arrow

बजार अभावका कारण १७ टन माछा मरे, पीडितलाई उचित क्षतिपूर्ति दिने मन्त्री यादवको प्रतिबद्धता

पीडित पाण्डे भन्छन्ः एक हप्ताभित्र बजार व्यवस्था नगरे थप ३५ टन माछा मर्छन, त्यसपछि म पनि मर्नुको

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
ram-krishna-yadav.jpg

काठमाडौं। कृषिमन्त्री रामकृष्ण यादवले बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका १७ टन भन्दा बढी माछा मरेकोप्रति दुःख व्यक्त गर्दै उचित क्षतिपूर्तिको लागि आफूले गम्भिर पहल गर्ने गर्ने वचन दिएका छन्। बिहीबार आयोजना गरेको विशेष साक्षात्कारमा उक्त फर्मका सञ्चालक युवराज पाण्डेको दुःख सुनेलगत्तै मन्त्री यादवले यस्तो प्रतिबद्धता जनाएका हुन्। बजार अभावका कारण माछा मरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका छन्।

आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले माछाको उचित बजार व्यवस्थाको लागि आफूले पहल लिने र माछा मरेर भएको क्षतिको लागि पीडित पाण्डेलाई निवेदन दिनको लागि आग्रह समेत गरे। उनले भने,‘मेरो उहाँलाई अनुरोध छ, तपाईले सबै कुरा उल्लेख गरेर निवेदन दिनुहोला, म मन्त्रालयबाट स्थलगत् निरिक्षणको लागि प्रतिनिधि पठाउँछु, अनि के कति सहयोग गर्न सकिन्छ म त्यसबारेमा छिटो सोच्छु।’

मन्त्री यादवले सरकारको सम्पूर्ण ध्यान भनेको सक्षम किसान र समृद्ध समाज भएकोले यही अनुसार कार्यक्रमहरु सञ्चालनमा ल्याईएको सुनाए। उनले भने,‘कृषि व्यवसायलाई आत्मनिर्भर र गुणात्मक वृद्धि गर्नको लागि हामी लागिपरेका छौं।’आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको धेरै नभएको उल्लेख गर्दै यो छोटो अवधिमा आफ्नो विवेकले भ्याएसम्म किसानको हकहितमा काम गरेको उनको दाबी थियो। 

त्यस्तै उनले उत्पादन भएका वस्तुहरुलाई बजार दिलाउनकोलागि सरकार गम्भिर रहेको उल्लेख गर्दै नेपालमै उत्पादन भएका माछाले बजार नपाउँदा आफूलाई दुःख लागेको समेत बताए। ‘उत्पादन भएका वस्तुहरुमा विमा गर्नुपर्छ, हामीले त काम गर्न पाएनौं’–उनले भने। त्यस्तै उनले ट्रयाक्टरको भ्याट अब नबढ्ने पनि विश्वास दिलाए । उनले भने,‘मुल्य वृद्धि भएको छ, तर अब मुल्य बढ्न दिँदैनौं।’

फर्मका संचालक युबराज पाण्डेले अहिलेसम्म आफ्नो १७ टन माछा मरिसकेकोले आफू मर्नु न बाँच्नुको पीडामा रहेको भन्दै मन्त्री यादवलाई उचित क्षतिपूर्ति दिलाउको लागि आग्रह गरे। उनका अनुसार १७ टन माछा मर्दा झण्डै ५१ लाख रुपैयाँको नोक्सानी भएको छ।

८० वर्षे बाबा ७६ वर्षीया आमालाई बन्दकी राखेर माछा पालन गरेको बताउँदै तत्काल सरकारले पोखरीको माछालाई उपयूक्त बजार दिन नसके आफूसँग मर्नु बाहेक अर्को विकल्प नभएको गुनासो पोखे। उनले भने,‘मेरो तीन पुस्ता ऋणको एउटै चिहानमा पिसिनुपर्ने बाध्यता आएको छ, अहिले मेरो पोखरीमा ३५ टन जिउँदा माछाहरु छन, १७ टनभन्दा बढि माछा मरिसकेका छन, यस्तो स्थिति आईलाग्दा मैले आत्महत्या गर्नुको विकल्प छैन।’ 

उनले एक हप्ताभित्र अब जिउँदो रहेका ३० देखि ३५ टन माछाको उचित बजार व्यवस्था नगरे आफू पूर्ण रुपमा डुब्ने अवस्थामा रहेको दुखेसो सुनाए। उनले भने,‘अहिलेसम्म जति माछा मर्यो, त्यसको उचित क्षतिपूर्तिको लागि मेरो अनुरोध छ, अब बाँकी रहेका ३५ टन माछाको लागि सरकारको ध्यान जाओस्।’

विषादीयुक्त माछामा झिंगा नभन्किने र विषादीरहित माछामा झिंगा भन्किने भन्दै ग्राहकलाई विषादीरहित माछा सेवन गर्न उनले अनुरोध गरे। पाण्डेले माछा मरेको विषयमा जिल्ला कृषि कार्यलय नुवाकोटमा यही पुष ३ गते निवेदन दिएको भएपनि यसबारेमा उपर्युक्त कदम नचालेकोमा दुःख व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ