arrow

प्रविधि सिकेर केही गर्छु भन्नेलाई अवसरै अवसर

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष १६ आइतबार
nishana-buda.jpg

बुटवल।  बजारमा पाइने दैनिक उपभोग्य बस्तु कसरी उत्पादन गरिन्छ भन्ने धेरै उपभोक्तालाई थाहा हुँदैन ।  के कस्तो प्रविधिबाट उत्पादन गरिन्छ भन्ने पनि सबैलाई चाल नहुँन सक्छ । त्यसैले अहिलेको बुटवल मेलामा उपभोक्ताले प्रत्यक्ष देख्नेगरी उपभोग्यबस्तुको उत्पादन समेत गर्ने व्यवस्था मिलाईएको छ ।

रूपन्देही उद्योग संघले यही पुस ६ गतेदेखि बुटवल मण्डपमा आयोजना गरेको चौधौं राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७४ ले उपभोक्तालाई यो अवसर जुराईदिएको हो । कृषि, आई.टी., घरेलु तथा अन्य विविध सामग्री उपभोक्ताले आफ्नै आँखा अगाडि उत्पादन भएको हेर्न पाएका छन् ।

कपिलबस्तुबाट महोत्सव हेर्न आएकी ३२ वर्षीया महिला बसन्ती थापाले भनिन्, ‘सधै घरमा ल्याएर खाने चाउमिन आज मेशिनले उत्पादन गरेको देखेर रमाईलो लाग्यो ।’ गहुँको मैदाबाट चाउमिन बन्छ भन्ने समेत आफूलाई चाल नभएको बताउने थापाले चाउमिन बनाउने मेशिन घरमै राखेर पनि उत्पादन गर्न सकिने प्रकारको रेहेका बताइन् ।  

महोत्सवमा रुपानी इन्जिनीयरिङले दर्शकको अगाडि नै मेशिनबाट चाउमिन बनाएर देखाउन गरेको छ । रुपानीका प्रोप्राइटर विनोदराज न्यौपानेले भने, ‘यो मेशिनलाई डेढ लाख मै खरिद गर्न सकिन्छ, आफ्नै घरमा पनि चाउमिन उत्पादन गर्न सकिन्छ ।’ सानो लगानीमा पनि यो उद्योग गर्न सकिने भएकाले महोत्सवमा आउने धेरैले चासो ब्यक्त गर्ने गरेको न्यौपानेले बताए ।

छुट्टै प्याभिलियन बनाएर प्रदर्शन गरिएका यी स्टलमा उनीका धागो तथा अल्लोको धागोबाट कपडा समेत तयार गरेर देखाउने गरिएको छ भने प्रविधि तर्फ लघु हाइड्रो पावरद्धारा विद्युत उत्पादन गरेर देखाइएको छ ।
डायमण्ड हेण्डीक्र्याफ्ट इण्डष्ट्रिज काठमाडौंले कागजबाट सिसाकलम (पेन्सील) बनाएर देखाउने गरेको छ ।
यस इण्डष्ट्रिजका सञ्चालक दिपक बुढाका अनुसार अब नेपालमै यो मेशिनद्धारा पेन्सील उत्पादन थालिएको छ । हाल ८० प्रतिशत पेन्सीलको नेपाली बजार भारतीय कम्पनीले लिएका छन् ।

यो मेशिन चलाउने कामदारलाई तालिम समेत दिने गरी करिव ६ लाखमा यो मेशिनको बिक्री गरिने बुढाले जानकारी दिए । यो उद्योग स्थापना गर्न चाहने मानिसले ६ लाखमै पनि उद्योग स्थापना गर्नसक्ने उनले उल्लेख गरे ।
चिनारी महिला अल्लो कपडा उद्योग दाङको स्टलमा पनि अल्लोको धागोबाट कपडा उत्पादन गरिएको प्रत्यक्ष देख्न सकिन्छ । स्टलका निशाना बुढा मगरले अल्लोका कपडा उत्पादन गरेको देखेर धेरै दर्शकले सीप सिक्ने चाहना व्यक्त गरेको बताए ।

विगतका वर्षमा भन्दा बुटवलको मेलामा यसले फरकपन दिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक दिनेशराज रेग्मीले प्रत्यक्ष उत्पादन हुने सामग्रीका स्टलमा दर्शकले निकै चासोका साथ अवलोकन गरेको बताए । उनले भने, ‘स्वदेशी उत्पादनलाई प्राथमिकता दिन हामीले यस्ता स्टलहरु समावेश गरेका हौं ।’ यस्ता उत्पादनमुखी स्टलले उपभोक्ता र उद्योगीसंगको सोझो सम्पर्क पनि गराउने भएकाले स्देशमै केही गरौं भन्नेलाई सिक्ने अवसर पनि दिने विश्वास रेग्मीले ब्यक्त गरे । महोत्सव पुस १८ गतेसम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ