arrow

रुपन्देहीमा खुल्यो ५ तारे होटल

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष १२ बुधबार
five-star-resort-tiger.jpg

बुटवल। काठमाडौं बाहिर पहिलो पटक रुपन्देहीमा पाँचतारे होटल सञ्चालनमा आएको छ। रुपन्देहीको कोटीहवामा पाँचतारे स्तरको टाईगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको हो। ५ अर्ब २० करोड लागतमा रिसोर्ट सञ्चालनमा आएको हो। 

हङकङको सिल्भर हेरिटेज ग्रुप अन्तर्गत रिसोर्ट सञ्चालनमा आएपनि रिसोर्टको पूर्ण रुपमा काम शुरु हुन अझै केही समय लाग्ने बताईएको छ। तिलोत्तमा नगरपालिका कोटिहवामा १५ विगाहा क्षेत्रफलमा बनेको छ। यस रिसोर्टमा करिब दुई महिना अघिदेखि २४ घण्टे रेष्टुरेन्ट सञ्चालनमा आएको लगानीकर्ता मध्येका एक नवराज बजगाईले बताए। उनका अनुसार हाल एक सय ५० कोठा सञ्चालनमा रहेका छन् । यस रिसोर्टमा ४ सय कोठाहरु हुनेछन्।

सो रिसोर्टमा टाइगर प्यालेस क्यासिनो समेत सञ्चालन हुने बजगाईले बताए। यो क्यासीनो प्रविधि र क्षमताका हिसाबले दक्षिण एसियाकै ठूलो क्यासिनो रहेको लगानीकर्ताको दावी छ। क्यासिनो निर्माणमा मात्रै दुई अर्ब लगानी गरिएको छ। भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनी क्षेत्र आसपासमा स्वदेशी तथा विदेशी लगानीकर्ताले अर्बौ लगानीमा होटल निर्माण गरिरहेका छन्। संरचनाको दृष्टिकोणले टाइगर रिर्सार्ट निकै फरक र आकर्षक रहेको छ।

क्यासिनो सञ्चालनका लागि स्वीकृति लिने प्रक्रिया सुरु भइसकेको छ भने पाँचतारे होटलको स्वीकृति पाइसकेको रिसोर्ट व्यवस्थापनले जनाएको छ। भारतबाट ८ किलोमिटर मात्रै टाढा रहेको यो रिसोर्टमा दैनिक पाँच सय भारतीय पर्यटक भित्र्याउने अपेक्षा रहेको छ। 

लुम्बिनीमा घुम्न आउने पर्यटकलाई पैंसा खर्च गर्ने माध्यम टाइगर रिसोर्ट हुने विश्वास लिइएको छ। यस क्षेत्रमा २४ घण्टा चल्ने होटलहरु छैनन्। जसको परिपूर्ति टाइगर प्यालेसले गर्ने विश्वास वजगाईले व्यक्त गरे। रिसोर्टमा निर्मित ६ वटा रुमबाट सिधैं स्विमिङ पुलमा पौडी खेल्न सकिनेछ। जिम क्लब, क्यासिनो, डान्स, चिल्ड्रेन पार्कलगायतका संरचना निर्माण भइसकेका छन्।

पन्ध्र सय जना अट्ने ठूलो हलको व्यवस्थासहित मिनी हलहरु समेत बनाइएका छन्। या रिसोर्टले करिब ३ बिगाहा जमिन ओगटेको छ। सिल्भर ग्रुपले मंगोलियन मूलका पर्यटकलाई लुम्बिनी निम्त्याउँदै सेवा प्रवाह गर्ने योजना बनाएको छ। यहि ग्रुपले काठमाडौंमा मिलिनियर क्लवबसहित भियतनाम, लाओस, कम्बोडिया, फिलिपिन्समा करिब दुई दर्जन होटल तथा रिसोर्टहरु सञ्चालनमा ल्याएको छ। यो रिसोर्ट पनि सोही चेनमा आवद्ध रहेको छ।

टाइगर रिसोर्टले २२ सय जनालाई रोजगारी दिएको छ। स्थानीय बासिन्दालाई पहिलो प्राथमिकतामा राखेर रोजगारी उपलब्ध गराइएको बजगाईले बताए। रिसोर्टले रोजगारी सिर्जना गरेपछि स्थानीयहरु उत्साहित बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ