arrow

‘आँखा दान महादान’ सामुहिक श्रद्धाञ्जली–सभा

logo
प्रकाशित २०७४ पुष १६ आइतबार

काठमाडौं । ‘आँखा दान महादान’ भन्ने उक्तिसँगै दृष्टिविहिनहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गत नेपाल आँखा बैंकले हरेक वर्ष मरणोपरान्त आँखाको नानी दान गरी अमरत्व प्राप्त गर्ने दाताहरुको सम्झना र सम्मानमा नेपाल आँखा बैंक तीलगंगा आँखा प्रतिष्ठानले विशेष कार्यक्रम गरेको छ । प्रतिष्ठानले हरेक बर्ष यो कार्यक्रम गर्दै आएको छ । 

यही परम्परालाई निरन्तरता दिंदै यस वर्ष पनि पुस १५ गते अर्थात् डिसेम्बर ३० तारिख शनिवारका दिन विशेष कार्यक्रम गरिएको हो । श्रद्धाञ्जली सभामा वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहभागी भए । त्यसैगरी थुप्रै दाताका परिवारले ऐक्यवद्धता जनाएका छन् । 

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान संचालक समितिका सदस्य शम्भु तामाङ्गको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यले  भने - 'मेरो पत्नि स्व.मिरा आचार्यको मृत्यु परान्त दान गरेको आँखाले कोही दुई जनाबाट हेरिरहेकाले हालसम्म पनि मेरी श्रीमती जिवितै छिन् र म लगायत हामी सबैलाई हेरेर हासिँरहेकी  जस्तो लाग्छ।' उनले अन्धविश्वासमा नरही मृत्युपश्चात हाम्रो शरिरबाट काम लाग्ने आँखाको नानी लगायत अन्य अगंहरु पनि दान गर्ने संस्कृतिको विकासको थालनी गर्न आग्रह गरे ।

कार्यक्रममा विराटनगर आँखा अस्पतालका निर्देशक डा. संजय सिंहले एकजनाबाट आँखाको नानी प्राप्त गर्यौ भने चार जना दृष्टिविहिनलाई दृष्टि प्रदान गर्न सक्ने प्रविधि को विकास भएको र यसको लागि नेपाल आँखा बैंकले गरि आएको आँखाको नानी संकलन सराहनिय रहेको बताए ।

 
वि.पि नेत्र अध्ययन प्रतिष्ठान शिक्षण अस्पताल महाराजगंजका कर्निया विभाग प्रमुख डा.मिनु चौधरीले आँखा दान गर्नु गराउनुको साथै आँखाको नानी प्रत्यारोपण विशेषज्ञको सेवा सुविधालाई अझ नेपालको सबै क्षेत्रमा उपलब्ध गर्न आँखाको नानी रोग विशेषज्ञको जनशक्ति बढाउनुपर्ने र आँखा नानी प्रत्यारोपण शल्यक्रियाको लागि श्रोत, साधन र उपकरणको पनि आवश्यक मात्रामा उपलब्ध गर्न सरकारले ध्यान दिनुपर्ने बताइन् ।

नेपाल आँखा बैंकको लागि साइट लाइफ अमेरिकाकी प्रोगाम म्यानेजर तथा प्रतिनिधि राखी नाथवटले आँखा दानसम्बन्धी भएको बृहत कार्यक्रम विश्वमै विरलै हुने भएकोले यो अभियानलाई आदर्शको रुपमा लिनुपर्ने बताए । उनले नेपाल आँखा बैंकले अन्तराष्ट्रिय गुणस्तरको मापदण्ड पुरा गरी आँखाको नानी संचय र वितरण प्रणाली अवलम्बन गर्दै नेपालको सबै क्षेत्रमा आँखाको नानी उपलब्ध गरी आँखा प्रत्यारोपण सेवामा सहयोग गर्दै आएको तथा एशियामै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र नेपाल आँखा बैंकलाई अन्तराष्ट्रिय स्तरको बैंक सम्बन्धि तालिम केन्द्रको रुपमा विकास गर्न पहल गर्ने वचन दिए ।

के भन्छ नेपाल आँखा बैंक ?  
जन्मजात फुलो परेर वा आँखामा चोट लागेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । नेपालमा दृष्टिविहिन हुनुको दोश्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो । 

जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपणबाट पुनः दृष्टि दिलाउनु नै हो । नेपालमा आँखाको नानीका कारण दृष्टिविहिन भएका थुप्रै व्यक्तिहरु छन् जो फेरि यो संसार नियाल्ने पर्खाइमा छन् । 

त्यस्ता व्यक्तिका लागि तपार्इँ हामीले मृत्यु पश्चात आँखा दान गरिदिने हो भने दुई भन्दा बढी दृष्टिविहिनले यो संसार देख्न पाउँछन् । त्यस्ता व्यक्तिहरुका लागि नेपाल आँखा बैंकले सुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ । 

बैंकमा अहिले ७० हजार भन्दा बढी दाताले मृत्यु परयन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने  झण्डै १२ हजार ५ सय जनाले आँखाको नानी दान प्राप्त गरि पूनः दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ । 

विभिन्न कारणवश आँखाको नानी विग्रिएर दृष्टिविहिन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको हो । 

आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र संचय लगायत आवश्यक परेकालाई नानी  उपलब्ध गराउने गदर्छ । सुरुवातको अवस्थामा पशुपतिको आर्यघाट लगायत विभिन्न ठाँउमा गएर आँखा दान सम्बन्धि मानिसहरुमा जनचेतना जगाई यस सम्बन्धी बुझाइन्थ्या भने अहिले यी सँगै आर्यघाट विद्युतीय शवदाह गृह लगायत काठमाडौंमा रहेका ३ वटा ठूला अस्पताल वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा बैकंबाट खटाइएका परामर्शदाताहरुले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ । 

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्ग भन्छिन्, ‘धेरैभन्दा धेरै मानिसहरुलाइ मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई धन्यवाद दिन, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको मुख्य उद्देश्य हो ।  अहिले धेरै मानिसहरुको आँखा दान प्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पूनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हँुदैछ । नेपाल भरि आँखा बैंकको सेवा दिने लक्ष्य राखेका छाँै ।’

नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायना भन्छन्, ‘मानिसको मृत्युपश्चात जसरी धार्मिक रितीरिवाज अनुसार संस्कार गरिन्छ त्यसरी नै आँखादान लाई पनि संस्कारको रुपमा स्थापित गर्न सके दृष्टिविहिनलाई पुनः दृष्टि प्रदान गर्न अझ प्रभावकारी सावित हुनसक्छ । नेपालमा आँखादान गर्न र गराउनको लागि जनमानसलाई सु–सूचित गर्ने उद्देश्यले यही वर्ष हामी माझ नेपाल आँखा समाजको औपचारिक रुपमा स्थापना भएको छ । यसले नेपालभरि सबै क्षेत्रमा शाखा÷प्रशाखा मार्फत आँखादान सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरि आँखाको नानीको कारणले दृष्टिविहिन भएकालाई देख्न देखाउन कार्यक्रमहरुको तर्जुमा गरेको छ । यसमा कोही शुभचिन्तक आफ्नो स्थानीयस्तरमा समाहित भएर लाग्न सक्नुहुनेछ ।’

यस आँखा बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देश भित्रबाटै संकलन गरि स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपल्ब्ध गराएको छ । 

मृत्युपछि अगोमा जलेर वा जमिनमा पुरिएर खेर जाने आँखाको नानी, कसैका लागि प्रयोगमा आउनु, सत्कर्म हो । सबैलाई दृष्टि दिने हाम्रो यस अभियानमा शुरुवातदेखि लायन्स क्लव अफ पशुपतिनाथ, नेपाल आँखा दान समाज र अन्य सम्बन्धित सम्पूर्ण क्षेत्र लगायत संचारमाध्यमले एिको साथ र गर्नुभएको सहयोगको लागि यस प्रतिष्ठान धन्यवाद व्यक्त गर्दछ, । आँखा दान जस्तो मानविय कार्यका लागि सबैलाई उत्प्रेरणा जगाई आत्मा शान्तिको कामना गरौं । !!!


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ