arrow

बधार्इको हकदार छ निर्वाचन आयोग

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न निर्वाचनको मतगणना कार्य सम्पन्न भइसकेको छ । यससँगै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ र प्रदेशसभा सदस्यतर्फ ३३० प्रतिनिधि निर्वाचित भइसकेका छन्। 

दुर्इ चरणमा पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० का लागि निर्वाचन भएको थियो। योसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमालेका ८०, नेकपा माओवादी केन्द्रका ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनता पार्टी नेपालका ११ र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन्।

यसैगरी, नयाँ शक्ति पार्टी नेपालका एक, नेपाल मजदुर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन्। यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार साँझ ७ बजेसम्म एमालेले २३ लाख २० हजार २७७ मत, काँग्रेसले २२ लाख ३२ हजार ५११, माओवादी केन्द्रले ९ लाख १४ हजार ७२३, संघीय समाजवादी फोरम नेपालले तीन लाख ५ हजार ४५५ र राजपाले २ लाख ४८ हजार ७२२ मत प्राप्त गरेको छ। 

सूचनाप्रणालीमा निर्वाचन आयोगको कमाल 
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणनाको ताजा विवरण पाउनु त्यति सहज थिएन। विभिन्न सञ्चारमाध्यमहरुमा आफू अनुकूलका मतपरिणामहरु सार्वजनिक हुन्थे। आधिकारिकताको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्यति सहज रुपमा सूचना दिने परिपाटी थिएन। 

यस अघिका चुनावहरुको बारेमा जानकारी लिनको लागि पनि त्यति सहज थिएन। तर, यस पटक निर्वाचन आयोगले सूचना प्रणालीमा गरेको सुधार साँच्चिकै प्रशंसनीय बन्न पुग्यो। स्थानीय तहको निर्वाचनदेखि नै निर्वाचन आयोगले निर्वाचनको सम्बन्धमा सबै जानकारी दिनको लागि निर्वाचन एप्लिकेसनको सुरुवात गर्यो। जसले गर्दा देशका हरेक ठाउँका उम्मेदवारहरुको नामावली सहित जानकारी लिन सकिने व्यवस्था भयो। आयोगले यस्तो व्यवस्था बनाएको थियो कि जहाँ मतदान अधिकृतहरुले स्वीकृत गरिसकेपछि कम्युटर अधिकृतले त्यहिँबाट कम्युटरमा अपडेट गरेपछि आयोगको एप्लिकेसनमा देखिने व्यवस्था गरेको थियो। 

यसले गर्दा केही ढिला भएपनि आधिकारिक रुपमा सबै उम्मेदवारहरुको मत सहित उनीहरुको नामावली जान्न सकिने व्यवस्था भयो। यसले स्थानीय तहको निर्वाचनमा पनि निर्वाचन आयोगको निकै प्रशंसा गरिएको थियो। 

प्रतिनिधि सभा निर्वाचनसम्म आईपुग्दा निर्वाचन आयोगले आफ्नो सूचना प्रणालीमा अझ ब्यापक सुधार गर्यो। उसले प्रतिनिधि सभाको निर्वाचन नतिजा तत्कालै सबैकहाँ पुग्नेगरी कसले कहाँ कति मतले अग्रता हासिल गरेको छ भन्न सक्ने खालको एउटा छुट्टै सुविधा दियो। यसमा स्थानीय तहका सबै नतिजाहरु सहित अहिलेको पनि सबै क्षेत्रका प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको उम्मेदवार र उनीहरुले पाएको मतको एकमुष्ठ विवरण पनि पाउने व्यवस्था भयो। अहिले समानुपातिक निर्वाचन प्रणालीको मतपरिणाम आउने क्रम जारी रहँदासम्म त आयोगको त्यही पोर्टलमा नै सबै आश्रित हुने अवस्था सम्म पुग्यो। 

अन्यौलकाबीच निर्वाचन 
झण्डै एक महिना अगाडिसम्म पनि तोकिएको समयमा निर्वाचन हुनेमा शंका थियो। एउटै मतपत्र कि फरक फरक मतपत्र भन्ने विषयमा निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो। यसले अझ निर्वाचन हुने नहुनेमा शंका थपिएको थियो। त्यहीबीचमा निर्वाचन आयोगले तयारी गरेको भन्दा फरक हुनेगरी फरक फरक मतपत्र बनाउनको लागि सर्वोच्चले आदेश जारी गर्यो। त्यसपछि झनै निर्वाचन हुनेमा शंका उत्पन्न भयो। 

त्यो बेलासम्ममा निर्वाचन आयोगमा नै निर्वाचन तोकिएको समयमा गर्न सक्ने वा नसक्ने भन्ने निर्भर थियो। तर, निर्वाचन आयोगले त्यो कठिन परिस्थितीमा पनि चुनौती मोलेर तोकिएको मितिमै निर्वाचन सकेर मुलुकलाई संक्रमणको विन्दूबाट टाढा पुर्याईदियो। 

निर्वाचन तोकिएको मितिमा गर्नको लागि विभिन्न चुनौतीहरु निर्वाचन आयोग समक्ष थिए। देशका विभिन्न ठाउँहरुमा निर्वाचन विरोधी गतिविधिहरु भएका थिए। विभिन्न ठाउँमा बम पड्किएका थिए। एक जनाको त बममा परि ज्यानै गयो। यस्तो अवस्थामा सरकारलाई शान्ति सुरक्षाको लागि निर्देशन दिनु र मतदाताहरुलाई शान्ति सुरक्षाको लागि विश्वस्त तुल्याउने काम निर्वाचन आयोगको काँधमा आएको थियो। यसमा पनि निर्वाचन आयोगले सरकारलाई समयसमयमा झक्झकाएर निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा बनाएको थियो।

मतदाता शिक्षाको लागि पनि समय ढिला भईसकेको थियो। मतपत्र छाप्न सुरु भएपछि मात्रै मतदाता शिक्षा सम्बन्धी कामहरु गर्नुपर्ने भएकोले निर्वाचन आयोग हतारोमा थियो। तर पनि पार लगाएरै छाड्यो आयोगले। यस अर्थमा धन्यवादको पत्र बनेको छ आयोग। निर्वाचन आयोगले निर्वाचनको समयमा गरेका कामहरुले निर्वाचन आयोग पनि धेरैको प्रशंशाको पात्र बनेको छ। संविधान कार्यान्वयनको महत्वपूर्ण चरणको रूपमा रहेको चुनाव सहज ढंगले गराएर आयोगले आफ्नो जिम्मेवारी पुरा मात्र गरेन देशलाई अग्रगामी बाटोतर्फ डोहोऱ्याउने काम पनि गरेको छ। धन्यवाद निर्वाचन आयोग।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ