arrow

यस्तो छ नेपालदेखि अमेरिकासम्म मानव तस्करको जालो

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
human-trafficking1.jpeg

काठमाडौं । नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ । उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन् । लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती विभिन्न मुलुकमा अलपत्र परेर नेपाल फर्किएपछि यो तथ्य बाहिर आएको हो ।

ताप्लेजुङ लेलेप–९ की हिमा शेर्पा, दाङका चन्द्र शाही ठकुरी र दोलखा सुस्पा क्षमावती–१ की छिरिङ डोमा शेर्पा तस्करहरुबाट ठगिएर हालै स्वदेश फर्किएका छन् । 

उनीहरू दुई वर्षअघि मलेसियाबाट सिंगापुर हुँदै अमेरिका गएका थिए । उनीहरूसँगै अमेरिका हिँडेका ताप्लेजुङ पापुङ–२ का चुङ्दाक शेर्पा भने फ्रान्समा अलपत्र छन् ।

ताप्लेजुङकी शेर्पाका अनुसार बाग्लुङ रिधा–८ का सागर श्रीष मगरले आकर्षक रोजगार लगाइदिने प्रलोभन दिएपछि उनीहरू अमेरिका हिँडेका थिए । यसका लागि हिमाले सागरलाई २० लाख दिइसकेकी छिन् । 

त्यस्तै, अन्य पीडित चन्द्र शाही ठकुरी र चुङ्दाक शेर्पाले पाँच–पाँच लाख र छिरिङ डोमा शेर्पाले १५ लाख बुझाइसकेका छन् ।

मलेसिया हुँदै यसरी पुर्‍याइयो मेक्सिको
हिमाका अनुसार पहिलो चरणमा सागरले उनीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मलेसिया लगेका थिए । केही दिनको मलेसिया बसाइपछि सिंगापुरमा १७ दिन राखियो र बैंकक लगियो ।

बैंककमा उनीहरूलाई दुई महिना राखियो । उनीहरूमध्ये चुङ्दाकलाई भने नाइजेरिया हुँदै मेक्सिको लगियो । हिमा, चन्द्र र छिरिङलाई भने भारतको नयाँदिल्ली ल्याइयो । 

दिल्लीमा करिब नौ महिना बसेपछि उनीहरू अहिले नेपाल फर्किएका छन् । उनीहरूसँगै गएका चुङ्दाकलाई भने मेक्सिको अध्यागमनले फ्रान्स आउने जहाजमा फिर्ता पठाएको छ ।

अमेरिका प्रवेशपछि ३२ लाख लिने योजना
अमेरिका प्रवेश गराएपछि प्रत्येकसँग ३२ लाख रुपैयाँ असुल्ने सागरको योजना रहेको हिमा शेर्पाले बताइन् । सोही कारण उनले सुरुमै प्रत्येकसँग पाँचदेखि २० लाखसम्म रकम लिएका थिए । साथै, उनले पासपोर्ट र नागरिकता पनि लिए । तर, अमेरिका नपुर्‍याई सबैलाई बीचबाटोमै अलपत्र छाडेर सागर बेपत्ता भएका छन् ।

 ‘हामीलाई ३२ लाखमा अमेरिका लैजान्छु भनेर विभिन्न प्रलोभन देखायो । हामी बहकियौँ र उसैको पछि लाग्यौँ । उसले मलेसिया, बैंकक, सिंगापुर, नाइजेरिया, मेक्सिको हुँदै अमेरिका प्रवेश गराउँछु भनेका थियो,’ हिमाले भनिन्, ‘हामीलाई सिंगापुरसम्म त लग्यो, त्यसपछि दुई वर्षसम्म विभिन्न मुलुकमा अलपत्र बनाएर राख्यो । उसलाई भेट्न धेरै कोसिस ग¥यौँ, तर ऊ सम्पर्कमा आएको छैन ।’

हिमा शेर्पाको बयान 
मेरो घर ताप्लेजुङ लेलेप–९ हो । मैले १० कक्षासम्म पढेकी छु । गाउँमा रोजगार छैन । विदेश जाने मनस्थिति बन्यो । यही क्रममा बाग्लुङ रिधा–८ का सागर श्रीष मागरसँग भेट भयो । उसले ३२ लाख रुपैयाँमा अमेरिका लगिदिन्छु भन्यो । विभिन्न प्रलोभन दियो । म प्रभावित भएँ । अन्ततः अमेरिका जाने मनस्थितिमा पुगेँ ।

त्यसवेला उसले मलेसियाबाट सिंगापुर हुँदै अमेरिका जाने भनेको थियो । पैसा जम्मा गरेर काठमाडौं आएँ । मसँगै लैजान उसले अरू तीनजनालाई पनि तयार गरेको रहेछ । करिब दुई वर्षअघि हामी मलेसिया उड्यौँ । केही दिन हामी त्यहीँ बस्यौँ । त्यसपछि हामी सिंगापुर जानुपर्ने भयो । त्यहाँ हामीलाई १७ दिन राख्यो । त्यसपछि बैंकक जानुपर्छ भन्यो । हामीले त्यसै गर्‍यौँ । बैंककमा हामीलाई दुई महिना राख्यो । त्यसवेलासम्म मैले पटक–पटक गरी १८ लाख दिइसकेकी थिएँ । पासपोर्ट पनि उसैसँग थियो । मसँगैका साथीहरूले पनि रकम बुझाइसकेका थिए ।

चारमध्ये म र दोलखाकी छिरिङ डोमालाई अब भारतको दिल्ली जानुपर्छ भन्यो । हामीले त्यहीवेला नै नेपाल पर्कन चाहेका थियौँ । तर, रकम र पासपोर्ट उसले लिइसकेको थियो । उसले भनेअनुसार मान्नुको हामीसँग विकल्प थिएन । हामी दिल्ली आयौँ । दिल्लीमा नौ महिनाभन्दा धेरै दिन बितायौँ । होटेलमा आफ्नै खर्चले खायौँ । खर्च सकिएपछि हामी नेपाल फर्कियौँ । अहिले उसलाई सम्पर्क गर्न खोजिरहेका छौँ, तर ऊ सम्पर्कविहीन छ ।

२५ भन्दा धेरै युवा नाइजेरियामा अलपत्र
सागरले २५ भन्दा धेरै युवायुवतीलाई नाइजेरिया लगेर अलपत्र छाडेको हिमाले बताइन् । उनले केही युवा मेक्सिको लगेर छाडेको हिमाको भनाइ छ । ‘सागरले नाइजेरियामा २५ भन्दा धेरै युवायुवतीलाई अलपत्र बनाएको छ । नाइजेरियामा जेसन श्रीष मगर भन्ने यसको आफ्नै दाइ छ । पीडितहरू सबैको पासपोर्ट उसैसँग छ । पासपोर्ट नभएर धेरैजना नेपाल फर्किन सकेका छैनन् । उसको विरुद्ध कसैले बोले बोको हराममार्फत ठीक पारिदिने धम्की दिने गरेको छ,’ उनले भनिन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ