arrow

मतपत्र च्यातिने भयले बनाइए जेलजस्ता गणनास्थल

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
tarjali.jpg

काठमाडौं । जिल्ला प्राविधिक कार्यालय रसुवाको मुख्य हलमा च्यानल गेट राखिएको छ । अर्कोतर्फ पनि फलामे बार राखिएको छ । झट्ट हेर्दा कुनै जेलजस्तै लाग्छ । तर, पहिलो चरणमा मतदान भएको रसुवाको मतगणना यही स्थानमा बिहीबार साँझ पाँच बजेबाट सुरु हुँदै छ ।

दलका प्रतिनिधिबाट मतपत्र सुरक्षित गर्न अधिकांश जिल्लाका गणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ । गणनास्थललाई तारको जालीले घेर्नेदेखि फलामे बार लगाउनेसम्म गरिएको छ । दलका प्रतिनिधि बार वा जालीबाहिरै बस्नेछन् ।

गणनास्थलमा कर्मचारीलाई मात्र प्रवेश दिने जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । दलका प्रतिनिधिलाई मतपत्र छुन नदिन गणनास्थललाई यसरी घेरिएको हो । गत स्थानीय निर्वाचनमा चितवनमा दलका प्रतिनिधिले मतपत्र च्यातेपछि यसपटक देशैभर गणनास्थलको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

सिसिटिभीको पनि निगरानी
लमजुङ । मतगणनास्थललाई तारजालीले घेर्नुका साथै सिसिटिभी पनि राखिएको छ । मतगणनास्थलमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

मतगणनाका क्रममा हुन सक्ने सम्भावित घटनालाई लक्षित गरेर सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना गर्ने ठाउँमा दलका एक एकजना मात्र प्रतिनिधि रहने निर्णय भएको छ । प्रत्यक्षको मतगणना सकिएपछि मात्र समानुपातिकको मतगणना गरिनेछ ।

एक ठाउँमा मात्रै मतगणना
रुकुम (पूर्व) । जिल्लामा एक ठाउँमा मात्र मतगणना गरिने भएको छ । बिहीबार बसेको सर्वदलीय बैठकबाट एक ठाउँमा मात्र मतगणना गर्ने निर्णय भएको हो ।

बिहीबार भोलि साँझ पाँच बजेदेखि नै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए ।

एक ठाउँमै बसेर सुरुमा प्रतिनिधिसभाको मतगणना गरिने र आवश्यकतानुसार मतगणना टोली बढाउन सकिने उनले बताए । गणनामा एउटा दलबाट एकजना प्रतिनिधि राख्ने सहमति भएको छ ।

तीन घेराको सुरक्षा
गोरखा । गोरखा सदरमुकामस्थित गणनास्थललाई पनि तारजालीले घेरेर सिसी क्यामरा राखिएको छ । गणनास्थललाई तीन घेरामा सुरक्षाकर्मीले सुरक्षा दिने भएका छन् ।

मतपेटिकाको सुरक्षालाई विशेष प्राथमिकता दिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । मतपेटिका रहेको ठाउँमा तारजाली लगाइएको छ भने पहिलो घेरामा म्यादी र जनपथ प्रहरीले सुरक्षा दिइरहेको छ । दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना मतपेटिका सुरक्षाका लागि खटिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को मतगणना महिला तथा बालबालिका कार्यालय र २ को मतगणना जिल्ला समन्वय समितिको माथिल्लो तलामा गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तारजालीभित्र मतगणना हुँदा उम्मेदवार र दलका प्रतिनिधिले मतपत्र छुन पाउने छैनन् ।

मतगणनास्थलमा तारजाली
नुवाकोट । गणनास्थलमा तारजाली लगाउने र सिसी क्यामरा जडानको काम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनामा खटाइने कर्मचारीका लागि बुधबार अभिमुखीकरणसमेत भएको छ ।

दोस्रो चरणको निर्वाचन बिहीबार सकिनेबित्तिक्कै नुवाकोटमा मतगणना सुरु गर्ने गरी तयारी तयारी पूरा भएको छ । तीन दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गरिने योजनासहित गणक कर्मचारी परिचालन गरिने कार्यालयले जनाएको छ ।

जिल्लामा प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि चार क्षेत्र छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नम्बर २ र त्यसअन्तर्गतका प्रदेश सभाको गणना हुनेछ ।

त्यस्तै, सहकारी डिभिजन कार्यालयको भवनमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ र त्यसअन्तर्गतको प्रदेश सभाको गणना हुनेछ । कर्मचारीले तारजालीभित्र रहेर मतगणना गर्नेछन् । तारजालीबाहिर सुरक्षाकर्मी, दलका प्रतिनिधि, पर्यवेक्षक र पत्रकार रहनेछन् ।

साँझ पाँच बजेबाटै गणना
पहिलो चरणमा निर्वाचन भएका जिल्लामा साँझ पाँच बजेबाटै मतगणना गर्ने तयारी गरिएको छ । कतिपय जिल्लामा सर्वदलीय बैठकले बुधबार नै गणनाको तयारी गरिसकेको छ भने केही जिल्लामा बिहीबार पाँच बजेअघि नै सर्वदलीय बैठक सक्ने तयारी छ ।

जुम्लाका मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले साँझ पाँच बजेबाटै मतगणना गर्ने बताए । उनका अनुसार मतगणनाका लागि ६ वटा टोली बनाइएको छ ।

एउटा टोलीले बढीमा तीन हजार मतगणना गर्ने र त्यसपछि, अर्को टोलीले गणना गर्ने उनले बताए । गणनास्थललाई तारबारले घेरिएको छ । प्रतिनिधिसभा र प्रदेश सभाको गणना एकैसाथ गर्ने ढुंगानाले बताए ।

रुकुम पूर्व र रुकुम पश्चिममा पनि बिहीबार साँझ पाँच बजेबाटै गणना सुरु हुनेछ । मतगणनाको सबै तयारी लगभग पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनाका बारेमा छलफल गर्न बुधबार नै सर्वदलीय बैठक बसेको छ । रुकुम पश्चिमको बैठकले चार स्थानमा मतगणना गर्ने निर्णय गरेको छ ।

गोरखामा पनि बुधबार नै सर्वदलीय बैठक बसेको छ । बैठकले बिहीबार साँझ पाँच बजेबाटै मतगणना गर्ने सहमति गरेको छ ।

गणनास्थलमा तारजाली र सिसी क्यामरा राखिएको छ । मतगणनाका लागि ६० जना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ