काठमाडौँ। हनुमानढोका दरवार क्षेत्रमा रहेका तलेजु भवानीको मन्दिर भोलि बिहीबार एकदिन मात्र सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन खुल्ला हुने मन्दिर यसवर्ष नवमी र दशमी दुबै एकै दिन परेकाले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला गरिनेछ ।
अघिल्ला वर्षमा साँझ ९ बजेसम्म खुल्ला रहने मन्दिर यसवर्ष भूकम्पका कारण जोखिम बढेपछि साँझ चाँडै बन्द गर्न लागिएको हनुमानढोका दरबार हेरचाह अड्डाका निर्देशक सरस्वती सिंहले जानकारी दिनुभयो ।
मन्दिर तथा त्यस आसपास क्षेत्रमा भएका जोखिम क्षेत्रमा भक्तजनलाई पूर्णरुपमा प्रतिबन्ध गरिएको छ । मन्दिरको मुख्य प्रवेशद्वारबाट भक्तजनलाई प्रवेश गराई दर्शनको व्यवस्था प्रवन्ध गरिएको छ ।
त्यसैगरी, भक्तजनले दर्शन गरेपछिको मार्गलाई यसवर्ष परिवर्तन गरी बसन्तपुरबाट बाहिर निकालिने छ । यसअघि उनीहरुलाई नासल चोक हुँदै हनुमान ढोकाको स्वर्णद्वारबाट बाहिर निकालिन्थ्यो । अहिले त्यस क्षेत्रमा जोखिम बढेकाले मार्ग परिवर्तन गरिएको हो ।
प्यागोडा शैलीको सो मन्दिर प्राचीन मानिन्छ । वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्दछन । मन्दिरमा लिपपोत तथा सरसफाइ सम्पन्न भएको छ भने सुरक्षाको व्यवस्था कडा बनाइएको निर्देशक सिंहले जानकारी दिनुभयो । रासस