नेपाली र बेलायती संसद्मा के छ भिन्नता ? बेलायती सांसदका उम्मेदवारसँग भलाकुसारी 

प्रकाशित मिति : २०७४ मङ्सिर २९ शुक्रबार , ३,८८५ पटक हेरिएको

काठमाडौं । बेलायतको संसदीय निर्वाचनमा लेबर पार्टीबाट सांसदको उम्मेदवार बनेका बच्चुकैलाश कैनी यतिबेला नेपालमा छन् । उनी नेपाली मूलका बेलायती नागरिक हुन् । उनको बेलायत प्रवेश, बेलायतको संसदीय राजनीतिबाट नेपालले के सिक्न सक्छ, बेलायतमा आप्रवासीको अवस्था तथा नेपालको राजनीतिबारे सञ्जीव अधिकारीले डा. कैनीसँग गरेको कुराकानी– 

० बेलायत जाने सोच कसरी आयो ?
शहिद राष्ट्रिय गंगालाल हृदयरोग केन्द्रमा प्रशासन प्रमुखको रुपमा काम गर्थे । पेशाले म अस्पताल व्यवस्थापक हुँ र एसोसियटका रुपमा पार्टटाइम हेल्थ केयर व्यवस्थापन विषय पढाउँथे । त्यही सन्दर्भमा पिएचडी गर्न विदेश जाने सुरमा थिएँ । त्यही बेला बेलायतमा हाइली स्किलको भिषा खुलेको रहेछ । मैले पनि साथीकै लहडमा बेलायत जान आवेदन दिएँ । मेरो भिषा अप्रुभ भयो, म बेलायत गएँ । वास्तवमा मे बेलायत पिएचडी गर्ने सुरुमा गएको थिएँ, बेलायतमा वर्क प्रमिटमा जानेले अन्तर्राष्ट्रिय स्टुडेन्ट सरहको शुल्क तिरेर पिएचडी गर्नुपर्ने रहेछ । त्यसकारण मैले केही वर्ष पर्खनुपर्ने अवस्था आयो । जुन बेला म त्यहाँको अस्थायी बसोबासको अनुमति प्राप्त गर्ने अवस्थामा थिएँ, त्यसबेला घरेलु विद्यार्थी सरह विद्यावारिधि गर्ने सुविधा थियो । त्यसपछि मैले विस्तारै आफ्नो पढाइ र जागीर क्रम सुरु गरें ।

० त्यसपछि नेपाल फर्कन पाउनुभएन ?
फर्किन, किनभने सुरुमा म पिएचडी गर्न गएँ, पाँच वर्ष त्यहाँको स्थायी बसोबास अनुमति पत्र (आईएलआर) लिनै लाग्यो । त्यसपछि मैले पिएचडी सुरु गरेँ । त्यसपछि अर्को ४ वर्ष बित्यो । यसबीचमा मेरा छोराछोरीहरु नेपालबाट जाँदा ७ र १० वर्षका थिए, बेलायतमा बयस्क हुन थाले । स्कुल पढाइ अन्त्यसँग युनिभरसिटी जाने उमेरका हुन लागेका थिए । अर्थात् अर्को जिम्मेवारी थपियो । आफ्नो पढाइ पूरा गरिसकेपछि पनि सन्तानको पढाइका लागि मैले थप समय बेलायत बस्नुपर्ने भयो ।

० कहिले जानुभएको हो ?
सन् २००५ मा ।

० यति छोटो समयमा राजनीतिक छलाङ मार्न सहज भयो ?
मेरा लागि सहज भइदियो । यदि निरन्तररुपमा आफू लाग्ने हो भने, आफ्नो इच्छाशक्ति छ भने र आफूले मेहनत गर्ने हो भने आफूले चाहेको कुरा पूरा गर्न सकिन्छजस्तो लाग्छ । म नेपालमै हुँदा ३० वर्षकै उमेरमा सरकारी संस्थाको १० औं तहको जागीर खाइसकेको थिएँ । त्यतिमात्र होइन, अरु संस्थामा परामर्शदाता तथा शिक्षण पेशामा संलग्न थिएँ । नेपालमा जति म सक्रिय थिएँ, बेलायतमा पनि मैले तुरुन्तै अस्पताल व्यवस्थापनको जागीर पाएँ । पढाइ सुरु गर्न केही वर्ष पर्खनुप-यो । मैले सन् २०१३ मा लेबर पार्टीको आधिकारिक सदस्यता लिएँ ।

० तपाईंलाई लेबर पार्टीले किन पत्यायो ?
सन् २०१३ मा लेबर पार्टीमा ज्वाइन गरें । मेरो डिस्ट्रिक ट्रेड युनियन लियोजिन अफिसर (टुलो) को जिम्मेवारी लिएँ । सन् २०१४ मा लेबर पार्टीको म्यानचेस्टरमा भएको महाधिवेशनमा मेरो डिस्ट्रिकबाट एक्लो प्रतिनिधिका रुपमा भाग लिएँ । त्यत्ति मात्र होइन, मैले सक्रियता बढाएँ, मैले पार्टीका लागि धेरै काम गरें, फलस्वरुप मैले २०१५ को स्थानीय निकायको चुनावमा लेबर पार्टीको तर्फबाट मेरो जिल्लाबाट काउन्सिलरको टिकट पाएँ । मैले निर्वाचन जिते । निर्वाचन जितिसकेपछि म जनप्रतिनिधि पनि भएँ । पार्टीमा आफ्नो हैसियत विस्तारै बढाएँ, त्यसैको फलस्वरुप सन् २०१७ जुन ८ मा भएको निर्वाचनमा लेबर पार्टीको तर्फबाट चुनाव लड्ने अवसर पाएँ । समग्रमा भन्दा मेरो लगनशीलता, मेहनत, पार्टीप्रति मैले निरन्तर गरेको कामले गर्दा नै म संसदको उम्मेदवार हुनसक्ने हैसियत बनाएँ ।

नेपालमा पनि मेरो बुवाले प्रजातन्त्र प्राप्तिका लागि धेरै वर्ष जेल बस्नुभयो, धेरै संघर्ष गर्नुभयो । मेरा काका पनि त्यही संघर्षमा होमिनुभयो । अर्थात् लोकतन्त्र र समाजवादका लागि लड्ने मेरो राजनीति पृष्ठभूमि हो । र, बेलायतमा म जुन पार्टीमा काम गर्छु, लोकतान्त्रिक समाजवादमा विश्वास राख्छ । नेपालमा मेरो जुन पृष्ठभूमि छ, त्यसले बेलायतमा काम गर्न मलाई सहयोग मिल्यो ।

० नेपालको राजनीतिक सिस्टम बेलायतकै जस्तो हो ?
दुवै देशमा संसदीय प्रणाली हो, जनताबाट चुनिएको व्यक्ति देशको कार्यकारी प्रमुख हुन्छ । तर पार्टी संगठन गर्ने तरिका, दल व्यवस्थापनको आदिइत्यादि धेरै कुराले मेल खाँदैन । संसदभित्रको प्रणाली एउटै भएर मात्र पुग्दैन, त्यसमा धेरै कुरा हुन्छन् । जस्तो राजनीति संस्कार, पार्टीभित्रको आदर्श र सिद्धान्तलाई कसरी संसदभित्र छिराएर नीति नियम बनाउने ? त्यत्ति मात्र होइन, हरेक सांसदको भूमिका फरक फरक हुन्छ । अर्थात् प्रणाली एउटै भएता पनि बेलायतमा जुन राजनीतिक संस्कार छ, त्यस्तो संस्कार नेपालमा बस्न सकेको छैन ।

० पार्टी संगठन गर्ने तरिका फरक हो ?
पार्टी सञ्चालनमा मान्छे चुनिने प्रकृया एउटै हो, तर कुनै पनि दललाई सञ्चालन गर्ने र दलबाट सरकारमा गएर देश सञ्चालन गर्ने मान्छेहरु अलग हुन्छ । जस्तो कुनै दलको एक व्यक्ति सभापति वा अध्यक्ष हुन्छ, उसले सभापति वा अध्यक्षको भूमिका मात्र निर्वाह गर्छ । उसले पार्टी संगठन विस्तार र पार्टीको नीति नियम बनाउनका लागि अथवा सरकारमा बसेर के काम गर्नुपर्छ भन्ने पूर्वाधार पार्टीले तयार पार्छ । जस्तो लबेर पार्टीका जेरिमी कोरमिन नेता हुन्छ, उहाँ भनेको भोलि सरकार चलाउने नेता हो । उसले पार्टी चलाउँदैन । पार्टी चलाउने छुटै अंग छ ।

० कुनै हस्तक्षेप हुँदैन ?
हस्तक्षेप हुँदैन, पार्टीको निर्देशनअनुसार सरकार चल्छ, सरकार चलाउने जुन व्यक्ति हुन्छ, त्यो फरक हुन्छ । जस्तो बेलायतमा भर्खरै संसदीय निर्वाचन सम्पन्न भयो, संसदीय चुनावमा जानुअघि नै लेवर वा अरु कुनै पार्टी हुन् उनीहरुको नेता को हो भन्ने कुरा जनतालाई थाहा थियो । चुनाव जित्नुअघि नै देशको प्रधानमन्त्री को हुन्छ भन्ने जनतालाई थाहा हुन्छ । जस्तो टेरेजा मे कन्र्जभेटिभ पार्टीको नेता हो, कन्र्जभेटिभले चुनाव जित्यो भने टेरेजा प्रधानमन्त्री हुन्छिन भन्ने कुरा जनतालाई थाहा थियो । सदस्य र एसोसिएटले भोट हालेर नेता चुन्ने प्रकृया हुन्छ ।

० अहिले तपाईं डार्टफोर्डको काउन्सिलर हुनुहुन्छ । तपाईं उम्मेदवार हो भन्ने ग्यारेन्टी कसरी गरिन्छ ?
चुनाव हुनुभन्दा डेढ वर्ष अघि नै उम्मेदवार छनोट प्रकृया सुरु हुन्छ । फलानो उम्मेदवार भनेर डेढ वर्षअघि नै थाहा हुन्छ । जस्तो यदि मध्यावधि निर्वाचन भएन भने सन् २०२२ मा बेलायतमा अर्को चुनाव हुन्छ । यदि मध्यावधि चुनाव भयो भने अहिलेका उम्मेदवार जो छन्, उनीहरुलाई नै निरन्तरता दिने चलन हुन्छ, यदि उम्मेदवारले चाहेन भने उम्मेदवार छनोट कमिटीले निर्धारण गर्छ । नियमित रुपमा सन् २०२२ मा चुनाव हुने हो भने सन् २०२० को अन्त्यतिर हामीले आफ्ना उम्मेदवार छानिसक्छौं ।

० नेपालमा जस्तो उम्मेदवार मनोनयको अघिल्लो रात बसेर छलफल गरिराख्नु पर्दैन ?
पर्दैन । सांसदका लागि जुन उम्मेदवार छनोट गरिन्छ, त्यो विधि चाहिँ लोकतान्त्रिक हुन्छ । छनोट समितिले सर्ट लिस्ट बनाउँछ, त्यसमध्ये सबैतिर प्रचारप्रसार गरिन्छ । सर्ट लिस्टमा परेका ५ जना उम्मेदवारले मन्तव्य राख्छन् । ती उम्मेदवारले उपस्थिति सदस्यसँग प्रश्न उत्तर गर्छन् । अन्त्यमा मतदान हुन्छ, जसले बढी मत प्राप्त गर्छ, उ संसदको उम्मेदवार हुन्छ । जस्तो मेरो निर्वाचन क्षेत्रमा साढे ६ सय लेबर पार्टीका सदस्य छन्, पार्टीले ५ जनाको नाम सर्टलिस्ट गरेको हुन्छ ।

० सर्ट लिस्टमा पर्नका लागि सर्तहरु हुन्छन् ?
हुन्छ, जस्तो पार्टीको ६ महिना अघि नै सदस्य भएको हुनुपर्नेलगायतका सर्त हुन्छन् । त्यसपछि पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट त्यो क्षेत्रको पार्टीका सदस्यहरुले जसलाई भोट दिन्छन् उनीहरु सांसदको उम्मेदवार हुन्छन् ।

० पार्टी अध्यक्षले आफूले इच्छयाएको व्यक्तिलाई उम्मेदवार बनाउन सक्दैन ?
सक्दैन, उसलाई त्यो अधिकार हुँदैन । कुनै फौजदारी अभियोग लागेको छ भने त्यो बेग्लै कुरो हो । सबै किसिमले योग्य भएको व्यक्तिलाई पार्टीले सिफारिस गरिसकेको छ भने पार्टी अध्यक्ष मात्र होइन, कुनै पनि समितिले हस्तक्षेप गरेको मैले देखेको छैन ।

० नेपालमा उम्मेदवार छनोटको विधि थाहा छ ?
थाहा छ, प्रत्येक बिहान म पहिला नेपालकै समाचार हेर्छु । नेपालमा पार्टीले टिकट बाँड्दा नेतृत्वबाट हस्तक्षेप हुन्छ । आफ्ना र आफ्नो गुटलाई टिकट बाँड्ने चलन छ । बेलायतमा एजेन्डामा राजनीति हुन्छ । कुन पार्टीले के मुद्दा उठाएको छ, र त्यो मुद्दा घोषणापत्र कसरी प्रतिविम्बित हुन्छ र जनता माँझ लगिन्छ भन्ने कुरा महत्वपूर्ण हो । बेलायतका राजनीतिक दलको हरेक वर्ष वार्षिक सम्मेलन हुन्छ । उक्त सम्मेलनमा नीति तथा कार्यक्रमबारे विज्ञलाई बोलाएर छलफल गराउँछन र नीति नियम तय गर्छन् । म घरदैलोमा जाँदा यो मुद्दा ल ठीक छ, यसको श्रोत के हो, कति पैसा लाग्छ, त्यो पैसा कहाँबाट आउँछ, कति समय लाग्छ, त्यो काम सम्पन्न गर्न पार्टीसँग पैसा छ कि छैन भनेर जनताले सोध्छन् ।

० बेलायतको राजनीति नैतिकमा आधारित छ ?
पक्कै पनि । पार्टीको नीतिविरुद्ध बोल्न, लेख्न र आफूलाई प्रस्तुत गर्न पाइँदैन ।

० जनप्रतिनिधिले तलब पाउँछन् ?
जनप्रतिनिधिलाई तलब दिइन्छ, जस्तो म डिस्ट्रिकको काउन्सिलर हुँ, साथसाथै एउटा अस्पतालमा पूर्णकालीन काम पनि गर्छु । सरकारी जागिरे भएकाले तलब पाउँछु, काउन्सिलर भएवापत वार्षिक ५ हजार पाउन्ड भत्ता आउँछ । कति दिने भन्ने विषयमा निर्णय गर्न काउन्सिल स्वयत्त हुन्छ । केन्द्रीय नेताहरुका लागि वार्षिक ३०–३५ हजार पाउन्ड तलब हुन्छ ।

० आर्थिक हिसाबले राजनीति गर्न कठिन हुने रहेछ ?
राजनीति गर्ने मान्छेको अरु नै पेशा हुन्छ, राजनीति पेशा हुनसक्दैन, समाजसेवा हो राजनीति । जनताका लागि म समय दिन्छ, आफू समर्पित हुन्छु भन्नका लागि राजनीतिमा लाग्ने हो ।

० घुस भन्ने शब्द हुँदैन ?
घुस शब्द हुन्छ जस्तो लाग्दैन, म जनप्रतिनिधि हुँ, जनताका सरोकार राख्ने कुरामा घुस लिने दिने हुँदैन । घुस नियन्त्रण गर्ने कार्यक्रमसमेत मैले देखेको छैन ।

० आप्रवासीलाई हेर्ने दृष्टिकोण के छ ?
बेलायतीहरुले आप्रवासीलाई स्वागत नै गरेको देखिन्छ । सकेसम्म आप्रवासीको संख्या घटाउनुपर्छ भन्ने छ । म स्वास्थ्य क्षेत्रमा काम गर्छु, यो क्षेत्रमा काम गर्ने झन्डै ३० प्रतिशत बाहिर पढेर गएका छन् । स्वास्थ्य क्षेत्रमा १३ लाख कर्मचारी छन् । यसमध्ये ३० प्रतिशत विदेशी कर्मचारी हुन् । केही वर्षयता पूर्वी यूरोपका मुलुक युरोपियन मुलुकमा संलग्न भए, ती मुलुकका नागरिक बेलायत आएर सुविधा उपभोग गर्न थाले, जसले गर्दा बेलायतको अर्थतन्त्र प्रभावित भयो । त्यसपछि आप्रवासीलाई हेर्ने दृष्टिकोणमा केही फरक आयो । यसैको फलस्वरुप यूरोपियन युनियनबाट बेलायत अलग हुने निर्णयमा पुग्यो ।

सम्बन्धित समाचार

नयाँ