arrow

एयर एसियाले तिर्‍यो दुई करोड, बाँकी कहिले ? अरु कसले के गरे ? 

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
air-asia-x.jpg

काठमाडौं । मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौतामध्ये दुई करोड रुपैयाँ आइतबार तिरेको छ। 

बाँकी रकम प्रत्येक महिना तीन करोडका दरले तिर्दै जाने लिखित प्रतिबद्धतासमेत उसले गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका निमित्त कार्यालय प्रमुख सुधीर चौधरीले एयर एसियाले आइतबार दुई करोड तिरेको र सोमबार १० करोड रुपैयाँ तिर्ने मौखित सहमति गरेको जानकारी दिए।

केही वायु सेवा कम्पनीले विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क लामो समयदेखि तिरेका छैनन्। सबैभन्दा बढी बक्यौता रहेको एयर एसियाको २३ करोड रुपैयाँ बक्यौता छ। मौखिक सहमतिअनुसार सोमबार १० करोड रुपैयाँ दाखिला नगरे मासिक तीन करोड रुपैयाँ तिर्ने प्रतिबद्धता मान्य नहुने चौधरी बताउँछन्।

‘एयर एसियाले सोमबार १० करोड बुझाएको अवस्थाका मात्रै अन्य रकम मासिक रूपमा लिने हो’, उनले भने, ‘मौखिक प्रतिबद्धताअनुसार रकम नतिरे सोमबार काठमाडौंका जहाज ल्यान्ड भएपछि उड्न पाउने छैनन्।’

एयर एसियाले आइतबार र सोमबार गरी १२ करोड रुपैयाँ दाखिल गरेपछि बाँकी ११ करोड रुपैयाँको हकमा मात्रै मासिक तीन करोडको प्रतिबद्धता लागू हुने उनको भनाइ छ।

विमानस्थल कार्यालयले गत मंसिर मसान्तसम्म बक्यौता तिर्न पहिलोपटक सूचना प्रकाशन गरेको थियो। पहिलो सूचना प्रकाशन भएको समयमा एयर एसियाले करिब नौ करोड रुपैयाँ दाखिल गरे पनि २३ करोड बाँकी थियो। 

एयर एसियासँगै नेपाल वायु सेवा निगमले पनि १० करोडभन्दा बढी बक्यौता रकम दाखिल गरेको थियो। मंसिर मसान्तसम्ममा स्वदेशी र विदेशी एयरलाइन्स कम्पनीसँग बाँकी रहेको तीन अर्बभन्दा बढी रकममा ६० करोड दाखिला गरेको थिए। फेरि कार्यालयले तीन साताको समय अवधि थप गरेको थियो।

केही वायु सेवा कम्पनीले विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क लामो समयदेखि तिरेका छैनन्।

तीन साताको अवधिमा केही थोरै बक्यौता भएकाले रकम दाखिल गरे पनि सबैभन्दा बढी एयर एसियाले अन्तिम दिन आइतबार मात्रै दुई करोड रुपैयाँ तिरेको चौधरीले बताए। 

कार्यालयले अब दोस्रो चरणमा थोरै रकम तिर्ने बाँकी रहेका कम्पनीलाई पत्रचार गर्ने भएको छ। ‘पहिलो चरणमा ठूलो माछा समात्न लागेका हौं’, चौधरीले भने, ‘यसै आर्थिक वर्ष भित्र सबैको बक्यौता असुल गरेरै छाड्छौं।’

कार्यालयका अनुसार नेपाल वायुसेवा निगम, मलेसियाको निजी वायु सेवा मालिन्दो एयर, यूएईको एयर अरेबिया, दक्षिण कोरियाको सरकारी वायु सेवा कोरियन एयर, भारतको निजी वायु सेवा इन्डिगो एयरलाइन्न्स, थाइल्यान्डको सरकारी कम्पनी थाइ एयरवेज र हङकङको क्याथे ड्रागन एयरले पनि सेवा शुल्क तिर्न बाँकी छ। 

यसैगरी, सिंगापुरको सिल्क एयर, भुटानको निजी वायु सेवा भुटान एयरलाइन्स, भारतको सरकारी वायु सेवा कम्पनी एयर इन्डिया (इन्डियन एयरलाइन्स), कतारको सरकारी वायु सेवा कतार एयरवेज, मलेसियाको सरकारी वायु सेवा मलेसिया एयरलाइन्स, चीनको चाइना इस्टर्न एयरलाइन्स र बंगलादेशको सरकारी वायु सेवा विमान बंगलादेशलगायत अधिकांश विदेशी एयरलाइन्सको पनि लामो समयदेखि केही रकम बक्यौता छ। यी कम्पनीलाई अब क्रमशः पत्रचार हुने उनले बताए।

 
स्वदेशीको पनि प्रतिबद्धता

आन्तरिक उडान गर्दै आएको सौर्य एयरलाइन्सले पनि बक्यौता रकम तिर्ने प्रतिबद्धता गरेको छ। सौर्यले चार किस्तामा गरी बक्यौता चुक्ता गर्ने लिखित प्रतिबद्धता गरेको चौधरीले जानकारी दिए। 

उनका अनुसार सौर्यले माघ ७ गते भित्र एक करोड, माघ १७ गते भित्र दोस्रो किस्तामा ५० लाख, तेस्रो किस्ता माघ २७ गते ५० लाख र अन्तिम किस्ता फागुन ७ गते ४७ लाख सात सय ७० रुपैयाँ गरी सबै बक्यौता दाखिल गर्ने प्रतिबद्धता गरेको छ। 

सौर्यले भनेको समयमा रकम दाखिला गर्न नसके कानुनअनुसार कारबाही भोग्न तयार रहेको प्रतिबद्धता जनाएको छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ