arrow

स्वतन्त्रबाट विजयी छक्कबहादुर भन्छन्–माओवादीबाट टिकट लिन धेरै धाए, पत्याएनन्’

‘हुम्लालाई सुरुमा भरपर्दो सडक चाहिएको छ’

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
chakka.JPG

सिमकोट, हुम्ला । हुम्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छक्क बहादुरल लामाले दलीय राजनीति गर्ने र गठबन्धन गरेर चुनाव लड्नेहरुलाई नै छक्का पारिदिएका छन् ।

लामाले हामीसँग कुरा गर्दै भनेका छन्, ‘मैले पार्टीबाट टिकटका लागि धरै अनुनय विनय गरे । केन्द्रका नेतालाई त गरिन जिल्ला र प्रदेश इन्चार्जहरुकहाँ धेरै धाए । केही सिप लागेन ।’

लामाले आफुले टिकट नपाएपछि आफुले बागी उठ्ने चेतावनी पहिले नै दिएको बताए । पछि उनले स्वतत्र उम्मेदवारी दर्ता गराए । हुम्लामा वामपन्थी विचार फैलाउने नेताका रुपमा परिचित उनलाई माओवादी केन्द्रले पत्याएन ।  पूर्व सांसद लामा पूर्व राज्यमन्त्री समेत हुन् । उनले माओवादी केन्द्रलाई मात्र चुनौती दिएनन् वाम गठबन्धन र काँग्रेसका  अधिकारिक उम्मेदवारलाई हराइदिए ।

प्रतिस्पर्धी मंगलबहादुर शाहीलाई ४७ मतले अन्तर पार्दै ८ हजार ४ सय ९१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस उम्मेरदार मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरे ।

उनको यो कडा प्रतिस्पर्धा अहिले मात्रै होइन । तत्कालिन् जनमोर्चाको तर्फबाट उम्मेदवार भएर २०४८ सालमा मंगलबहादुरका काका चक्रबहादुर शाहीलाई उनले ८ मतले पराजित गरेका थिए । छक्कबहादुर फेरि २६ वर्ष पछि उनका भतिजा मंगलबहादुर शाहीलाई ४७ मत अन्तरले पराजित गर्न पुगे ।

उनले भने, ‘हामी केन्द्रमा बाहुनहरुले राज गरे भनेर भन्छौ । तर, मध्य तथा सुदूरपश्चिममा ठकुरीहरुले नै राज गरिरहेका थिए । अहिले पनि त्यसको अवशेष बाँकी नै छ । मैले उही बेला २०४८ सालमै त्यो परम्परालाई चुनौती दिएको हो ।’

संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालिन माओवादीबाट उम्मेदवार बनेका लामा पार्टीकै असहयोगका कारण पूर्वमन्त्री जीवनबहादुर शाहीसँग पराजित भएका थिए । आफू २०७० को निर्वाचनमा पराजित भएकाले यस पटक प्रतिनिधिसभामा टिकट पाउन निकै दौडधुप गरेको उनले बताए । तर,  वाम गठबन्धनको तर्फबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेरदारी दिएर कलम चिन्हमा चुनाव लडे ।

लामाले अब हुम्लालाई भरपर्दो सडक सञ्जालमा जोडेर समृद्धितर्फ लैजाने बताए । उनले भने, ‘हुम्लालाई उत्तरको ताक्लाकोट र दक्षिणको रुपैडियालाई जोड्ने संकल्प हो । यति मात्रै गरेका खण्डमा हुम्लाको गरिवी आधाभन्दा बढी कम हुन्छ । अब हुम्लामा बाहिरबाट चामल ल्याएर खाने दिनको अन्त्य हुनु पर्दछ । अब हुम्लाले निर्यात गर्नुपर्छ । यहाँ थप्रै सम्भावना छन् ।’

जिल्लाको शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार र आयआर्जनका कार्यक्रमलाई आफुले प्राथमिकतामा राखेको उनले बताएका छन् । अब हुम्लाले गरिबीमा बाँच्नु नपर्ने बताएका छन् ।  बुबा टाक्पा छेदेन लामा र आमा नाक्दार्मा लामाका छोरा छक्कबहादुर २०१६ साल वैशाख १२ गते जन्मिएका हुन् ।

उनले कानुनमा स्नातक र समाजसास्त्रमा स्नातकोत्तर गर्दै छन् । उनी हुम्ला जिल्लाका वाम बुद्धिजीवी नेताका रुपमा मात्रै चिनिदैनन् उनी विभिन्न पाँच देशका भाषामा समेत दक्ष छन् ।

२०३१ सालबाट वाम राजनीति सुरु गरेका छक्कबहादुर २०३८ अखिल नेपालको छैटो केन्द्रीय सदस्य भएका थिए । विद्यार्थीकालदेखि नै वामपन्थी क्षेत्रमा संलग्न लामाले २०४२ सालमा नेकपा एकता केन्द्रको हुम्ला इन्चार्जको भूमिका निर्वाह गरेको उनका बारेमा माओवादी कार्यकर्ता निकै जानकार छन् ।

२०४८ संयुक्त जनमोर्चाको केन्द्रीय सदस्यहुँदै आम निर्वाचनबाटै सांसदमा ८ मतले विजयी बनेका लामाले माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्धमा भुमिगत नभएपनि त्यसमा उनले प्रत्यक्ष वा अप्रत्यारुपमा सहयोग गरेका थिए ।

जनयुद्धमा आफ्नी छोरी शहीद भएपछि सार्वजनिक रुपमा अप्रत्यक्ष सहयोग गरेका कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल २०६१ मा स्थानीय विकास सहायक राज्य मन्त्री र पछि भौतिक योजना तथा निर्माण राज्य मन्त्रीको समेत भूमिका निर्वाह गरेका हुन् । उनलाई ज्ञानेन्द्रले सन्तुलन मिलाउन राज्यमन्त्री बनाएका थिए । उनले कर्णालीको प्रतिनिधित्व गर्नेछन् भनेरै ज्ञानेन्द्रले उनलाई मन्त्री बनाएका बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ