arrow

फेरि तीन राप्रपा एक हुने बहस, नयाँ पुस्तालाई नेतृत्व दिनेदेखि चौथो राप्रपा बनाउनेसम्म    

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
raprapa-news-FNL.jpeg

काठमाडौं । एकीकृत भएको पार्टी तीन टुक्रा भएपछि राष्ट्रिय दलको अस्तित्व बाहिर रहेका तीन राप्रपा एक हुने बहस फेरि सुरु भएको छ । 

त्यतिमात्रै होइन, नेतृत्व नयाँ पुस्तालाई दिनु पर्ने देखि लिएर तीनै पार्टीभित्रका इमान्दारहरु मिलेर चौथो राप्रपा बनाउनेसम्मको छलफल सुरु भएका छन् । राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजाराम श्रेष्ठले भनेका छन्, ‘फुटेपछि एकीकृत हुने र एकिकृत भएपछि फेरि फुट्ने कुरा स्वभाविकै भयो । तर, अहिलेको छलफलहरु भिन्न कोणबाट भएका छन् । विभाजनले राष्ट्रिय दलको हैसियत गुमेको कुरा मात्रै होइन । प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिन नसकेका कारण पनि हार व्यहोरिएको प्रष्ट छ । त्यसैले अब एकीकृत भए भने नफुट्ने गरी एकिकृत हुने र त्यो एकिकृत पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पर्छ भन्ने एक खाले धारणा छ । अर्को यि पार्टीबाट पार लाग्दैन । यी तीन पार्टी भित्रका इमान्दारहरु मिलेर चौथो राप्रपा बनाऔँ र प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई सम्बोधन गरौँ भन्ने अर्को खाले धारणा छ ।’ विभिन्न धारणाहरु आएका छन् । छलफल सुरु भएको छ । 

पुस्तान्त्रण गर्न पर्छ भन्ने आवाज उठेको छ, उनले भने, ‘फेरि एक भएपछि फुटको अवस्था नआओस् भन्ने हो । नेतृत्व नयाँ पुस्तामा जानु पर्‍यो भन्ने आवाज बलियो रुपमा उठेको छ । राप्रपा महामन्त्री एवं सांसद राजेन्द्र लिङदेनले भने, ‘कार्यकर्ताको अपेक्षा हुनु स्वभाविक हो । तर, एक हुने विषयमा कुरा भएको छैन । अब साथी–साथीबीचमा नेताहरुको कुरा भएको हुनसक्छ । बैठक नै बसेर छलफल भएको मेरो जानकारीमा छैन ।’ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि दोस्रो तहका नेताले नेतृत्व र नीतिको विकल्प खोजिरहेका बताइँदै छ ।  

कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा (राष्ट्रवादी) तीन दलमा विभाजित भएका कारण निर्वाचनमा हार व्यहोर्नुपरेको भन्दै समीक्षा गरिरहेका छन् । 

पार्टीका नेताले विचार र अलग पहिचान भएको राष्ट्रवादी प्रजातान्त्रिक दल निर्माणका लागि विभिन्न विकल्पमा छलफल शुरु गरेको राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारीले जानकारी दिए । उनले भने,  ‘तीन वटा राप्रपा तथा अन्य राष्ट्रवादी दललाई एकताबद्ध गरेर जानुको विकल्प छैन ।’ पार्टीको वुधबारदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकले संगठनको सुदृढीकरणका साथै विभिन्न विषयमा छलफल गर्दै एकताका लागि आह्वान गर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ