arrow

सशस्त्र द्वन्द्वको समयमा विस्थापित कर्मचारी फर्किएनन् सीमा प्रशासन कार्यालय

भारतसँग जोडिएको पाँचथरको सीमा प्रशासन कार्यालय सहयोगीको भरमा सञ्चालन

logo
प्रकाशित २०७४ पुष १५ शनिबार
panchthar-district.png

पाँचथर । भारतको सिक्किम र दार्जिलिङसँग सीमा जोडिएको पाँचथरको याङवरक गाउँपालिका च्याङथापुमा रहेको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

विस २०३२ देखि सीमा प्रशासन कार्यालय सञ्चालनमा आए पनि २०५८ सालदेखि दश वर्षे सशस्त्र द्वन्द्वको समयमा विस्थापित बनेका कर्मचारी अझै फर्केर आएका छैनन् ।

एकजना शाखा अधिकृतसहित सातजनाको दरबन्दी रहेको सीमा प्रशासन कार्यालयमा अहिले एकजना कार्यालय सहयोगी मात्र छन् । च्याङथापु बजारमा रहेको कार्यालय परिसरमा कार्यालय सहयोगीले बिहान, बेलुका राष्ट्रिय झण्डा फहराउन झिक्ने, कार्यालय खोल्ने र बन्द गर्ने काम गर्दै आएका छन् ।

स्थानीय मचिन्द्र बेघाले भने, “घर आँगनमा प्रशासन कार्यालय छ तर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पाँचथर फिदिम पुग्नुपर्ने बाध्यता छ जसले गर्दा हामी अत्यन्तै मर्कामा परेका छौँ ।”

आफ्नै आँगनमा भएको सरकारी कार्यालयबाट सेवा सुविधा पाउन नसक्दा च्याङथापु, फलैँचा र फालोटवासी दुःखी छन् । सेवा शुरु गर्न स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजले पटकपटक पहल गर्दासमेत कार्यालयबाट सेवाप्रवाह हुन सकेको छैन ।

२०५८ सालदेखि कर्मचारीविहीन बनेको सीमा प्रशासन कार्यालयबाट शान्ति प्रक्रियापछि केही महिना नागरिकता वितरणसमेत गरिएको थियो । ती कर्मचारीको अन्यत्र सरुवा भएपछि सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो । च्याङथापुको सीमा प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र वितरण, निकासी पैठारी हुने सामग्रीको चेकजाँच र राजस्व अशुली कार्य हुने गरेको थियो ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ