arrow

तत्काल काँग्रेसको नेतृत्व फेर्न सम्भव छैन, यो ‘स्टन्ट’ मात्रै हो : खाँण (अन्तर्वार्ता)

अर्काे चुनावमा जनताकाे मन फर्काउँछौँ

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
balkrishna_khad1.jpg

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा आएको चुनावी परिणामलाई लिएर नेपाली काँग्रेसभित्र पार्टीको पुनःसंरचना र पार्टी नेतृत्व वरिवर्तनसम्मको बहस चलेको छ । यद्यपि,काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टी नेतृत्व परिवर्तनको कुरा पार्टीभित्र बलियो रुपमा नउठेको र अहिले आफुहरु तत्काल पार्टी नेतृत्व परिवर्तनको मनसायमा नरहेको बताएका छन् । उनले भने, ‘चुनावी पराजयको जवाफदेहीता र जिम्मेवारी केन्द्रीय तहदेखि गाउँतहसम्म सबैले लिनै पर्छ । नेतृत्वलाई मात्र दोष लगाउन उचित हुँदैन ’ पार्टीका पुनःसंरचनाका विषयमा छलफल गर्न सकिन्छ तर, तत्काल नेतृत्व नै परिवर्तन गर्ने भन्ने कुरा पार्टीका कुनै सदस्यले राखेको भए त्यो नितान्त व्यक्तिगत विचार हो, उनले भनेका छन् । यसैविषयमा नेता खाँणसँग सञ्जीव अधिकारीले गरेको कुराकानीः

नेपाली काँग्रेसको चुनावी परिणामलाई कसरी लिनु भएको छ ?
–नेपाली काँग्रेसको जुन लोकप्रिय भोट छ, त्यो स्थानीय तहको चुनाव भन्दा बढेकै छ । स्थानीय तहको निर्वाचनको बेला हाम्रो ३२.८ प्रतिशत भोट आएको थियो । अहिले ३४.३ प्रतिशत समानुपातिकमा कटिसकेको छ । गणना जारी नै छ ।
एमाले र माओवादी केन्द्रबीच जुन तालमेल भयो । त्यो तालमेलले चुनावी परिणामलाई गम्भीर असर पुर्‍यायो । अधिकांश ठाउँमा उहाँहरु जित्न सफल हुनु भो । हामी कम सिटमा मात्रै प्रदेशतर्फ आयौँ ।

नेपाली काँग्रेस कहाँ नेर चुक्यो त ?
–अब दुईटा कम्युनिष्ट पार्टीहरु मिल्नु भो । वामपन्थी नामको कम्युनिष्ट मोर्चा बनाउनु भयो । धेरै पहिलेदेखि सबै कम्युनिष्ट विचारधाराका शक्तिहरु मिलेर एउटै कम्युनिष्ट केन्द्र बनाउने प्रयत्न गर्नु भएकै थियो । यसपटक अभ्यासै गर्नु भो । उहाँहरुले चुनावी तालमेल गर्नु या पार्टी एकीकरण गर्नु हामी बाधक बन्ने सक्ने थिएनौँ । र, जबरजस्ती एकता गर्न नदिनु त सम्भव थिएन । हामीले पनि अन्य राजनीतिक दलहरुलाई मिलाएर लोकतान्त्रिक शक्ति बनाएर अघि बढ्ने प्रयत्न गरेकै हो । १२ वटा निर्वाचन क्षेत्रमा हामीले विभिन्न पार्टीका शीर्ष नेताहरुलाई आफु उम्मेदवारी नदिएर सहयोग र समर्थन गरेकै हो ।

तर, उहाँहरु जस्तो सोझै सिट बाँडेर हामीहरुले एकता गर्न सक्ने अवस्था थिएन । किन भने हाम्रो मोर्चामा धेरै वटा पार्टीहरु आवद्ध हुनुहुन्थ्यो । उहाँहरुले दुईटा पार्टीलाई मात्रै बाँडफाँट गर्नु भयो । सफलता प्राप्त गर्नु भो । र, नेपाली काँग्रेसले आफ्नो प्रचार शैलीलाई, चुनावी परिचालनलाई र नेताहरुकोबीचमा एकताको सन्देश दिनलाई पार्टीसभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला सहभागि संयुक्त आमसभा पनि विभिन्न महत्वपूर्ण सहरमा गरेका थियौँ । हाम्रो पकड भएका ठाउँ मोरङ लगायतका जिल्लाहरुमा हामीले सफलता प्राप्त गर्न सकेनौँ र २ नम्बर प्रदेशमा त हामीले सोचेको जस्तो चुनावी परिणाम आउन सकेन ।

यो मत परिणामले नेपाली काँग्रेसको पुनःसंरचना गर्न औँल्याएको हो ?
–होइन । बामपन्थी पार्टीहरु संसारमा जति पनि छन् । ती कार्यकर्तामा आधारित छन् । नेपालमा पनि छन् । एमाले र माओवादी कार्यकर्तामा आधारितै पार्टी हुन् । नेपाली काँग्रेस लिबरल डेमोक्रेटिक पार्टी अर्थात् मासवेस पार्टी जनतामा आधारित पार्टी हो । त्यसले गर्दा हाम्रो पार्टीको जुन आधारशिला छ, कम्युनिष्ट पार्टीहरुको आधारशिला स्वरुपमै विविधता छ । त्यसकारण हामीले पनि हाम्रा विभिन्न भ्रातृ संस्थाहरुलाई कार्यकर्तामा आधारित बनाउन खोजेको हो । केही समय हामीले नेपाल तरुण दललाई पनि कार्यकर्ता आधारित बनाउन परिचालन गरेका थियौँ, विकसित गरेका थियौँ । नेपाली काँग्रेस आफैपनि मासवेस आधारमै उभिएको छ । त्यसले गर्दा पार्टीको स्वरुपलाई केही बदल्ने हो की ? नेपाली काँग्रेस वीपीकालीन समयदेखि गिरिजाकालीन समयसम्म अध्यक्षात्मक स्वरुपमै चल्यो । तर हामीले पछिल्लो पटक त्यो स्वरुपमा परिवर्तन गरेर पदाधिकारीको चयन गर्ने, अधिकांश केन्द्रीय सदस्यहरु ठूलो हिस्सालाई निर्वाचनमार्फत चयन गर्ने विधि अपनाएका छौँ ।

त्यसले गर्दा पार्टी नेतृत्वको पार्टीभित्र जुन कमाण्ड कन्ट्रोल हो, त्यसमा केही अवरोधहरु आएका छन् । व्यवस्थापकीय क्षमतामा हामीलाई गाह्रो भएकै छ । त्यसलाई हामीले सहज पार्नै पर्दछ । नेपाली काँग्रेसलाई फेरि अध्यक्षात्मक प्रणालीमा लिएर जाने हो की ? नेपाली काँग्रेसका भ्रातृ संस्थाहरुलाई कार्यकर्तामुखि बनाएर लाने हो की ? तिनलाई कसरी क्रियाशील गराउने ? क्रियाशील सदस्यहरुलाई साँच्चै क्रियाशील बनाउने ? केन्द्र, जिल्ला, निर्वाचन क्षेत्र, नगर–गाउँ तहलाई कसरी हामीले क्रियाशील गराउने ? यो हाम्रालागि वास्तवमै निकै महत्वपूर्ण चुनौती छ । यसलाई सामना गरेरै नेपाली काँग्रेसलाई हामीले रिफर्म गर्नै पर्दछ ।

नेपाली काँग्रेसको नेतृत्व तहले जनतासामु आत्मालोचना गर्न जरुरी छ कि छैन ?
–नेपाली काँग्रेस नेतृत्व तहले एक त निर्वाचनको माध्यमबाट जनताले चुनेका जनप्रतिनिधिहरुमार्फतको जुन घोषित उद्देश्य थियो । त्यसलाई हामीले लामो समयपछि पूरा गरेकै हो । त्यसकै आधारमा नेपाली जनताले २०७० को संविधान सभा चुनावमा नेपाली काँग्रेसलाई सबै भन्दा ठूलो पार्टी बनाईदिए । बहुमत नहुँदा नहुँदै पनि संविधान निर्माण गर्ने क्रममा हाम्रो नेतृत्वदायी भूमिका रहयो ।

तर, हामीले संविधान जारी गरिसकेपछि संविधान कार्यान्वय गर्ने क्रममा सबै दललाई मिलाएर लिएर जाँदा, समन्वयकारी भूमिका निर्वाह गर्दा स्थानीय निर्वाचनलाई पूर्णता दियौँ । र, प्रदेश र केन्द्रको चुनाव सम्पन्न गर्दा  जुन खालको व्यापक समर्थन प्राप्त गर्नु पर्ने हो, त्यसमा कमि रहयो नै । नेतृत्वले कतिपय महत्वपूर्ण ऐतिहासिक कार्यसम्पादन गर्दा गर्दै पनि विभिन्न खालका आरोप प्रत्यारोपहरुको हामीले सामना गर्नु परेको थियो । यो निर्वाचनमा हामी पराजित हुन पुगेका छौँ । त्यसैले यसलाई नेतृत्वले महसुस गर्ने र आफुलाई परिस्कृत गरेर लिएर जाने, पार्टीको कार्यशैली, नेतृत्वको कार्यशैलीमा सुधार गरेर पार्टीलाई बलियो पार्नु पर्ने दायित्व छ । पार्टी नेताहरुले र पार्टी सभापतिले त्यसलाई महसुस गर्नु हुन्छ ।

नेतृत्व तहले नेपाली काँग्रेसलाई नेतृत्व गर्न पूर्णरुपमा विफल भयो, त्यसैले यस्तो परिणाम आयो भनेर भन्न मिल्यो कि मिलेन ?
–२०४६ सालको आन्दोलनको कमाण्ड गणेशमान जीले गर्नु भएको थियो । किसुनजी प्रधानमन्त्री हुनु भएको थियो र किसुनजीले छोटो समयमा देशमा संविधान निर्माण गर्नु भो । एक वर्षभित्रै आम चुनाव गर्नु भो । लोकप्रियताको सिजनमा हुँदा हुँदै पनि नेपाली काँग्रेसले बहुमत ल्यायो तर, किसुनजीले विजय प्राप्त गर्न सक्नु भएन । गणेशमान जी हाम्रो पार्टीको सर्वोच्च नेता हुनुहुन्थ्यो । उहाँहरुकै परिवारका दुई जना वरिष्ठ नेताहरुले राजधानीमा चुना हार्नु परेको थियो । निर्वाचन हार्दा अवश्य पनि नेताहरुले जवाफदेहीता र जिम्मेवारी लिनै पर्दछ । निर्वाचन हारेका कारणले पूरै असफल भयो भन्ने कुरा पार्टीले स्वीकार्न सक्दैन । हाम्राे शैली बदल्ने हो । नेतृत्वको मात्रै दोष होइन । केन्द्रीय समितिदेखि लिएर गाउँतहमा बस्ने हामी सबै कार्यकर्ताको सामूहिक जवाफदेहिताको जिम्मेवारी हो । पार्टीले अब भए गरेका कमि कमजोरीहरुलाई सुधारेर, रिफर्म गरेर पार्टी नेतृत्व अगाडि बढ्छ ।

नेपाली काँग्रेसमा पुनःसंरचनै आवश्यक छ भन्न मिल्यो ?
–पार्टीमा छलफल हुन्छ । पार्टी नेतृत्व तुरुन्तै बदलिने परिस्थिति पार्टीभित्र छैन । त्यो लाइनमा हामी छँदा पनि छैनौँ । पार्टीका कुनै सदस्यहरुले त्यो कुरा भन्नु भएको छ भने उहाँहरुको नितान्त निजी कुरा हो । जसले भन्नु भएको छ, उहाँहरुको पनि जवाफदेहीता र जिम्मेवारी हो । पार्टीभित्र यो अभिमत बलियो रुपमा आएको छैन । एउटा स्टन्डको रुपमा मात्रै आएको छ । त्यसकारण अहिले पार्टी सभापतिले निर्वाह गर्नु भएको भूमिका, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाह गर्नु भएको भूमिका, पार्टीका महामन्त्रीले निर्वाह गर्नु भएको भूमिकाका बारेमा कतिपय सकारात्मक राम्रा भूमिकाहरु छन् । स्थानीय चुनाव सम्पन्न भयो, प्रदेश र केन्द्रको चुनाव सम्पन्न भयो । शान्ति प्रक्रियाले अघि बढ्ने मौका पायो ।

कतिपय ऐतिहासिक कामहरु, राष्ट्रका लागि, नेपालमा जारी संविधान कार्यान्वयनका लागि र मूलुकको शान्तिका लागि महत्वपूर्ण काम भएका छन् । त्यसैले उहाँहरुको भूमिकाको कदर गर्नु पर्छ । र, निर्वाचन नै विजयी गर्ने क्रममा २०६४ सालको संविधान सभा निर्वाचन गरेका थियौँ । २४० सिटमा जम्मा ३७ सिट लिएर हामी बस्नु परेको थियो । अहिले पनि हामीले त्यस्तै अवस्थाको सामना गरिरहनु परेको छ । चार वर्षपछि ०७० मा भएको चुनावमा नेपाली काँग्रेसले आफ्नो प्रस्तुती राम्रो गरेको थियो । अब हुने चुनावमा हामी अवश्य राम्रो गर्न सक्छौँ । जनताको बीचमा हामी जान्छौँ, जनताको मन हामीले फर्काउँछौँ ।

नेपाली काँग्रेसले तराईमा बलेको आगो निभायो होला, स्थानीय तहको निर्वाचन पनि गरायो होला, गर्दा गर्दै पनि जनताले पत्याएनन् भन्ने ठाउँ रहयो, हो ?
–मैले अघि नै भने त । ३२.८ प्रतिशत हामीले स्थानीय तहको निर्वाचनमा भोट पाएको हो । अहिले त्यो बढेको छ । हाम्रो मतदाताको संख्या बढेको पनि हो । प्रतिशतमा बढेको पनि छ । तर, २ वटा पार्टी मिलेका कारणले र चुनावी समीकरणका कारणले चुनावको परिणामलाई प्रभाव पारेको छ ।

केही राष्ट्रिय मुद्दामा नेपाली काँग्रेसले लिन नसकेको अडान पनि दोषी छ ?
–होला । हामीले गरेका राम्रा कामहरु पनि नेपाली जनतामाफ पुर्‍याउन सकेनौँ होला । कतिपय सकारात्मक कुराहरु गरेका छौँ । तर, त्यसलाई हामीले प्रचार गर्न सकेनौँ होला ।       

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ