arrow

हलेसी आगलागीमा सात घर जलेर नस्ट

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
fire.jpeg

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । 

मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

साँझ साढे ७ बजेदेखि शुरु भएको आगोले प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राईलगायतको घरमा आंशिक क्षति पुगेको नगर प्रमुख इवन राईले बताए । 

केही घरलाई भत्काएर आगो राति करिब ११ बजे नियन्त्रणमा लिइए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ । 

अचानक लागेको आगो मगमको घरबाट शुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । 

आगो इलाका प्रहरी कार्यालय, हलेसीका प्रहरी र स्थानीयवासीले करिब साढे तीन घण्टापछि नियन्त्रणमा लिएका हलेसीबाट पत्रकार टिवन राईले जानकारी दिए । 

आगो नियन्त्रणका लागि सदरमुकाम दिक्तेलबाट पठाइएको दमकल र सुरक्षाकर्मी नपुग्दै आगो नियन्त्रणमा आएको नगर प्रमुख राईले बताए । 

नगरपालिकामा दमकल नहुनु र पानी अभावका कारण आगलागी नियन्त्रणमा लिन ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए । 

आगलागीमा ठूलो मात्रामा धनमाल नष्ट भएपनि मानवीय क्षति नभएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ