छन् । प्रदेशसभा चुनावका लागि यस क्षेत्र नम्बर १ मा दार्मा गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, बाघचौर नगरपालिका, शारदा नगरपालिकाका वडा नं. ६, ७, १४, १५ र बनगाड कुपिण्डे नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ रहेका छन् ।

यस क्षेत्रमा बाम गठबन्धनबाट गुलावजंग शाह, एक राज डाँगी नेपाली कांग्रेसबाट, भीम प्रकाश शर्मा स्वतन्त्रबाट, दले वुढामगर राष्ट्रिय जनमोर्चाबाट र टोप वहादुर रोका नेपाल कम्युनिष्ट पार्टी (माले)बाट रहेका छन् । यस्तै प्रदेशसभा दुइमा कालिमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, कपुरकोट गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिकाका वडा नं. ८, ९, १०, ११, १२ र शारदा नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १३ रहेका छन् । यस क्षेत्रमा ९ जनाले चुनावमा प्रतिष्पर्धा गर्दैछन् ।

प्रकाश ज्वाला बाम गठबन्धनबाट, डिल्लीराज रेग्मी नेपाली कांग्रेसबाट बेद प्रसाद खत्री क्षेत्री राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बाट, विमल राज डी.सी नयाँ शक्ति पार्टी, नेपालबाट, राजेन्द्र वीर राय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, डण्ड विर पुन राष्ट्रिय जनमुक्ति पार्टीबाट हिमलाल बुढाथोकी जनसमाजवादी पार्टी, नेपालबाट, शोभाराम थापा क्षेत्री राष्ट्रिय जनमोर्चाबाट र धन बहादुर विश्‍वकर्मा स्वतन्त्रबाट छन् । अर्का स्वतन्त्र उम्मेदवार जित बहादुर पुनले विज्ञप्ती निकालेर उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

स्थानीय तहको भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन

यसैबीच जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाइ लक्षित गरी सुरक्षा प्रवन्ध मजबुत पारेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त र भरपर्दाे पारिएको बताए । नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले निर्वाचन सुरक्षा दिने उनले बताए । घिमिरेले भने– ‘६ नम्बर प्रदेशका धेरै जिल्लामा चुनाव सकिएको छ, सल्यान, दैलेख र सुर्खेत मात्रै चुनाव हुन बाँकी रहेको हुँदा स्थानीय तहको भन्दा झण्डै दोब्बर सुरक्षाकर्मी परिचालन भएका छन् ।’

जिल्ला प्रशासनले सल्यानका ५४ मतदान केन्द्रलाई अति संवेदनशीलको सुचीमा राखेको छ । यस्तै ३७ केन्द्रलाई संवेदनशील र २० मतदान केन्द्रलाई सामान्यमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । उनले सबै मतदान केन्द्रमा सञ्चार सम्पर्क हुन नसक्ने भएकोले सुरक्षाकर्मीकै सेटमा भरपर्नुपर्ने अवस्था रहेको पनि बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ